
काठमाडौँ: असोज पहिलो साताबाट काठमाडौँमा साफ यू-१९ च्याम्पियनसिप हुुँदैछ। दक्षिण एसियाली फुटबल महासंघ (साफ)को आयोजनामा असोज ४ देखि १३ गतेसम्म साफ यू-१९ च्याम्पियनसिप हुन लागेको हो।
प्रतियोगिताका लागि मुख्य प्रशिक्षक सुनिलकुमार श्रेष्ठले ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएर अभ्यास सुरु गराइसकेका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)ले होटल, टिकट बिक्री, यातायातलगायत प्रयोजनका लागि बोलपत्र आह्वान गरिसकेको छ।
प्रतियोगितामा नेपाल, भारत, माल्दिभ्स, पाकिस्तान, भुटान र बंगलादेशले प्रतिस्पर्धा गर्नेछन् नेपाल रहेको समूह ‘ए’मा माल्दिभ्स र पाकिस्तान छन्। अर्को समूहमा भारत, बंगलादेश र भुटान छन्।

प्रतियोगिताका लागि २ लाख १३ हजार ३ सय २९ अमेरिकी डलर अर्थात २ करोड ७७ लाख ३२ हजार खर्च हुने एन्फाको अनुमान छ।
बढाइयो बजेट
साउन १९ गते बसेको एन्फाको कार्य समिति बैठकले गरेका १९ निर्णयमध्ये एउटा यो प्रतियोगिता आयोजना गर्ने सम्बन्धी थियो। बैठकले प्रतियोगिता आयोजनाका लागि वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई संयोजकको जिम्मेवारी दिएको थियो।
प्रतियोगिताका लागि १ लाख ९८ हजार २ सय ८६ अमेरिकी डलर बजेट स्वीकृत गरेको थियो। तर कार्यसमितिको निर्णयलाई बाइपास गर्दै एन्फा नेतृत्वले बजेट १५ हजार डलर बढाएर २ लाख १३ हजार पुर्याइएको छ।
एन्फा प्रवक्ता सुरेश शाहले पहिले अनुमान गरिएकोले नपुग्ने देखेर बजेट बढाइएको बताए। ‘कार्यसमितिले एउटा टेन्टेटिभ बजेट पास गरेको हो। तर नपुग्ने देखिएपछि थपिएको छ,’ उनले भने।

यो प्रतियोगिताको सम्पूर्ण लागत साफले बेहोर्ने छ। एन्फाले गर्ने खर्चको हिसाबकिताब साफले हेर्नेछ। यो प्रतियोगिताका लागि सम्पूर्ण बजेट साफले बेहोर्छ,’ एन्फाका निर्देशक सञ्जीव मिश्रले भने, ‘तर साफका प्रतिनिधिले सबै बिलिङ हेर्छन्।’
विश्व फुटबलको सर्वोच्च निकाय फिफा र एसियाली फुटबल महासंघ(एएफसी)ले एन्फाका आर्थिक गतिबिधिबारे पटक पटक उजुरी परेपछि अघिल्लो कार्यकालबाटै ‘कन्ट्रोल फण्डिङ’ सुरु गरेका थिए। यसले गर्दा लिगको पैसा पाउन समेत एन्फालाई कठिन परिरहेको छ।
टिकटबाट न्यूनतम १५ लाख रुपैयाँ उठाउने योजना छ। साधारण प्यारापिटतर्फ १०० र भीआईपीतर्फ ३०० रुपैयाँ शुल्क तोकि यसका लागि टिकट बिक्रीका लागि बोलपत्र आह्वान गरिसकिएको छ।
उमेर समूहको प्रतियोगिता छैन, खुला छनोटबाट खेलाडी
कुनै प्रतियोगिताका लागि खेलाडी छनोट कसरी हुन्छ? मुख्य आधार हो उत्कृष्ट प्रदर्शन। तर घरेलु प्रतियोगिता नभएकाले साफ यू-१९ च्याम्पियनसिपका लागि एन्फाले खेलाडी खुलारुपमा छनोट गरेको छ। जिल्ला, प्रदेश र केन्द्रमा ५४६ जना छनोट गरी तिनीहरुमध्येबाट प्रशिक्षकले ३५ जनालाई बन्द प्रशिक्षणमा बोलाएको मिश्रले बताए।
‘खेलाडी छनोट उमेर समूहका प्रतियोगिताबाट गर्नुपर्ने हो। ललितकृष्ण स्मृति युथ फुटबल आयोजना गर्ने गर्थ्यौँ। तर यसपटक फिफाको कन्ट्रोल फण्डिङ लगायत कुराले प्रतियोगिता गर्न सकेनौँ,’ मिश्रले भने, ‘अहिले चाहिँ हामी खुला छनोट गर्न बाध्य भयौं।’