काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले आन्तरिक उडानमा ९० प्रतिशत दुर्घटना इनरुट वेदर ‘बादलभित्र छिरेका’ कारण भएको दाबी गरेका छन्।
विकट गन्तव्यमा उडान गर्ने अधिकांश वायुसेवा कम्पनीले नियम विपरीत इनरुट वेदरमा जाँदा दुर्घटना बढेको उनको जिकिर छ। बिकट गन्तव्यमा १२ बजेपछि उडान खोल्न दबाब परेपछि प्राधिकरणले पत्रकार सम्मेलन गरेर यो जानकारी दिएको हो। प्राधिकरणको प्रतिबन्धपछि मन्त्रीदेखि ती क्षेत्रका सांसद र प्रमुख जिल्ला अधिकारीले खोल्न दबाब दिएका थिए। यो दबाबपछि प्राधिकरणले पत्रकार सम्मेलन गरेर ‘प्रेसर रिलिज’ गरेको हो।
उनले यसको जोखिम नियन्त्रणका लागि पछिल्लो समय बर्खामा प्राधिकरणले नयाँ मापदण्ड कार्यान्वयनमा ल्याएको बताए। अधिकारीले भने, ‘प्राधिकरणले मौसम अनुकूल उडानमा कुनै रोकटोक गरेको छैन। सन् १९९० अगाडि पनि बिकट गन्तव्य उडान बन्द गरिन्थ्यो। अहिले पनि दिउँसो १२:०० बजेपछि मौसम अनुकूल अनुसार उडान गर्न निर्देशन दिइएको छ।’
उनले मौसम विभागले हालसम्म इनरुट मौसम बारे जानकारी दिन नसकेर समस्या भएको बताए। उनले प्राधिकरण टुक्र्याउने विषयमा समेत असहमति राखे। ‘प्राधिकरण टुक्र्याउँदैमा दुर्घटनामा नियन्त्रणमा आउने होइन,’ अधिकारीले भने। प्राधिकरण टुक्र्याउने विधेयक संसदमा अलपत्र छ। युरोपेली युनियनले सुरुमा प्राधिकरण टुक्र्याउनुपर्ने सर्त राखेको थियो।
तर पछिल्लो समयमा यो मुद्दामा इयु सफ्ट भएको अनुमान छ। इयु सफ्ट भएकै कारण अधिकारीले समेत प्राधिकरण टुक्र्याउने विषयमा आफ्नो धारणा सार्वजनिक गरेका हुन्। उनले मौसम अनुकूल हुँदा खाद्यान्न ढुवानी, बिरामीको रेस्क्यूलगायतमा कुनै प्रतिबन्ध नलगाएको बताए।
‘नियमसंगत तरिकाले उडान हुनुपर्छ। नाफा कमाउने भन्दैमा कसैको जिन्दगीमा खेलबाड गर्न पाइँदैन। उडान रोक्ने हाम्रो उदेश्य होइन,’ सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने।
पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटनापछि हवाई ऐन र नियमावलीको व्यवस्था अनुसार नियममा परिवर्तन गर्दै आएको भुलले बताए। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले लिएको शून्य दुर्घटना नीति २०३० अन्तर्गत उडान सुरक्षामा ध्यान केन्द्रित गरेको उनले बताए।
किन क्यानले कडा नियम लगाउँदैछ ?
पछिल्लो समय प्राधिकरणले हवाई सुरक्षाका लागि भन्दै नयाँ प्रावधान कार्यान्वयनमा ल्याइरहेको छ। सरसर्ती हेर्दा हवाई सेवा कम्पनीलाई कस्न खोजिए पनि यसको उदेश्य इयुको कालोसूचीबाट बाहिर निस्किन चालिएको कदम रहेको स्रोतले बतायो।
स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले इयुको कालोसूचीबाट बाहिर ननिस्किए पर्यटन प्रवर्द्धनमा सघाउ नपुग्ने भन्दै त्यसका लागि कानुनमा रहेर हवाई सुरक्षामा ध्यान दिन निर्देशन दिएका थिए। त्यही निर्देशन अनुसार प्राधिकरणले हवाई उडानमा कडा प्रावधान कार्यान्वयनमा ल्याएको हो।
‘हवाई उडानमा यात्रुको सुरक्षा पहिलो प्राथमिकता हो। विगतको जस्तै चाहिन्छ भनेर हुँदैन,’ प्राधिकरणका एक कर्मचारीले भने, ‘हामीले ९ वर्षदेखि इयुको कालोसूचीमा छौं। यसबाट निस्किन महानिर्देशक दत्तचित्त भएर लाग्नुभएको छ। हामीले यात्रुको जीवन सुरक्षित बनाउन केही नियम परिवर्तन गरेका हौं। यसले अन्तर्राष्ट्रिय जगतमा पनि राम्रो सन्देश जान्छ भन्ने ठम्याई हो।’