मन्दीले नछोएको भृकुटीमण्डप बजार, सस्तो सामानको खोजीमा पुग्छन् ग्राहक

लक्ष्मी बलायर
२०८० साउन २७ गते ०७:१० | Aug 12, 2023
मन्दीले नछोएको भृकुटीमण्डप बजार, सस्तो सामानको खोजीमा पुग्छन् ग्राहक


काठमाडौं। आर्थिक मन्दीले अहिले हरेकजसो क्षेत्र प्रभावित छन्। बजारमा खासै चहलपहल देखिंदैन। ग्राहक नपाएपछि कतिपयले त मुख्य व्यापारिक स्थानकै सटर बन्द गरी व्यापार नै छोडे। मल्टिप्लेक्स सपिङ सेन्टर पनि खासै चलेका देखिंदैनन्।

Tata
GBIME

तर काठमाडौंको भृकुटीमण्डपस्थित बजार भने यो मामिलामा फरक देखिएको छ। धेरैतिर सुनसान देखिंदा भृकुटीमण्डपमा भने भिडभाड देखिन्छ। मन्दीले क्रय शक्तिमा ह्रास आएपछि ग्राहकहरु कम मूल्यमा सामान पाइने बजारको खोजीमा भृकुटीमण्डप पुग्‍ने गरेका हुन्।

मन्दी र अफ-सिजनका बाबजुद् भृकुटीमण्डपका व्यापारीले ग्राहक नै आएनन् भन्‍नुपरेको छैन।

जयन्द्र कार्कीले भृकुटीमण्डपमा व्यवसाय गरेको ३० वर्ष भयो। उनी विशेषगरी महिलाका पहिरन बेच्छन्। कोरोनाताका निकै गाह्रो भए पनि अहिले व्यापार राम्रै रहेको उनी बताउँछन्।

‘अहिले मन्दीले सबैतिर असर पारेको छ। तर, बाहिरभन्दा यहाँ खुल्ला बजारमा चहलपहल छ। ग्राहक पर्खिएर बस्‍नुपर्ने अवस्था छैन। व्यापार राम्रै छ,’ उनले भने। सामान बाहिरभन्दा सस्तो पाइने भएकाले ग्राहक आएको उनको बुझाइ छ।

इन्दिरा सुवेदी पनि भृकुटीमण्डप खुल्ला बजारकी पुरानै व्यापारी हुन्। उनलाई पनि मन्दीले खासै असर पारेको छैन।

‘नजिकै फनपार्क भएकाले पनि होला ग्राहक आएनन् भन्‍नुपरेको छैन,’ उनी भन्छिन्। उनको पसलमा बच्चाका लुगा पाइन्छ।

‘अफसिजन भएकाले व्यापार असाध्यै राम्रो त छैन। तर अन्तका व्यापारीले जस्तो ग्राहक नै पाइएन भन्‍नु परेको छैन,’ उनले भनिन्।

सुवेदीका अनुसार सपिङ मल र फेन्सी पसलमाभन्दा भृकुटीमण्डप बजारमा सामान सुलभ मूल्यमा पाइन्छ। ‘हामी थौरै नाफा भए पनि बेच्छौँ। सामान सस्तो भएकाले नै ग्राहक यता आएका हुन्,’ उनले भनिन्।

लीला बुढाथोकीले भृकुटीमण्डपमा २०७६ देखि व्यवसाय सुरु गरे। सोही वर्षको अन्तिममा सुरु भएको कोरोना महामारीले गर्दा घाटा व्यहोर्नुपर्‍यो। ‘अहिले अफसिजन भएपनि घाटा सहनुपर्ने स्थिति छैन,’ उनी भन्छन्।

अनलाइनमा सस्तो भनिएका सामान सपिङ मलमा महँगो देखेपछि ग्राहक आफूहरुकहाँ आइपुगेको व्यापारी उमेश कटुवालको बुझाइ छ।

‘अहिले सबै वर्गका ग्राहक भृकुटीमण्डपमा ठोक्किनुहुन्छ। जसको कारण अनलाइन पनि हो। कस्तो सामान किन्‍ने भनेर उहाँहरु अनलाइनबाट हेरेर आउनुहुन्छ। जसका लागि सस्तो बजार नै टार्गेट गर्नुहुन्छ। मलमा महँगो लागेर कम रेटमा भेटिन्छ भनेर यहाँ आउनुहुन्छ। अनलाइनले गर्दा सस्ता बजार धेरैको नजरमा परेका छन्,’ कटुवालले भने।

काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहले फुटपाथ पसल राख्‍न रोकेको प्रभाव पनि भृकुटीमण्डपमा परेको कतिपय व्यापारीको बुझाइ छ। व्यापारी ध्रुबबहादुर ढकाल ‘महानगरले जथाभावी फुटपाथ पसल राख्‍न रोकेपछि ग्राहकले भृकुटीमण्डपलाई गन्तव्य बनाए’ भन्छन्। उनको डीआर लिखु सपिङ सेन्टरले अहिले दैनिक १५ हजार रुपैयाँ हाराहारीको व्यापार गर्छ।

ढकाल काठमाडौं निम्‍न व्यापारी संघका सचिव पनि हुन्। उनले भने, ‘आर्थिक मन्दीले गर्दा ग्राहकको क्रयशक्ति घट्यो। तर मलहरुमा सामान महँगो छ। सुलभ मुल्यमा सामान पाइने कारण ग्राहक हामीकहाँ आउँछन्। स्कुल/कलेज पढ्ने विद्यार्थी बढी संख्यामा आउँछन्।’