प्रधानमन्त्री अचानक चितवन जाने कार्यक्रम तय हुँदा व्यवसायीसँगको बैठक स्थगित, ‘कालो चिया खाएर फर्कियौं’

बिजमाण्डू
२०८० साउन २६ गते १६:२६ | Aug 11, 2023
प्रधानमन्त्री अचानक चितवन जाने कार्यक्रम तय हुँदा व्यवसायीसँगको बैठक स्थगित, ‘कालो चिया खाएर फर्कियौं’


काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)को अचानक चितवन जाने कार्यक्रम तय भएपछि व्यवसायिक क्षेत्रको समस्या बुझ्ने उदेश्यसहित बोलाइएको उच्चस्तरीय बैठक स्थगित भएको छ।

Tata
GBIME

अर्थमन्त्री डा. प्रकाशशरण महत, मुख्य सचिव डा. बैकुण्ठ अर्याल, अर्थसचिव अर्जुन पोखरेल, गभर्नर महाप्रसाद अधिकारीसहित निजी क्षेत्रका तीन व्यावसायिक संस्था नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघका अध्यक्षको बैठक स्थगित भएको हो।

बैठकमा सहभागी हुन पुगेका तीनै व्यवसायिक संस्थाका अध्यक्षलाई आईतबार फेरि बस्ने भन्दै फर्काइएको छ। ‘हामी तीन वटै व्यवसायिक संस्थाका अध्यक्ष ३ बजे प्रधानमन्त्री कार्यालय पुगेका थियौं,’ एक संस्थाका अध्यक्षले बिजमाण्डूलाई भने, ‘साढे तीन बजे प्रधानमन्त्रीज्यूको चितवन जाने कार्यक्रम बन्यो। आइतबार बोलाउँछौं भन्दै कालो चिया खुवाएर पठाइयो।’ स्रोतका अनुसार मुख्यसचिव अर्यालले आइतबार समय निश्चित गरेर खबर गर्ने बताएका थिए।