मन्त्री मोदीको दाबी : काठमाडौंमा ‘अखडा’ जमाएर बसेका कर्मचारीलाई उपत्यका बाहिर पठाएँ

बिजमाण्डू
२०८० साउन २३ गते १३:०२ | Aug 8, 2023
मन्त्री मोदीको दाबी : काठमाडौंमा ‘अखडा’ जमाएर बसेका कर्मचारीलाई उपत्यका बाहिर पठाएँ
तस्विर : रासस


काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय प्रशासनलाई बलियो बनाउन सरकारले संघीय निजामती ऐन संसदमा पेस गर्ने बताएका छन्।

Tata
GBIME

प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पिएलजिएसपी) ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले ऐनले प्रशासनिक संघीयता कार्यान्वयनमा देखिएका समस्या समाधान गरिने बताएका हुन्।

‘सरोकारवालासँग छलफल गरेर ऐनको मस्यौदा तयार गरिएको छ’, उनले भने, ‘आजै नभए अर्को दिनको ‘क्याबिनेट’मा जान्छ।’

यस्तै, प्रशासनिक सुधार कायम गर्न कर्मचारी दरबन्दीअनुसारको कार्यालयमा हाजिर हुनुपर्ने व्यवस्था गरिएको उनले बताए। साथै, दुर्गममा सेवा गरेका कर्मचारीलाई सुगममा सरुवा गर्न लागिएकोसमेत उनले जानकारी दिए

‘मन्त्रालयले दुर्गममा रहेर अवसर नपाएका कर्मचारीलाई रोजेको ठाउँमा सरुवाका लागि निवेदन माग गरेको छ’,मोदीले भने, ‘लामो समय सुगममा बसेका कर्मचारी पनि दुर्गममा पनि जानुपर्छ। दुर्गम पनि नेपाल हो भन्ने कर्मचारीले बुझ्नुपर्छ।’

लामो समय निमित्तका भरमा चलेका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाइएको जानकारी दिँदै उनले काठमाडौंमा ‘अखडा’ जमाएर बसेका कर्मचारीलाई उपत्यका बाहिर पठाइएको दाबी गरे।

मोदीले राजनीतिक तथा प्रशासनिक हस्तक्षेप र दबाब खेपेर पनि आफूले प्रशासनिक सुधारको थालनी गरेको बताए।