चुहावट नियन्त्रणका लागि निगमको अर्को प्रयास, इन्धन बोक्ने ट्यांकरमा ‘बटम लोडिङ’ प्रणाली

बिजमाण्डू
२०८० साउन १९ गते १३:२९ | Aug 4, 2023
चुहावट नियन्त्रणका लागि निगमको अर्को प्रयास, इन्धन बोक्ने ट्यांकरमा ‘बटम लोडिङ’ प्रणाली


काठमाडौं। नेपाल आयल निगमले इन्धन बोक्ने ट्यांकरमा नयाँ प्रविधि ‘बटम लोडिङ’ प्रणाली लागू गरेको छ। निगमले सुरुमा दुई वटा ट्यांकरमा ‘बटम लोडिङ’ प्रणाली लागू गरेको हो।

Tata
GBIME

निगमका अमलेखगन्ज डिपो प्रमुख विनितमणि उपाध्यायका अनुसार तत्कालका लागि जया श्री आयल डिष्ट्रिब्युटर्स प्रालिका दुई वटा ट्यांकरमा ‘बटम लोडिङ’ प्रणाली जडान गरिएको हो। बिहिबार मोतिहारी डिपोबाट इन्धन लोड गरेर हिंडेका ती ट्यांकर आइतबार थानकोट डिपो आइपुग्ने छन्।

चुहावट नियन्त्रणका लागि भन्दै नयाँ प्रणाली जडान गरिएको हो। आगलागीको जोखिम पनि कम हुने यो प्रणाली सुरुमा केही खर्चिलो हुन्छ। ‘बटम लोडिङ’ प्रणालीमा ट्यांकरको तल्लो भागबाट बन्द गरिएको अवस्थामा पेट्रोलियम पदार्थ लोड अनलोड गर्न सकिन्छ।

यो प्रणालीमा पेट्रोलियम पदार्थ लोड अनलोड गर्दा चुहावट नहुनुका साथै सुरक्षित पनि हुने उपाध्याय बताउँछन्। निगमले यसअघि यस्ता प्रणाली जडान गर्दा पनि चुहावट रोकिने दाबी गर्दै आएको थियो। तर कर्मचारी र व्यवसायीको मिलेमतोमा तेल चोरिएका धेरै घटना छन्।

निगमले हाल ‘टप लोडिङ’ प्रणालीअन्तर्गत काम गरिरहेको छ। ट्यांकरको माथिबाट खुलारुपमा पेट्रोलियम पदार्थ लोड अनलोड गरिने यो प्रणाली ज्वलनशील पदार्थको जोखिम र वातावरणीय हिसाबले राम्रो मानिंदैन। यसमा चुहावटको पनि समस्या छ।

भारतमा भने सबै डिपो र ट्यांकरमा ‘बटम लोडिङ’ प्रणाली लागू छ। तेलका डिपोमा आगलागी हुने र पर्यावरणमा पनि प्रतिकूल असर गरेको भन्दै भारत सरकारले अग्नि सुरक्षासम्बन्धी नीति नै बनाएर यसअघि नै यो प्रणाली लागू गरेको हो।

नेपालमा भारतबाट पेट्रोलियम पदार्थ आयात गरिन्छ। ‘हामीले पनि समय-समयमा प्रणाली अपग्रेड गर्नु जरुरी भएकाले सुरक्षित हुने प्रणाली लागू गरिएको हो,’ उपाध्यायले भने।

नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक दीनानाथ मिश्र संयोजक रहेको समितिले दिएको सुझाव अनुसार ‘बटम लोडिङ’ प्रणाली जडान गरेको उपाध्यायले बताए। अरु ट्यांकरमा पनि यो प्रणाली जडान गर्ने निगमको तयारी छ।

भारतले नेपालका लागि भनेर बैतालपुर डिपोलाई ‘बटम लोडिङ’ प्रविधिमा तयार पारिसकेको छ। इन्डियन आयल कर्पोरेसन (आईओसी)ले पनि निगमलाई ‘बटम लोडिङ’ प्रणालीमा जान ताकेता गर्दै आएको थियो।

हाल रक्सौल डिपो यही कारण बन्द छ। यसअघि त्यहाँबाट ल्याउने गरेको पेट्रोलियम पदार्थ निगमले अहिले बरौनी डिपोबाट आयात गरिरहेको छ। आईओसीले रक्सौलको डिपो बन्द गरेर मोतीहारीमा ‘बटम लोडिङ’ प्रणालीको डिपो निर्माण गरिरहेको छ।

लोड अनलोडमा समय कम लाग्ने

‘टप लोडिङ’ प्रणालीमा १ मिनेटमा १ हजार २०० लिटर पेट्रोलियम पदार्थ लोड अनलोड गर्न सकिन्छ। ‘बटम लोडिङ’ मा भने त्यसको दोब्बर अर्थात २ हजार ४०० लिटर लोड तथा अनलोड गर्न सकिने उपाध्यायले बताए। ‘यसले एकातिर समयको खपत कम हुन्छ भने अर्कातिर जनशक्ति पनि कम लाग्छ,’ उनले भने।

जडान गर्न एक ट्यांकरमै २० लाख

हाल प्रयोगमा रहेका ट्यांकरमा ‘बटम लोडिङ’ प्रणाली जडानको काम खर्चिलो छ। २ वटा ट्यांकरमा जडान गर्न २० लाख रुपैयाँका दरले खर्च भएको उपाध्यायले बताए। उनले भने, ‘अहिले सबै ट्यांकरमा ‘टप लोडिङ’को व्यवस्था छ। यो सिस्टम पूरै परिवर्तन गर्नुपर्ने हुन्छ। त्यसैले खर्चिलो छ।’

सुरुमा आफ्ना ट्यांकरमा ‘बटम लोडिङ’ प्रणाली जडान गर्दा लाग्ने खर्च व्यवसायीले बेहोर्नु पर्छ। निगमले ढुवानी भाडामा समावेश गरेर नाफासहित व्यवसायीलाई तिर्ने व्यवस्था मिलाएको उपाध्यायले बताए। देशभर हाल इन्धन बोक्ने १ हजार ८०० ट्यांकर छन्।