दसैंतिहारका लागि चीनबाट नयाँ सामान ल्याउन व्यापारीको अलमल, भन्छन्- व्यापार नै छैन

बिजीशा बुढाथोकी
२०८० साउन ११ गते ०८:४९ | Jul 27, 2023
दसैंतिहारका लागि चीनबाट नयाँ सामान ल्याउन व्यापारीको अलमल, भन्छन्- व्यापार नै छैन


काठमाडौं। दसैंतिहार नजिकिँदै छ। चाडपर्वलाई लक्षित गरेर नयाँ सामान खरिद गर्न व्यापारी पप्पु गोतामे करिब दुई महिनाअघि चीन पुगे। उनी जुन २ देखि २९ सम्म गोन्जाउ सहरमा थिए।

Tata
GBIME

७ वर्षदेखि जुत्ताको थोक व्यापार गर्दै आएका गोतामे कोभिड १९ का कारण बन्द चीन गत जनवरीमा खुलेपछि पहिलो पटक गोन्जाउ पुगेका हुन्।

कोरोनाअघि वर्षको ४ पटकसम्म गोन्जाउ पुगेर सामान किन्ने होलसेल व्यापारीले चीनले शून्य कोभिड नीति खारेज नगरेसम्म विच्याटबाट सामान अर्डर गरिरहेका थिए। अहिले धेरथोर व्यापारीले दसैंतिहारलाई लक्षित गर्दै चीन पुगेरै सामान खरिद् गरिरहेका छन्।

‘कोरोनाअघिको र अहिलेको गोन्जाउ उस्तै छैन,’ गोतामेले गोन्जाउको आफ्नो बसाइँ अनुभव सुनाए, ‘हामी प्राय: जाने लत्ता कपडाका बजार भर्खरै सञ्चालनमा आएका हुन्। भुईंतलाका पसल केही खुलेका छन्। माथिल्लो तल्लामा खासै खुलेका छैनन्। महँगो भाडा भएको ठाउँका पसल सस्तो भाडा भएको ठाउँमा सरेका छन्। त्यसैले पहिला जाने गरेका कति पसल त खोज्नै गाह्रो भयो।’

उनका अनुसार गोन्जाउमा बिहान १० बजेदेखि बेलुका ७/८ बजेसम्म नै खुला रहने पसल भेट्नै मुस्किल पर्छ। उनी भन्छन्, ‘ग्राहकहरु नै छैनन्। त्यसैले खुल्ने समयको ठेगान नहुँदा कतिपय पसलमा त जानुअघि फोन गर्नुपर्ने अवस्था छ।’

उनका अनुसार ग्राहक नभएकाले त्यहाँका पसलमै नयाँ सामान छैन। उनले फोटो/भिडियो हेरेर वा मिलेसम्म स्याम्पल मगाएर सामान खरिद् गरे। पसलेहरुले अर्डरपछि सामान बनाउने गरेका छन्।

यसपालिको दसैंतिहारका लागि सामान खरिद गर्न गोतामेजस्ता निकै कम व्यापारी मात्र चीन जाने भएका छन्। कारण हो, एकातिर चीनमा नै सामानको मूल्य बढ्नु, अर्कातिर नेपाली बजारमा व्यापार निकै घट्नु।

आरबी कम्प्लेक्स व्यवसायी संघका अध्यक्ष परशुराम दाहालले चीन आउजाउ गर्न सजिलो भए पनि पहिला जस्तो सामान ल्याएर व्यापार गर्ने अवस्था नरहेको बताए। उनले भने, ‘चिनियाँ बजारमै सामानको मूल्य बढेको छ। नेपालमा पनि भन्सार मूल्यांकन बढेको छ। जसका कारण बजार भाउ २०/२५ प्रतिशत महँगो हुने अवस्था छ। तर उपभोक्ताको क्रयशक्ति नै देखिंदैन।’

आरबी कम्प्लेक्समा १७ वर्षदेखि कपडा र ब्यागको होलसेल पसल सञ्चालन गर्दै आएकी छिरिङ गुरुङले गोन्जाउमै सामानको मूल्य शतप्रतिशतसम्म बढेकाले यसपालिको दसैंबजार महँगो हुने बताइन्।

उनले भनिन्, ‘पहिला ३०/३५ आरएमबीमा पाइने लुगाको भाउ अहिले ६५ आरएमबीसम्म तिरेर ल्याएका छौं। भन्सार र ढुवानी भाडा पनि बढेको छ। अनि बजार कसरी सस्तो हुनु?’

अध्यक्ष दाहालका अनुसार धेरैजसो व्यापारी नयाँ सामान लिन जाने/नजाने अलमलमा छन्। व्यापार नभएका कारण कतिपयले त व्यापार नै छोडिसकेका छन्।

रञ्जना ट्रेड सेन्टर व्यापार संघका अध्यक्ष बिना श्रेष्ठले सरकारले ल्याएको लेबल ट्यागको नियम पनि व्यापारीको अलमलको कारण भएको बताइन्। उनी भन्छिन्, ‘आयात गर्दा चिनियाँ गोदामबाटै लेबल ट्याग लगाउन निकै झन्झटिलो हुन्छ। एउटा बोरामा कम्तीमा १० प्रकारका सामान हुन्छन्। अनि कहाँ कसरी ट्याग लगाउने?’

२२ वर्षदेखि स्पोर्टसवेयर र चस्माको थोक व्यापारमा आबद्ध दाहालले ‘सरकारले वास्तविक मूल्यभन्दा पनि भन्सारमा बढी मूल्य तोकिदिएकाले महँगोमा बेच्न नसकेर गोदाममै थन्क्याउनुपर्ने डरले धेरै व्यापारी सामान लिन चीन नगएको’ सुनाए। चीन गएकाहरुले पनि निकै कम समान मगाएका छन्।

गोतामेले विगतको दसैंमा भन्दा आधा कम सामान अर्डर गरेका छन्। उनले भने, ‘एउटै जुत्तामा ३९०० रुपैयाँसम्म भन्सार शूल्क बुझाउनु पर्छ। आफूले किनेको मूल्य अलग्गै छ। तर बिक्री हुने टुंगो हुँदैन। त्यसैले धेरै सामान अर्डर गर्ने आँट आएन।’

रञ्जना ट्रेड सेन्टरका लत्ताकपडाका थोक व्यापारी लाक्पा लामाले अघिल्ला वर्षका दसैंतिरमा पाँच करोड रुपैयाँ सम्मको सामान ल्याउने गरेका थिए। तर यसपालि अढाइ करोडको मात्र ल्याउने गरी उनी चीन जाने तयारीमा छन्।

एउटै सामान धेरै ल्याउनेभन्दा पनि धेरै भेराइटी ल्याउने उनको योजना छ। उनी भन्छन्, ‘पुरानो स्टक नै बाँकी छ। एउटै सामान धेरै ल्याएर व्यापारमा कसरी टिक्न सक्नु?’

व्यापारीको अर्को चिन्ता भन्सारबाट सामान छुटाउन हुने सकस पनि हो। चीन र नेपाल दुवैतर्फको भन्सारमा कन्टेनर रोकिंदा दसैंका लागि मगाएको सामान जाडोयाममा मात्र आएको तीतो अनुभव कतिपय व्यापारीसँग छ। यसले गर्दा पनि दसैंलाई लिएर व्यापारीहरु त्यति उत्साही छैनन्।

साउन ६ गते गोन्जाउ जानुअघि रञ्जना ट्रेड सेन्टरका एक व्यापारीले भने, ‘नयाँ सामान भए ग्राहक आकर्षित गर्न सकिन्छ कि भन्ने आश हो। व्यापारमा मन्दी रहेकाले धेरै सामान ल्याउने योजना छैन।’ अघिल्ला वर्ष १०० बोरा सामान मगाउने व्यापारीले यसपालि २५ बोराभन्दा बढी अर्डर गर्ने हिम्मत गरेका छैनन्।