वर्षा कम हुँदा गत वर्षको भन्दा २० प्रतिशत कम रोपाइँ, कुन प्रदेशमा कति ?



बिजमाण्डू
२०८० साउन ६ गते ११:०६ | Jul 22, 2023
वर्षा कम हुँदा गत वर्षको भन्दा २० प्रतिशत कम रोपाइँ, कुन प्रदेशमा कति ?

काठमाडौं। यसपाली देशभर धान रोपाइँ गत वर्षको भन्दा २० प्रतिशत कम भएको छ। कृषि तथा पशुपक्षी मन्त्रालयअन्तर्गत कृषि विभागको तथ्यांकअनुसार साउन पहिलो सातासम्म देशभर करिब ६८ प्रतिशत रोपाइँ भएको छ।

Tata
GBIME
Zonsen

हालसम्म ९ लाख २७ हजार २ सय ३३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ। गत वर्ष यही अवधिमा देशभर ८८ प्रतिशत रोपाइँ भइसकेको थियो।

यो वर्ष करिब १३ लाख ५७ हजार ८ सय १६ हेक्टर क्षेत्रफलमा धान रोपाइ हुने मन्त्रालयले जनाएको छ। मधेश, वाग्मती र गण्डकी प्रदेशमा मनसुन ढिला भएकाले धान रोपाइँमा कमी देखिएको हो। यसपटक रोपाइँका लागि वर्षाको पर्खाइमा रहेका क्षेत्रमा पानी पर्न ढिला भएको छ।

त्यस्तै, कर्णाली प्रदेशमा गोरुमा लम्पी स्कीन रोग प्रकोपका रुपमा देखिएको छ। जसका कारण रोपाइँ तयारीका लागि जोत्‍न गोरुको अभाव भएर रोपाइँ प्रभावित भएको मन्त्रालयले जनाएको छ। सुदूरपश्चिममा लगभग रोपाइँ सकिएको छ।

मनसुन सक्रिय भइरहँदा, रासायनिक मलको उपलब्धता सुनिश्चित र लम्पी स्कीन रोगको प्रभाव कम हुँदै जाँदा साउन मसान्तसम्म ९० देखि ९५ प्रतिशत रोपाइँ हुने अनुमान छ।

कुन प्रदेशमा कति भयो रोपाइँ ?
मन्त्रालयको तथ्यांकअनुसार सबैभन्दा धेरै रोपाइँ सुदूरपश्चिम प्रदेशमा भएको छ। उक्त प्रदेशमा १ लाख ६८ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ, जुन मुलुकको कुल रोपाइको ९८ प्रतिशत हो।

कर्णालीमा २९ हजार ४ सय ३३ हेक्टर क्षेत्रफलमा ७६ प्रतिशत र लुम्बिनी प्रदेशमा २ लाख २२ हजार २ सय ९० हेक्टर क्षेत्रफलमा ७४ प्रतिशत रोपाइँ भएको छ।

कोशीमा २ लाख हेक्टर क्षेत्रफलमा ७३ प्रतिशत, गण्डकीमा ७० हेक्टरमा ६७ प्रतिशत, वाग्मतीमा ७३ हजार हेक्टरमा ६५ प्रतिशत र मधेश प्रदेशमा १ लाख ६३ हजार हेक्टरमा ४६ प्रतिशत गरी कुल ६८ प्रतिशत धान रोपाइँ भएको हो।

गत वर्ष यही अवधिमा सुदूरपश्चिममा ९७, कर्णालीमा ९४, लुम्बिनीमा ९२, वाग्मतीमा ९०, गण्डकीमा ८८, मधेशमा ८८ र कोशी प्रदेशमा ८० प्रतिशत रोपाइँ भएको थियो।