जग्गाको न्यूनतम मूल्यांकन बढ्यो, आनामै साढे ७ लाखसम्म, कहाँ कति?

उन्नत सापकाेटा
२०८० साउन ४ गते १८:०८ | Jul 20, 2023
जग्गाको न्यूनतम मूल्यांकन बढ्यो, आनामै साढे ७ लाखसम्म, कहाँ कति?


काठमाडौं। घरजग्गा कारोबारमा मन्दी छाइरहेका बेला सरकारी निकायले भने जग्गाको मूल्यांकन आनामै साढे ७ लाख रुपैयाँसम्म बढाएका छन्। मालपोत कार्यालय साँखुले चालु आवमा जग्गाको मूल्यांकन प्रतिआना साढे ७ लाख रुपैयाँसम्म बढाएको हो।

Tata
GBIME

साँखु मालपोतपछि बढी मूल्यांकन कायम गर्नेमा भक्तपुर मालपोत देखिन्छ। भक्तपुर मालपोतले जग्गाको न्यूनतम मूल्यांकन प्रतिआना साढे २ लाख रुपैयाँसम्म बढाएको छ।

मनमैजु मालपोतले आनामा डेढ लाख रुपैयाँ बढाउँदा लगनखेल मालपोतले ब्लूचिप अर्थात् महँगा क्षेत्रका जग्गाको न्यूनतम मूल्यांकन बढाएको छैन। उसले ग्रामीण क्षेत्रका जग्गाको मूल्यांकन भने बढाएको छ।

मालपोत कार्यालयहरूले रजिष्ट्रेसन हुने लिखतमा थैली अंक कायम गर्ने प्रयोजनलाई जग्गाको न्यूनतम मूल्य निर्धारण गर्ने गरेका छन्। नयाँ आर्थिक वर्ष सुरु भएसँगै देशभरका मालपोत कार्यालयले धमाधम जग्गाको न्यूनतम मूल्य निर्धारण गरेका हुन्।

चालु आव २०८०/८१ का लागि काठमाडौं उपत्यकाको हकमा यो समाचार तयार पार्दासम्म काठमाडौंका कलंकी, डिल्लीबजार, टोखा, साँखु र मनमैजु मालपोत कार्यालयले जग्गाको न्यूनतम मूल्य निर्धारण गरिसकेका छन्।

यस्तै, भक्तपुर मालपोत र ललितपुरको लगनखेल मालपोत कार्यालयले पनि जग्गाको न्यूनतम मूल्य निर्धारण गरेका छन्। काठमाडौंको चाबहिल र ललितपुरको गोटिखेल मालपोत कार्यालयले भने मूल्य निर्धारण गरेका छैनन्।

साँखु मालपोतले बढायो जग्गाको न्यूनतम मूल्यांकन
चालु आर्थिक वर्ष २०८०/८१ का लागि जग्गाको न्यूनतम मूल्यांकन सबैभन्दा धेरै बढाइएको साँखु क्षेत्रमा हो। साँखु मालपोतले गत आर्थिक वर्ष २०७९/८० मा आलापोट क्षेत्रमा पर्ने कागेश्वरी चक्रपथ मूल पिच सडक भद्रवास सिमानदेखि गागलफेदी सिमानासम्मका जग्गाको मूल्यांकन प्रतिआना ७ लाख ५० हजार रुपैयाँ गरेको थियो। चालु आवमा बढाएर आनामा ८ लाख २५ हजार रुपैयाँ पुर्‍याइएको छ।

मूल पिच सडक गाविस भवनदेखि वाग्मती खोलासम्मका जग्गाको मूल्यांकन प्रतिआना ७ लाख ५० हजारबाट ८ लाख २५ हजार रुपैयाँ कायम गरिएको छ। यो क्षेत्रमा कच्ची मोटर बाटो भएका जग्गाहरूको मूल्यांकन ४० हजार रुपैयाँ बढाएर प्रतिआना ४ लाख ४० हजार रुपैयाँ पुर्‍याइएको छ।

यसअघि आलापोट पधेंराबाट आकाशे जाने पिच बाटोको मूल्यांकन थिएन। चालु आवबाट यस क्षेत्रका जग्गाको मूल्यांकन प्रतिआना ८ लाख २५ हजार रुपैयाँ तोकिएको छ। गोरेटो बाटोमा भएका जग्गाको मूल्यांकन २५ हजार बढाएर आनाको २ लाख ७५ हजार र बाटो नभएका जग्गाको मूल्यांकन २० हजार बढाएर आनामा २ लाख २० हजार रुपैयाँ पुर्‍याइएको छ।

चालु आर्थिक वर्ष २०८०/८१ का लागि जग्गाको न्यूनतम मूल्यांकन सबैभन्दा धेरै बढाइएको क्षेत्र हो साँखु। जग्गाको मूल्यांकन प्रतिआना ७ लाख ५० हजार रुपैयाँ थियो। चालु आवमा त्यसलाई बढाएर ८ लाख २५ हजार रुपैयाँ पुर्‍याइएको छ।

साँखु जाने मूल पिच बाटोका जग्गाको मूल्यांकन प्रतिआना १ लाख ३५ हजार रुपैयाँले बढाएर १४ लाख ८५ हजार रुपैयाँ पुर्‍याइएको छ। यो क्षेत्रमा पर्ने अरु प्रकृतिका जग्गाको न्यूनतम मूल्यांकन प्रतिआना २० हजारदेखि ७५ हजार रुपैयाँसम्म बढाइएको छ।

गागलफेदी क्षेत्रका जग्गाको न्यूनतम मूल्यांकन समेत बढेको छ। यहाँ पनि न्यूनतम मूल्यांकन प्रतिआना १० हजारदेखि ७५ हजार रुपैयाँसम्म वृद्धि भएको छ। साँखु मालपोत कार्यालयले गत वर्ष पनि न्यूनतम मूल्यांकन बढाएको थियो।

मनमैजु क्षेत्रका जग्गाको पनि बढ्यो मूल्यांकन
मनमैजु क्षेत्रमा पर्ने जग्गाको न्यूनतम मूल्यांकन पनि बढेको छ। नेपालटार पुलदेखि शेषमति हुँदै जरखुंसम्मको मुल सडकको दायाँबायाँका जग्गाको मूल्यांकन प्रतिआना १ लाख ५० हजार रुपैयाँले बढेको छ। गत वर्ष यो क्षेत्रमा जग्गाको न्यूनतम मूल्यांकन आनाको १४ लाख ५० हजार रुपैयाँ थियो। अहिले बढेर प्रतिआना १६ लाख रुपैयाँ पुगेको छ।

यस क्षेत्रमा पर्ने अरु जग्गाको मूल्यांकन समेत बढेको छ। गत आवमा पनि मालपोत कार्यालय मनमैजुले जग्गाको न्यूनतम मूल्यांकन अधिकतम १ लाख ७१ हजार रुपैयाँसम्म बढाएको थियो। यस मालपोत कार्यालयअन्तर्गत तारकेश्वर नगरपालिकाका जग्गा पर्छन्।

भक्तपुर क्षेत्रमा आनाको साढे २ लाख रुपैयाँसम्म बढ्यो
भक्तपुर मालपोतले आफ्नो क्षेत्रका जग्गाहरुको न्यूनतम मूल्यंकन प्रतिआना २ लाख ६१ हजार ४०० रुपैयाँसम्म बढाएको छ ।अरनिको राजमार्गसँग जोडिएको मध्यपुर थिमी नगरपालिकाका जग्गाको मूल्यांकन आनामा २ लाख ६१ हजार ४०० रुपैयाँ बढाइएको छ।

यस्तै, अरनिको राजमार्गसँग जोडिएका जग्गाको न्यूनतम मूल्यांकन प्रतिआना ३३ लाख रुपैयाँबाट बढाएर ३५ लाख रुपैयाँ पुर्‍याइएको छ। सल्लाघारी चोकदेखि दुधपाटी चोकसम्म सडकको दायँबायाँ रहेका जग्गाको मूल्यांकन आनामा २० लाखबाट २२ लाख रुपैयाँ कायम गरिएको छ।

गत आवमा काठमाडौं उपत्यकाभित्र रहेका मालपोत कार्यालयमध्ये भक्तपुरले मूल्यांकन सर्वाधिक बढाएको भएपनि चालु वर्ष त्यसरी बढेन। भक्तपुर मालपोतले आफ्नो क्षेत्रका जग्गाहरुको न्यूनतम मूल्यंकन प्रतिआना २ लाख ६१ हजार रुपैयाँसम्म बढाएको छ।

गत आव २०७९/८० मा भक्तपुरको मालपोत कार्यालयले ९ लाख २४ हजार रुपैयाँसम्मले जग्गाको न्यूनतम मूल्यांकन बढाएको थियो। भक्तपुर नगरपालिकामा अरनिको राजमार्गसँग जोडिएको जग्गाको मूल्यांकन गत आव २०७९/८० मा प्रतिआना ३३ लाख रुपैयाँ पुर्‍याइएको थियो। अघिल्लो आव २०७८/७९ मा यो सडकको दायाँबायाँ पर्ने जग्गाको मूल्यांकन प्रतिआना २३ लाख ७६ हजार रुपैयाँ थियो। भक्तपुरका ४ वटै स्थानीय तहका जग्गा यही मालपोत कार्यालय मातहत पर्छन्। गत आवमा काठमाडौं उपत्यकाभित्र रहेका मालपोत कार्यालयमध्ये भक्तपुरले मूल्यांकन सर्वाधिक बढाएको थियो।

लगनखेल मालपोतले ब्लूचिप जग्गाको मूल्यांकन बढाएन, अरुतिर बढ्यो
ललितपुरको लगनखेल मालपोतले बागमती गाउँपालिकाभित्र पर्ने मोटरबाटो भएका जग्गाको न्यूनतम मूल्यांकन प्रतिरोपनी ५ लाख रुपैयाँसम्म बढाएको छ। कोञ्ज्योसोम गाउँपालिकाभित्र पर्ने पिच मोटर बाटो भएका जग्गाको मूल्यांकन पनि प्रतिरोपनी ५ लाख रुपैयाँ बढाइएको छ।

गोदावरी नगरपालिकाको हकमा मूल पिच सडक भएका जग्गाको मूल्यांकन प्रतिआना सात लाख रुपैयाँ बढाइएको छ। महालक्ष्मी नगरपालिकामा पर्ने इमाडोल र टीकाथली क्षेत्रका जग्गाको न्यूनतम मूल्यांकन भने बढाइएको छैन।

तर, सानागाउँ क्षेत्रमा पर्ने जग्गाको मूल्यांकन भने बढाइएको छ। लुभु जाने मूल पिच सडकको दायाँबायाँका जग्गाको मूल्यांकन प्रतिआना ७५ हजार रुपैयाँसम्म बढाइएको छ। लामाटारको मूल पिच सडकको दायाँबायाँका जग्गाको मूल्याकंन प्रतिआना ६ लाख ६० हजारबाट ७ लाख रुपैयाँ पुर्‍याइएको छ।

ललितपुर महानगरपालिकामा पर्ने बुङमती क्षेत्रको मूल्यांकन भने बढाइएको छैन। सैंबु भैसेपाटीमा पनि मूल्यांकन बढाइएको छैन। कुपण्डोल, लगनखेल, सातदोबाटो, जावलाखेल, हरिसिद्धि, धापाखेल, सुनाकोठी लगायत क्षेत्रका जग्गाको मूल्यांकन पनि गत वर्षके कायम गरिएको छ।

डिल्लीबजार मालपोत कार्यालयले जग्गाको न्यूनतम मूल्यांकन बढाएको छैन। काठमाडौंको अर्को मालपोत कार्यालय टोखा सरस्वतीले पनि आफ्नो क्षेत्रमा पर्ने जग्गाको न्यूनतम मूल्यांकन पुरानै कायम राखेको छ। टोखाले गत आवमा पनि मूल्यांकन बढाएको थिएन।

कलंकीका जग्गाको मूल्यमा छैन ठूलो परिवर्तन
कलंकी मालपोतले गत आर्थिक वर्षको तुलनामा खासै ठूलो परिवर्तन गरेको छैन। कीर्तिपुर नगरपालिका-४ देखि ८ भित्र पर्ने मार्ग स्पष्ट नभएको र (१, २, ३, ९ र २० को चक्रपथभित्र पर्ने क्षेत्रबाहेकको) जग्गा बाटो नभएको हकमा मूल्यांकन बढाइएको छ।गत आवमा त्यस्ता जग्गाको मूल्यांकन प्रतिआना ८८ हजार रहेकामा अहिले १ लाख रुपैयाँ पुर्‍याएको छ। योबाहेक अरु सबै क्षेत्रका जग्गाको न्यूनतम मूल्यांकन यथावत छ।

डिल्लीबजार र टोखा क्षेत्रका जग्गाको मूल्यांकन स्थिर
डिल्लीबजार मालपोत कार्यालयले जग्गाको न्यूनतम मूल्यांकन बढाएको छैन। काठमाडौंको अर्को मालपोत कार्यालय टोखा सरस्वतीले पनि आफ्नो क्षेत्रमा पर्ने जग्गाको न्यूनतम मूल्यांकन पुरानै कायम राखेको छ। टोखाले गत आवमा पनि मूल्यांकन बढाएको थिएन।

मालपोत कार्यालयहरुले जग्गासँग सडक वा बाटो जोडिए/नजोडिएको र सोको प्रकार, जग्गाको प्रयोजनको अवस्था, जग्गाको वस्तुगत अवस्थिति र खरिद बिक्री मूल्यलाई न्यूनतम मूल्यांकन निर्धारणका आधार बनाउने गरेका छन्। भूमि व्यवस्थापन तथा अभिलेख विभागबाट भएका परिपत्र तथा न्यूनतम मूल्यांकन सम्बन्धी निर्देशिका, स्थानीय तहबाट प्राप्त सुझाव, कार्यालयबाट गरिएको स्थलगत अध्ययन र गत वर्ष पारित लिखतमा उल्लेखित थैली अंकसमेत न्यूनतम मूल्यांकनका आधार हुन्।