सेयर लगानीकर्ता आन्दोलित, ब्रोकर कार्यालय बन्द गराउन थाले, कारोबार गर्न ब्रोकरले मानेनन्

बिजमाण्डू
२०८० जेठ २१ गते ०९:०७ | Jun 4, 2023
सेयर लगानीकर्ता आन्दोलित, ब्रोकर कार्यालय बन्द गराउन थाले, कारोबार गर्न ब्रोकरले मानेनन्

काठमाडौं। लगानीकर्ताले टीएमएस नै बन्द गरिदिने धम्की दिएपछि सेयर ब्रोकरले आइतबार कारोबार सञ्चालन गर्न अस्वीकार गरेका छन्।

Tata
GBIME
Nepal Life

सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्ने विधेयक, २०८० जारी भएपछि त्यसका केही व्यवस्थालाई लिएर पुँजीबजारका केही लगानीकर्ताहरु आन्दोलित भएका छन्।

लगानीकर्ताको समूह विभिन्न धितोपत्र दलाल व्यवसायीका कार्यालयहरुमा आई बन्द गराउँदै हिडेका छन्। आजदेखि आन्दोलनका मागहरु पुरा नभएसम्म दोस्रो बजार कारोबार बन्द नगरेमा जस्तोसुकै क्षति हुनसक्ने उनीहरुले जनाएका छन्।

लगानीकर्ताको धम्कीका कारण ब्रोकरहरुले शान्ति सुरक्षाको कारण देखाउँदै कारोबार गर्न अस्वीकार गरेका हुन्।

लगानीकर्ताबाट हुनेसक्ने क्षतिको जिम्मेवारी स्वयं व्यवसायीले नै लिनुपर्ने चेतावनी उनीहरुको छ। 

‘लगानीकर्ताबाट आएको धम्की तथा चेतावनीका कारण आगामी दिनहरुमा निर्वाध रुपमा कार्यालय खोली व्यवसाय र कारोबार सञ्चालन गर्न व्यवसायीहरुले असहज तथा कर्मचारीहरुले असुरक्षित महसुस गरेको प्रति सम्पूर्ण सरोकारवालाहरुको ध्यानाकर्षण गराउन चाहन्छौं,’ ब्रोकर संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

उसले आगामी दिनमा निर्वाध रुपमा कार्यालय र कारोबार सञ्चालन गर्ने वातावरण मिलाई दिन सरकारसँग माग गरेको छ। 

‘अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको पुँजीबजारले सूचनाको आधारमा प्रतिक्रिया गर्ने भएकोले संवेदनशीलता, बजारको सन्तुलित विकास, लगानीकर्ताहरुको आत्मविश्वास तथा समग्र लगानीको वातावरणमा पार्ने दीर्घकालीन प्रभाव आदि पक्षलाई समेत ध्यानमा राखी कुनै पनि नीतिनियम तर्जुमा गर्दा सरोकारवाला सबै पक्षहरुसँग गहन छलफल गरि स्थिर र स्पष्ट नीति नियम निर्माण गर्ने अभ्यासको थालनी गरिदिनुहुन पनि सम्बद्ध सरोकारवालाहरुलाई विनम्र अनुरोध गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ।

सरकारले व्यवसाय बनाएर सेयर कारोबार गर्नेहरुलाई पनि आयकर तिर्नुपर्ने व्यवस्था गरेको छ। यसैको विरोधमा  लगानीकर्ताहरु देखिएका हुन्।