हुन्डाईले आयोनिक ५ को मूल्य १४ लाख घटायो, अब १ करोड ३ लाख रुपैयाँ

बिजमाण्डू
२०८० जेठ २१ गते ०८:१२ | Jun 4, 2023
हुन्डाईले आयोनिक ५ को मूल्य १४ लाख घटायो, अब १ करोड ३ लाख रुपैयाँ

काठमाडौं। नेपाली बजारमा १ करोड १७ लाख रुपैयाँमा बिक्री भइहेको हुन्डाईको इलेक्ट्रिक कार आयोनिक ५ को मूल्य १४ लाख रुपैयाँले घटेको छ।

Tata
GBIME
Nepal Life

हुन्डाईको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले हालै सार्वजनिक नयाँ बजेटको व्यवस्था अनुसार मूल्य समायोजन गरेको हो। हुन्डाईको नयाँ मूल्य सूची कम्पनीको वेबसाइटमा समेत अपडेट गरिएको छ।

हुन्डाई आयोनिक ५ को मूल्य पहिले १ करोड १६ लाख ९६ हजार रहेकोमा अब समायोजन भएर १ करोड २ लाख ९६ हजार रुपैयाँ निर्धारण भएको हो।

गत जेठ १५ गते सार्वजनिक गरिएको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटले १०० देखि २०० किलोवाटसम्म क्षमताका विद्युतीय गाडीको कर २० प्रतिशत घटाएसँगै हुन्डाईले मूल्य घटाएको हो।

१०० देखि २०० किलोवाटसम्म विद्युतीय मोटर जडित कारमा यसअघि ३० प्रतिशत रहेको भन्सार दरलाई २० प्रतिशत कायम गरिएको छ। त्यस्तै सोही मोटर क्षमता भएको विद्युतीय कारमा ३० प्रतिशत नै रहेको अन्तःशुल्क २० प्रतिशतमा सीमित गरिएको छ।

यो सेग्मेन्टका इलेक्ट्रिक कार आयात गर्दा समग्रमा २० प्रतिशत कम कर तिर्नुपर्नेछ। हुन्डाई आयोनिक ५ मा १२५ किलोवाटको मोटर प्रयोग भएको छ।