भारत भ्रमणको मुखैमा तीव्र छलफलमा प्रधानमन्त्री प्रचण्ड, के के छन् भ्रमणका एजेण्डा ?

बिजमाण्डू
२०८० जेठ १४ गते १०:१७ | May 28, 2023
भारत भ्रमणको मुखैमा तीव्र छलफलमा प्रधानमन्त्री प्रचण्ड, के के छन् भ्रमणका एजेण्डा ?

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारत भ्रमणका लागि तीव्र छलफल गरिरहेका छन्। प्रचण्डले आइतबार पूर्वप्रधानमन्त्री, विभिन्‍न राजनीतिक दलका नेता तथा पूर्व परराष्ट्रमन्त्रीसँग भ्रमणबारे औपचारिक छलफल गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

Tata
GBIME
Nepal Life

दिउँसो २ बजे सिंहदरबारमा छलफलको आयोजना गरिएको छ। यसअघि पनि प्रचण्डले आफ्नो भ्रमणबारे विभिन्न पक्षसँग अनौपचारिक छलफल गरेका थिए।

कस्तो छ भ्रमण तालिका?

जेठ १७ गतेदेखि भारत भ्रमणमा निस्कन लागेका प्रचण्डले जेठ १८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने तय भएको छ। सोही दिन मोदीले प्रचण्डको सम्मानमा दिवाभोजको आयोजना गर्दैछन्।

भारतका राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखरसँग प्रचण्डले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्रीले जेठ २० मा काठमाडौं फर्कनुअघि मध्य प्रदेशको उज्जैन र इन्दोर जाने तय भएको छ। शनिबार नेपाल र भारत दुवै देशका परराष्ट्र मन्त्रालयले प्रचण्डको भ्रमणको औपचारिक घोषणा गरेका थिए।

के होलान् एजेण्डा?

प्रचण्डले जेठ ६ गते काठमाडौंमा आयोजित कार्यक्रममा भारत भ्रमणमा नयाँ रेकर्ड कायम हुने बताएका छन्। भ्रमणको एजेण्डाबारे प्रचण्डले औपचारिक जानकारी भने दिएका छैनन्। प्रचण्डको नयाँ रेकर्ड हुने अभिव्यक्तिमाथि नेपाल-भारत प्रबुद्ध समूहका सदस्य सूर्यनाथ उपाध्यायले संशय व्यक्त गरेका छन्। संसदीय समितिको छलफलमा उपाध्यायले प्रचण्डले कोशी वा कर्णाली सम्झौता गर्न सक्ने बताएका हुन्।

‘यसपालि कर्णाली पो सही गरेर आउनुहुन्छ कि कोशी पो सही गरेर आउनुहुन्छ,’ उपाध्याले भनेका थिए।

प्रचण्डले शनिबार नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा पञ्चेश्वर परियोजना अघि बढाउने विषयमा पनि भारतसँग कुराकानी हुने जानकारी दिएका थिए। आफ्नो भ्रमणपछि नेपालले अर्को नयाँ हवाई रुट पाउने पनि प्रचण्डले बताएका छन्। उनले भारत भ्रमणमा ट्रेड ट्रान्जिटबारे पनि छलफल हुने जानकारी दिएका छन्। सन् २०१९ देखि रोकिएको ट्रेड ट्रान्जिटको काम पटक अगाडि बढ्ने प्रचण्डले बताएका थिए।

प्रधानमन्त्री भएको ५ महिनामा पहिलो विदेश भ्रमण
प्रधानमन्त्रीका रुपमा प्रचण्डको यो चौथो भारत भ्रमण हो। पुस १० मा तेस्रो कार्यकालका लागि प्रधानमन्त्री भएका प्रचण्डको भारत भ्रमण पहिलो विदेश भ्रमण हो।

यसअघि उनले प्रतिनिधि सभाको बैठकमा सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिने क्रममा पहिला भारत भ्रमण गर्नुपर्ने बाध्यता नभएको बताएका थिए। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सोधेको प्रश्नको जवाफमा प्रचण्डले आफूले पहिलो पटक प्रधानमन्त्री हुँदा पहिला चीनको भ्रमण गरेको बताएका थिए।

‘कताको भ्रमण गर्ने भन्ने बाध्यता छैन। समय परिस्थिति अनुसार गर्ने हो। पहिलोपटक प्रधानमन्त्री हुँदा उत्तरबाट गरेको थिएँ,’ प्रचण्डले भनेका थिए।