पुँजी बजारको सम्पूर्ण काम गर्ने एउटा मात्र संस्था बन्दै नबिल सेक्युरिटिज, सीइओ खोजी हुँदै

बिजमाण्डू
२०८० जेठ ११ गते १३:०७ | May 25, 2023
पुँजी बजारको सम्पूर्ण काम गर्ने एउटा मात्र संस्था बन्दै नबिल सेक्युरिटिज, सीइओ खोजी हुँदै

काठमाडौं। १५० करोड पुँजी खर्च गरेर किन कम्पनी खोल्ने? नबिल बैंक सञ्चालक समितिले व्यवस्थापनलाई प्रश्न गर्‍यो।

Tata
GBIME
Nepal Life

लामो सवालजवाफ भयो। व्यवस्थापनले बुझाउन हरेक तर्कहरु गर्‍यो। अन्तत: नबिल बैंकको सञ्चालक समितिले पुँजी बजारमा काम गर्ने कम्पनी नबिल सेक्युरिटिज खोल्नका लागि स्वीकृति दियो।

नेपालको पुँजी बजार अहिले सानो छ। सीमित लगानीका औजारहरुमा काम गरिरहेको छ। सीमित क्षेत्रमा मात्र सेवा प्रवाह भइरहेको छ।

विश्व अर्थतन्त्र तीव्र रुपमा बढिरहेको, त्यसको प्रभाव नेपालमा पनि परेको, सरकारलाई नै आवश्यक लागेर अर्को पनि स्टक एक्सचेञ्ज खुल्ने क्रममा रहेको, लगानीका वृहत क्षेत्रमा काम गर्ने सम्भावना धेरै बाँकी रहेकाले नबिल बैंकले अर्को कम्पनी खोल्नै पर्छ भनेर व्यवस्थापनले बुझाएपछि सञ्चालक समितिले ‘गो अहेड’ भनेको थियो।

नभन्दै बैंकले नबिल सेक्युरिटिज कम्पनी खोलेर धितोपत्र दलालदेखि डिलरसम्मको काम गर्न नियामक नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। बोर्डबाट सैद्धान्तिक स्वीकृति पनि पाइसकेको छ। अब अन्तिम स्वीकृति पाउन बाँकी छ।

यो सबै पछाडि बसेर नबिल बैंकका नायब महाप्रबन्धक आदर्श बजगाईंले गरेका हुन्। उनले नै आफूमाथिको व्यवस्थापनलाई बुझाए, त्यसपछि सञ्चालक समितिलाई पनि मनाएपछि नेपाल धितोपत्र बोर्डबाट सम्पूर्ण काम गर्ने गरी लाइसेन्स लिन लागेको एक मात्र कम्पनी नबिल सेक्युरिटिज बनेको छ।

‘अहिले हामीले कम्पनीको प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन माग गरेका छौं। प्रमुख कार्यकारी आएपछि उसको कन्फिडेन्समा बाँकी कर्मचारी पनि लिने योजना छ,’ नबिल बैंकमार्फत सहायक कम्पनी नबिल सेक्युरिटिजको पनि नेतृत्व गरिरहेका आदर्शले भने, ‘अहिले कार्यालय निर्माणको काम भइरहेको छ।’

बोर्डले सातवटा ब्रोकरलाई अन्तिम स्वीकृति दिइसकेको छ। बोर्डले चाँडो काम सक्न भनेर नबिल सेक्युरिटिजलाई ताकेता पनि गरिरहेको छ। 

‘हामीले अन्तर्राष्ट्रिय क्षेत्रमा सफल अभ्यास भएको नयाँ-नयाँ औजारहरुमा काम गर्न सक्ने, नियामक र बजारसँग पनि तालमेल मिलाएर अगाडि बढ्ने खालको मान्छे प्रमुख कार्यकारीका रुपमा खोजेका छौं,’ उनले भने, ‘सेक्युरिटिज डिलर नेपालका लागि नयाँ भएकाले नियामकहरुलाई पनि नयाँ नै क्षेत्र हुन्छ। त्यहाँ इनोभेसनमा काम गर्ने खालको मान्छे चाहिन्छ।’

नबिल सेक्युरिटिज नबिल बैंकको शतप्रतिशत लगानी भएको संस्था हो। अहिले नेपालमा ऋणपत्रको विस्तारित कारोबार छैन। धितोपत्र खरिदबिक्री मात्र धेरै छ। हरेक सम्भावनाका क्षेत्रमा नबिल सेक्युरिटिजले काम गर्ने उनको दाबी छ। 

‘हामीले बजार निर्माताको लाइसेन्स लिने भएकाले यसमा धेरै जोखिमहरु पनि आउँछ,’ उनले भने, ‘ती जोखिमलाई पार लगाउँदै काम गर्नुपर्ने हुन्छ।’

उनको बुझाइमा नेपालको पुँजी बजार विकास नभइसकेकाले भोलिका दिनमा नबिल सेक्युरिटिज जस्ता संस्थाहरु अहिलेका वाणिज्य बैंकहरुभन्दा ठूला हुने सम्भावना रहन्छ। 

दरबारमार्गको तीनधारामा नबिलले कार्यालय स्थापना गरिरहेको छ। त्यहाँ दुईवटा फ्लोरमा कार्यालय रहने छ। धितोपत्र बोर्डले १५ सय वर्गफिटको कार्यालय हुनुपर्ने भनेकोमा नबिलले २६ सय वर्गफिटमा कार्यालय स्थापना गरिरहेको छ। 

धितोपत्र बोर्डले २० करोड, ६० करोड र १५० करोडका तीन वर्गका संस्था खोल्न लाइसेन्स दिइरहेको छ। यसमध्ये १५० करोडको लाइसेन्सका लागि नबिलको मात्र आवेदन परेको हो। 

नबिल सेक्युरिटिजले ब्रोकरदेखि बजार निर्मातासम्मको काम गर्नेछ। सरकारको जमानतमा जारी भएको डिबेञ्चर वा सामूहिक लगानी योजना वा सूचीकृत धितोपत्रहरुमा तरलता प्रदान गर्ने उद्देश्यले धितोपत्र आफ्नो नामबाट खरिदबिक्री कारोबार गर्नेदेखि सामान्य सेयर कारोबार गर्नेसम्मको काम नबिल सेक्युरिटिजले गर्नेछ। यसबाहेक मार्जिन लेन्डिङ, नयाँ प्रडक्टको डिजाइन तथा कार्यान्वयन लगायतका काम पनि गर्नेछ।

‘हामीले सोचेअनुसार काम अगाडि बढ्यो भने चालु वर्षकै नाफाबाट लाभांश बाँड्ने अवस्थामा हामी पुग्छौं,’ आदर्शले भने।