
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा अर्थविद् डा. स्वर्णिम वाग्लेले मेक इन नेपाल अभियान स्वागतयोग्य भएको बताएका छन्। राजधानीमा मंगलबार आयोजित मेक इन नेपाल स्वदेशी समिट २०२३ मा बोल्दै उनले यो अभियानको सफलताका लागि सहकार्यमा जोड दिएका हुन्।
कार्यक्रममा उनले पहिला व्यवसायीले आफ्ना उद्योगलाई बढी प्राथमिकता दिने गरे पनि अहिले भने समग्र अर्थतन्त्र र राष्ट्रिय हितमा अभियान चलाएर अगाडि बढेको भन्दै खुसी व्यक्त गरे।
महँगो नै परे पनि आफ्ना उत्पादनहरुलाई संरक्षण गर्ने गरेका अमेरिका तथा बेलायतको उदाहरण दिंदै उनले भने, ‘नेपालमा पनि अन्य स्वार्थलाई थाती राखेर एउटा हदसम्म नीतिमै सुधार गरेर भएपनि स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्नेछ।’
साथै तुलनात्मकभन्दा सापेक्षित लाभ वा प्रतिस्पर्धात्मक लाभ हेरी समयसीमा तोकेर संरक्षण गर्नुपर्ने उल्लेख गर्दै उनले स्थनीयस्तरमा उत्पादनको साटो बाहिरबाट ल्याइएका वस्तुको एसेम्बली उद्योगमा ध्यान बढी गएको देखिएको बताए। ‘लाइसेन्सराज प्रवृत्ति अन्त्य गर्दै प्रतिस्पर्धात्मक अवसर सिर्जना गर्ने दायित्व र चुनौती सरकारलाई छ,’ उनले भने।
कसैलाई ढोका चाहार्न नपर्ने वा चाकडी गर्न नपर्ने नीतिसहित अबको सुधार चाहिएको उल्लेख गर्दै उनले मूल्य अभिवृद्धि के कत्ति भएको छ त्यसमा गम्भीर हुनुपर्ने बताए। ‘अहिले नेपालमा ल्याएर घोल्ने वा मिसाउने काम मात्रै भएको छ,’ उनले भने, ‘हामीले भ्यालु एड के कति भएको छ भनेर पनि हेर्नुपर्छ ।’
लगानीका लागि अहिले समय असहज रहेको उल्लेख गर्दै उनले लगानी गर्ने वातावरण खुम्चिएकाले निजी क्षेत्र मैत्री वातावरण बनाउनुपर्ने पनि धारणा राखे।