लुक्लामा दैनिक ३७० उडान-अवतरण, दैनिक एक हजारभन्दा बढी पर्यटक आवागमन

बिजमाण्डू
२०७९ चैत्र २१ गते १८:२६ | Apr 4, 2023
लुक्लामा दैनिक ३७० उडान-अवतरण, दैनिक एक हजारभन्दा बढी पर्यटक आवागमन


काठमाडौं। पर्यटकीय सिजन सुरु भएसँगै लुक्लाको तेन्जिङ हिलारी विमानस्थलमा दैनिक ३ सय ७० वटा उडान-अवतरण हुन थालेको छ।

Tata
GBIME
Nepal Life

दुई दिनयता हवाईजहाज र हेलिकोप्टरको उडान संख्या वृद्धि भएसँगै दैनिक एक हजार भन्दा बढी पर्यटकको आवागमन हुँदै आएको विमानस्थल प्रमुख महेश श्रेष्ठले बताए। सोमबारको उक्त उडान-उवतरण संख्या यो सिजनकै सर्वाधिक हो।

‘पर्यटकीय सिजन सुरु भएसँगै दुई दिनयता दैनिक ३ सय ७० उडान अवतरण हुन थालेको छ। अधिकांश विदेशी पर्यटक छन्,’ उनले भने,’हामीले फ्‍लाइट मुभमेन्ट अनुसार उडानको पार्किङ व्यवस्थापन गर्दै आएका छौं।’

सामान्यतया दैनिक हवाई जहाजको ३५ वटा उडान हुँदै आएको यो विमानस्थलमा यतिखेर ५० वटा उडान हुँदै आएको उनले जानकारी दिए। दुई दिनयता समिट, तारा, सीता लगायत वायुसेवाले रामेछापबाटै लुक्ला उडान गर्दै आएका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणको समर सेड्युलअन्तर्गत यी वायुसेवाले अप्रिल १ तारिखबाट रामेछाप-लुक्ला उडान सुरु गरेका हुन्। यी जहाजमा प्रति उडान १५ जना यात्रुको सहभागिता जानकारी उनले दिए।

हेलिकोप्टर कम्पनीहरु सिम्रिक, एयर डाइनेष्टी, फिस्टेल, कैलाश, प्रभु, अल्टिच्युड, हेली एभरेष्ट, श्री लगायतले रामेछाप-लुक्ला दैनिक १०० भन्दा बढी उडान गर्दै आएको लुक्ला विमानस्थलले जनाएको छ।

प्रमुख श्रेष्ठका अनुसार केही कम्पनीको उडान काठमाडौंबाट पनि हुँदै आएको छ। ‘क्रमिकरूपमा यात्रुको मागसँगै उडान संख्या पनि बढेको छ। पर्यटकको चहलपहल वृद्धि भइरहेको अवस्था छ,’ उनले भने,’काठमाडौं, जोमसोम सँगै खुम्बु क्षेत्र भित्रै यात्रुको आउजाउ भएपछि उडान अवतरण संख्या वृद्धि भएको हो।’

मार्च महिना भर १२ वटा हिमाल आरोहणका लागि नेपाल पर्यटन विभागले १८१ आरोहीलाई अनुमति दिएको छ। विभिन्न हिमालमध्ये सगरमाथा आरोहणका लागि मात्र ४० जना विदेशी पर्यटकले अनुमति पाएको विभागले जनाएको छ।

विगतका वर्षहरुको तुलनामा यो वर्षको पहिलो सिजन मार्च, अप्रिल र मे महिनामा हिमाल आरोहीको संख्या ३० प्रतिशतले वृद्धि हुने विभागको प्रक्षेपण छ।

पर्यटक आगमन दर घटेको विषयमा चिन्ता भइरहँदा विगत एक महिनामा आशाप्रद तथ्यांक आएको छ। एक महिनाको अन्तरालमा करिब एक लाख विदेशी पर्यटक नेपाल भ्रमणका लागि आएका छन्।

सन् २०२३ सिजनको पहिलो महिनामै हवाईमार्ग हुँदै करिब एक लाख पर्यटकको आगमन भएको छ। यसमध्ये अमेरिकाबाट मात्रै ११ हजारभन्दा बढी पर्यटकको आवगमन भएको छ।

नेपाल पर्यटन बोर्डका अनुसार पर्यटकीय सिजनको सुरुआती महिना मानिने मार्चमा ९९ हजार ४ सय २६ जनाको आवागमन भएको हो। यो आवागमन दरले कोभिड अघिको ७८ प्रतिशत कायम गरेको बोर्डको दाबी छ।

यो महिना दक्षिण एसियाली पर्यटकपछि नेपाल आउनेमा अत्यधिक आवागमन युरोपबाट भएको बोर्डको विवरणमा उल्लेख छ। दक्षिण एसिया क्षेत्रबाट ३३ हजार ४ सय ५४ र युरोपबाट २३ हजार २ सय ६५ पर्यटकले नेपाल भ्रमण गरेका छन्।

दक्षिण एसियाली क्षेत्रका मुलुकमध्ये भारतबाट आउने पर्यटकको संख्या धेरै छ। एक महिनामा भारतबाट मात्र २५ हजार ९ सय ११ पर्यटक भ्रमणका लागि आएका छन्।