गाडी बेच्ने प्रतिस्पर्धासँगै विद्युतीय गाडी बिक्रेता सर्भिस सेन्टर बनाउन एग्रेसिभ, कसको कस्तो छ ?

शुक्र गिरी
२०७९ चैत्र १९ गते १९:२८ | Apr 2, 2023
गाडी बेच्ने प्रतिस्पर्धासँगै विद्युतीय गाडी बिक्रेता सर्भिस सेन्टर बनाउन एग्रेसिभ, कसको कस्तो छ ?


काठमाडौं। विद्युतीय सवारीसाधन बिक्री बढेपछि आधिकारिक बिक्रेताले सर्भिस सेन्टरमा एग्रेसिभ लगानी गर्न थालेका छन्। ब्राण्डप्रति उपभोक्ताको विश्वास बढाउन सर्भिस सेन्टरमा एग्रेसिभ लगानी बढाएका हुन्।

Tata
GBIME
Nepal Life

विद्युतीय गाडी बिक्री गरिरहेका टाटा, बीवाइडी, एमजी, हुण्डाईले छुट्टै सर्भिस सेन्टर बनाएर ग्राहक तान्ने प्रतिस्पर्धामा छन्। बिक्री पछिको सेवालाई राम्रो बनाउन सकेमा ब्राण्ड भ्यालु पनि बढ्ने र उपभोक्ताको पनि विश्वास बढ्ने भएकाले सर्भिस सेन्टरमा केन्द्रित भएको बीवाइडीको नेपालको आधिकारिक बिक्रेता साइमेक्स इन्ककी प्रवन्ध निर्देशक यमुना श्रेष्ठले बताईन्।

केही वर्ष अगाडिको कुरा बेग्लै थियो। कुनै पनि गाडी बेच्नु अघि विश्वास गर्ने वातावरण पहिला निर्माण गर्नुपर्छ। त्यसका लागि उत्पादन राम्रो गुणस्तर र त्यसका लागि आवश्यक स्पेयर पार्ट्स र सर्भिस सेन्टरहरु हुनु जरुरी भइसकेको छ,’ उनले बिजमाण्डूसँग भनिन्,’त्यसपछि मात्र बजारमा आफ्नो उत्पादन बजारीकरण र बिक्री गर्न सक्ने अवस्था हुन्छ।’

बीवाइडीले इभी डेडिकेटेड सर्भिस सेन्टर निर्माण गरेको छ। सर्भिस सेन्टर धोविघाटमा छ। यो सर्भिस सेन्टर ६ रोपनी जग्गामा निर्माण गरिएको छ। कम्पनीले स्पार्क कार रेन्टल कम्पनीसँग मिलेर यो सर्भिस सेन्टर संचालनमा ल्याएको हो।

उपत्यकामा रहेका बीवाइडीका गाडीहरुका लागि एकै स्थानबाट सबै सुविधा दिन यो सर्भिस सेन्टर संचालनमा ल्याइएको श्रेष्ठ बताउँछिन्। यो सर्भिस सेन्टरमा साइमेक्स र बीवाइडीले झन्डै साढे ४ करोड लगानीको गरेको श्रेष्ठको भनाइ छ।

यो सर्भिस सेन्टरमा २ वटा फास्ट चार्जर पनि राखिएको छ। सर्भिस सेन्टरमा एकै पटकमा ५ देखि ८ युनिटसम्म गाडीले सर्भिसिङ गर्नसक्ने कम्पनीका सर्भिस हेड सुशील तन्डुकारले बताए।

‘हामीले अहिले बीवाइडीको दैनिक ४ देखि ५ वटा गाडीहरुलाई सर्भिस प्रदान गर्दै आएका छौं,’ उनले भने, ‘हामी दैनिक २० वटासम्म गाडीलाई सर्भिस प्रदान गर्न सक्न क्षमतामा छौं।’

उनका अनुसार अहिले सर्भिसका लागि ६ महिनामा गर्ने सर्भिसिङका गाडी धेरै आउँछन्। यी गाडीहरुको सफ्टवेयर अपडेट र ब्रेक प्याड र केही आयलहरु परिवर्तन गर्नुपर्ने हुन्छ।

बिक्री पछिको सेवामा उत्कृष्ट रहेको सिप्रदी ट्रेडिङले विद्युतीय गाडीका लागि इको सिस्टम नै तयार पारिरहेको छ। सिप्रदीका सीओओ राजेश गिरीले आफ्नो कम्पनीको सिद्धान्त अनुसार विद्युतीय गाडीका लागि इको सिस्टम तयार पार्न कम्पनीले लगानी बढाइरहेको बताए। ‘हाम्रो कम्पनीको सिद्धान्त भनेकै बिक्रीपछिको सेवा उत्कृष्ट हुनुपर्छ भन्ने हो। ग्राहक सन्तुष्ट भए मात्रै हामीले गरेको व्यापारको अर्थ राख्छ,’ उनले भने, ‘त्यही भएर हामीले कर्मसियल र प्यासेन्जर भेहिकलजस्तै विद्युतीय गाडीको इको सिस्टममा ध्यान दिएर लगानी बढाइरहेका छौं।’

टाटाको गाडी बिक्री गर्ने सिप्रदी ट्रेडिङले नेपालमा २२०० भन्दा धेरै इभी बिक्री गरिसकेको छ।सिप्रदी नेक्सनमा प्रयोग हुने ब्याट्रीको केही सेलहरु यही मर्मत र परिवर्तन गर्न सक्ने क्षमतामा छ।

कम्पनीले नेपालमा गाडी बिक्री गर्नु अगावै विद्युतीय सवारीको लागि आवश्यक पर्ने सर्भिस सेन्टर, चार्जिङ स्टेसन र त्यसका लागि आवश्यक इको सिस्टम तयार पारेको थियो। अहिले इको सिस्टमलाई नेक्स्ट लेभलमा पुर्‍याउन काम गरिरहेको कम्पनीले जनाएको छ।

यसैगरी, हुन्डाईले पनि इको सिस्टम तयार गर्न काम गरिरहेको छ। कम्पनीले चार्जिङ स्टेसनहरुसहित त्यसका लागि आवश्यक सर्भिस सेन्टर र स्पेयर पार्ट्स उपलब्ध गराएको छ।

यस्तै, एमजी गाडीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले पनि सर्भिस सेन्टर र चार्जिङ स्टेसनमा लगानी गरेको छ। यसले पनि सर्भिस सेन्टरमा धेरै लगानी गरेको जनाएको छ। कम्पनीले नेपालको विभिन्न स्थानहरुमा चार्जिङ स्टेसन र डिलरसीप विस्तार गरेको छ।

डिलरलाई स्पेयर पार्ट्स, सर्भिस सेन्टर र चार्जिङ स्टेसन अनिवार्य

साइमेक्सले बीवाइडीको डिलरसीप लिनेहरुका लागि स्पेयर पार्ट्स, सर्भिस सेन्टर र चार्जिङ स्टेसन अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको यमुना बताउँछिन्।

यसभन्दा अघि डिलरसीप लिनेहरुले पनि इभी डेडिकेटेड सर्भिस सेन्टर निर्माण गरिसकेका उनले बताईन। ‘हामीले सबै डिलरहरुलाई नेपाली बजार हेरेर सोही बमोजिम सर्भिस सेन्टर र स्पेयर पार्ट्स समेत उपलब्ध गराएका छौं,’ उनले भनिन्, ‘हामीले यसरी हामीले भनेको जसरी सबै कुरा व्यवस्था नगर्ने डिलरलाई गाडी डेलिभरी नै गर्दैनौं।’

श्रेष्ठले स्टकमा स्पेयर पार्ट्स राख्नुपर्ने र बिक्री गर्ने स्थानहरुमा चार्जिङ स्टेसन र सर्भिस सेन्टरको व्यवस्था अनिवार्य गरिएको बताईन्। अहिले कम्पनीले नेपालभरी ९ वटा डिलरहरु बाट बीवाइडीको गाडी बिक्री गर्ने र सर्भिस प्रदान गर्ने गरेको उनले बताईन।

उत्पादक कम्पनीको प्राविधिक टोलीले ट्रेनिङ प्रदान

सिप्रदीमा आवद्ध रहेका सबै प्राविधिक टोलीलाई नेपाल आएर टाटाका प्राविधिकले तालिम दिएका छन्। सिप्रदीले अहिले आफुले पनि आफ्ना डिलर र इन्जिनियरहरुलाई इभी सम्बन्धित सबै कुरामा ट्रेनिङ प्रदान गरिरहेको छ।

यसैगरी, यसका लागि बीवाइडीको इन्जिनियर अर्थात प्राविधिक टिम दुई/दुई महिनाको अवधिका लागि ट्रेनिङ दिन नेपाल आउने गरेका छन्। यसमा उनीहरुले प्राविधिक मात्र नभई अन्य ननटेक्निकलको पनि तालिम दिने गरेका छन्।

हालसम्म बीवाइडीले नेपाली इन्जिनियरहरुलाई दुई महिनाको दुई पटक तालिम प्रदान गरिसकेको श्रेष्ठको भनाई छ। यसमा २० जना इन्जिनियरहरु विद्युतीय गाडी मर्मत गर्न सक्षम भएका उनले बताईन।

इभीको छुटै सफ्टवेयर सिस्टममा संचालन हुँदा त्यही अनुसारको प्राविधिक रुपमा दक्षता भएको मेकानिक आवश्यक पर्छ।

स्थानीय स्तरमा भएका सर्भिस सेन्टरका इच्छुक कर्मचारीलाई पनि बीवाइडीले नि:शुल्क रुपमा ट्रेनिङ दिरहेको छ। बीवाइडी चाइनाले पनि अन्तर्राष्ट्रिय स्तरको सर्भिसहरु प्रदान गर्न नेपाललाई पनि प्राथमिकतामा राखेको छ।

अहिले साइमेक्सले पनि डिलरसीप लिनेहरुका लागि इभीमा चाहिने सर्भिस सेन्टर, स्पेयर पार्ट्स र चार्जिङ स्टेसन निर्माण नगरेसम्म गाडी नदिने योजनामा काम गरिरहेको छ।

अहिले बीवाइडीको १०० किलोवाटको एटो ३ आइपुगेको छैन। तर स्पेयर पार्ट्सको लागि एलसी खोलिसकिएको अवस्था छ।