बजार र मागको अध्ययन बिना उद्योग खोल्दा लगानी जोखिममा पर्‍यो, ‘देखासिखीमा उद्योग खुले’

बिजमाण्डू
२०७९ चैत्र १५ गते १८:२८ | Mar 29, 2023
बजार र मागको अध्ययन बिना उद्योग खोल्दा लगानी जोखिममा पर्‍यो, ‘देखासिखीमा उद्योग खुले’


विराटनगर। उद्योगको स्थापना गर्दा त्यसका उत्पादनको बजार र मागको पर्याप्त अध्ययन गरिनुपर्ने धारणा पूर्वका व्यवसायीले राखेका छन्।

Tata
GBIME
Nepal Life

नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशद्वारा आयोजित ‘मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगको विगत र वर्तमान अवस्था’ विषयको अन्तरक्रियाका सहभागीले उत्पादनका बजार र मागको साङ्गोपाङ्ग अध्ययन नगरी उद्योग स्थापना गर्न नहुने विचार राखेका हुन्।

महासंघका नवनिर्वाचित प्रदेश अध्यक्ष राजेन्द्र राउतले बजार र मागको अध्ययन बिना उद्योग लगाए लगानीकर्ता ठुलो जोखिममा पर्ने बताए।

अध्यक्ष राउतले भने, ‘अहिले धेरै क्षेत्रमा बजारको मागभन्दा उद्योगको उत्पादन बढी छ। त्यसमा पनि निर्माण सामग्रीका उद्योगको अवस्था झनै खराब भएको छ। लगानीकर्ताले पर्याप्त अध्ययन नगरी रहर र देखासिकीमा उद्योगको स्थापना गर्दा यस्तो अवस्थाको सृजना भएको हो।’

राउतले सरकारले आन्तरिक उत्पादनको प्रयोगलाई प्राथमिकता दिने नीतिलाई अभ्यासमा नल्याउँदा स्वदेशी उद्योग अझ संकटग्रस्त भएको टिप्पणी गरे।

उनले भन्सार नीतिका समस्याले कुनै पनि वस्तुको कच्चा पदार्थ र त्यसको अन्तिम उत्पादनमा समान कर तथा शुल्क तिर्नुपर्ने अवस्थाले पनि उद्योगहरू जोखिममा परेको चर्चा गरे।

राउतको आरोप छ, ‘भन्सार छलेर आयात हुने अवस्थालाई सरकारी पक्षले नदेखेको जस्तो गरिरहेको छ। यसले गर्दा स्थानीय उत्पादनभन्दा आयातित बस्तुको बजार मूल्य कम भएको छ।’

अन्तरक्रियामा रिलाइन्स स्पिनिङ उद्योगका प्रबन्धक महेश पोखरेलले विश्वमै औद्योगिक क्रान्ति र आर्थिक विकासको प्रमुख आधार बनेको टेक्सटाइल उद्योग नेपालमा भने कहिल्यै नफस्टाएको गुनासो गरे।

प्रबन्धक पोखरेलले मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा सञ्चालित १० भन्दा बढी ठुला टेक्स्टाइल उद्योग बन्द भएको जानकारी दिए।

पोखरेलले दर्जनौँ चरणमा मूल्य अभिवृद्धि हुने र कृषिलगायतका औद्योगिक उत्पादनका विभिन्न चरणमा आय र रोजगारी सिर्जना गर्ने टेक्स्टाइल उद्योग बचाउने विषयलाई सरकारले प्राथमिकता दिनुपर्ने आग्रह गरे।

प्रगति टेक्स्टाइलका प्रदीप निरौलाले नेपाल सरकारले टेक्स्टाइल उद्योग बचाउन गैरकानुनी रूपमा गरिने कपडाको आयातलाई नियन्त्रण गर्नुपर्ने माग गरे।

निरौलाका अनुसार नेपालमा वार्षिक ८० करोड मिटर कपडाको माग भए पनि आन्तरिक उत्पादन करिब ६ करोड मिटर र आधिकारिक आयात करिब ४ करोड मिटर भएको तथ्यांक छ।

रघुपति जुट मिलका निर्देशक सोमनाथ अधिकारीले भारतले लगाएको एन्टी डम्पिङ ड्युटीका कारण नेपालका जुट उद्योगहरू रूग्ण हुँदै गएको गुनासो गरे।

निर्देशक अधिकारीले भारतमा कुल जुटका उत्पादनको बजारको २ प्रतिशत भन्दा कम हिस्सा नेपालका जुट उद्योगले ओगटेको उल्लेख गर्दै नेपाल सरकारले पर्याप्त कूटनीतिक पहल गर्न नसक्ता नेपालका उत्पादनको निर्यातमा अवरोध भइरहेको स्पष्ट पारे।