
काठमाडौं। सरकारले विद्युतीय गाडी संचालनको लागि भनेर ५७ करोडमा खरिद गरी नेपाल भित्र्याएको ३७ वटा साझाको बस चार महिनादेखि थन्किएका छन्।
साझाले उक्त बस ५७ करोडमा किने चीनबाट खरिद गरेर नेपाल ल्याएको थियो। यसको नेपाली कम्पनी दिगोले साझालाई सो बसहरु खरिद गरेर दिने जिम्मा पाएको थियो। अहिले बससँगै किनिएका १८ वटा चार्जर पनि प्रयोगविहीन भएका छन्।
सरकारले चार्जिङ स्टेशनका लागि आवश्यक जग्गा नदिँदा विद्युतीय बस चल्न नसकेको साझाको आरोप छ। साझाको सो बसहरु गत कात्तिकमा नै नेपाल भित्र्याइएको थियो।
गत असारमा साझाले गरेको ३ वटा विद्युतीय बस संचालन गरेको थियो। ३७ वटा बसका लागि आवश्यक चार्जिङ स्टेशन नभएपछि चल्न नसकेका हुन्। साझाले चार्जिङ स्टेशन बनाउन हरिहर भवनको इन्धन बसको पार्किङ अन्यत्र सार्नुपर्ने भन्दै सरकारसँग जग्गा मागेको थियो। तर सरकारले यो मागलाई वेवास्ता गर्यो।
साझाका सीइओ महेन्द्रराज पाण्डेका अनुसार चार्जिङ स्टेशनका लागि आवश्यक जग्गा व्यवस्थापन भइरहेको छ।
‘हामी बसहरु पनि चेकजाँच गरिरहेका छौं। यसका साथै जग्गाको लागि सरकारसँग छलफल भइरहेका छन्,’ उनले भने, ‘यसले केही निचोड ल्याउँला भन्ने हाम्रो विश्वास रहेको छ।’
उनका अनुसार सबै बसहरु चेकजाँच सम्पन्न भएपछि रुट परमिट लिएर गाडी संचालन गरिनेछ।
नेपाल टेलिकमले प्रयोग गरिरहेको साझाको जग्गा खाली गर्ने प्रक्रिया पनि अगाडि पाण्डेले बताए। साझाले १८ वटा चार्जर पछिल्लो पटक ल्याएको छ। यसअघि २ वटा चार्जर ल्याएको थियो। दुई वटा चार्जर साझाको यार्डमा राखिएका छन्।
अन्य १८ वटा चार्जर राख्नको लागि जग्गा नहुँदा बस संचालन हुन नसकेको पाण्डेको जिकिर छ। उनका अनुसार एउटा चार्जरले दुई वटा बसहरु चार्ज गर्न सकिन्छ। यसरी बसहरु चार्ज गर्न पार्किङ सहितको जग्गा आवश्यक पर्ने उनी बताउँछन्।
तर साझाका एक कर्मचारीका अनुसार अहिले अस्थायी रुपमा साझाको यार्डमा नै निर्माण गर्ने योजना रहेको छ। त्यसका लागि आवश्यक ट्रान्समिटरहरु उपलब्ध गराउन नेपाल विद्युत प्रधिकरणलाई पत्र काटिएको छ।
नेपाल टेलिकमसँग पनि अलिकति ठाउँ लिएर साझाकै यार्डमा अस्थायी रुपमा चार्जिङ स्टेसन निर्माण गर्ने योजनामा साझा छ।

बसहरुमा प्राविधिक समस्या
साझाका एक इन्जिनियरका अनुसार यी बसहरु टेस्टिङ गर्दा केही प्राविधिक समस्या देखिएको छ। ‘अहिले यी सबै बसहरुको टेस्टिङको काम भइरहेको छ। टेस्टिङ गर्दा बसहरुमा प्राविधिक समस्याहरु देखिएका छन्,’ उनले भने।
प्राविधिक रुपमा कमजोर रहेका बस संचालन कसरी गर्ने भन्ने समस्या परेको एक इन्जिनियरले बताए।
‘ब्याट्रीले दिने तापक्रम, ड्राइभिङ अवस्था र ड्राइभरको ड्राइभिङ प्याटर्न अनुसार फरक हुन्छ। कहिले वाटर पम्पको समस्या आएको छ। वाटर पम्पमा समस्या आएर हिटिङ भएको छ,’ ती इन्जिनियरले भने, ‘ केही गाडीले सम्झौता अनुसारको रेन्ज दिएको छैन।’