भारु अझ सस्तो भयो, भारु १ सय माथिका नोट साट्नुपर्दा १५० को रेट चल्दै

अनन्तराज न्यौपाने
२०७९ फागुन २१ गते १८:४४ | Mar 5, 2023
भारु अझ सस्तो भयो, भारु १ सय माथिका नोट साट्नुपर्दा १५० को रेट चल्दै

काठमाडौं। सन् २०२३ लागेपछि नेपालका दक्षिण सीमावर्ती क्षेत्रमा सस्तो भएको भारतीय रुपैयाँको अवस्था दुई महिना बितिसक्ता अझ सस्तो भएको छ ।

Tata
GBIME
Nepal Life

भारतीय २ र ५ सयको नोटलाई स्थानीय बजार, होटल र रेस्टुरेन्टले नेरु १५० का हिसाबमा साट्न थालेपछि अझ सस्तो भएको पाइएको हो ।

यसअघि पुसको दोस्रो सातादेखि भारु १ सयभन्दा माथिका नोट नेरु १५५ देखि १५८ का दरमा कारोबार भइरहेका थिए । तर फागुनको दोस्रो सातादेखि रेट ह्वात्तै घटेर १५० मा आइपुगेको छ ।

नेपाल राष्ट्र बैंकले गरेको निर्धारणअनुसार १ सय भारुको नेरु १६० हुन्छ । जसअनुसार ५ सय भारुको ८ सय हुन्छ । तर विराटनगर र सीमापारि जोगबनीको बजारमा भारु ५ सयका नोटको १५० का हिसाबले नेरु ७५० मा प्रचलनमा ल्याइएको छ । त्यस्तै भारु २ सयको नोटको नेरु ३२० हुनुपर्नेमा ३०० मा मात्र कारोबार भइरहेको छ ।

विराटनगरको बिग होटलका क्यासियर उद्धव भट्टले नेपाली ग्राहक पनि भारु बोकेर आउन थालेको जानकारी दिए ।

क्यासियर भट्टका अनुसार स्थानीय सटही काउन्टरले नै भारुको मूल्य १५० भन्दा बढी दिँदैनन् । त्यसैले १५० का हिसाबले साट्न बाध्य परेको हो ।

जोगबनीको कलकत्ता क्लोथका सञ्चालक श्याम तापडियाले कारोबारीले अहिले नेरु १५० का दरमा भारु २ सय र ५ सयका नोट दिइरहेको जानकारी दिए ।

त्यस्तै जोगबनीकै हरियाना फैन्सी स्टोरका नरेन्द्र गोयलले पनि आफ्नो पसलले भारु १ सयभन्दा माथिका नोट नेरु १५० का हिसाबले खरिद गरिरहेको पुष्टि गरे ।

विराटनगरको विदेशी सामग्रीको पसल सञ्जय ट्रेडर्सका सञ्चालक अजय वैद्यले भारुको बढ्दो कारोबारले व्यवसाय गर्न कठिन भइरहेको बताए ।

‘नेपाली ग्राहक पनि भारु लिएर आउन थाले’, व्यवसायी वैद्यले भने, ‘तिनलाई सामान नबेचूँ भने ती ग्राहक अर्को पसलमा जान्छन् । बेचूँ भने भारु थुप्रिएर बस्छ । हिजोआज डिलर र होलसेलरलाई बैंकबाटै भुक्तानी पठाउनुपर्छ । तर बैंकले भारु लिन मानिरहेका छैनन् । त्यसैले मालवस्तुको विक्री हुँदा पनि समस्या आउन थालेको छ ।’

विराटनगरका दुई ठुला क्यासिनोले भने भारुको मूल्य जति घटबढ भए पनि आफूलाई असर नपर्ने बताए ।

होटल रत्नामा सञ्चालित सम्राट् क्यासिनोका सञ्चालक लक्ष्मण बोहराले आफ्नो क्यासिनोमा लिनेदिने कारोबार भारुमै भइरहेकाले नेरुसित खासै मतलब नहुने स्पष्ट पारे ।

‘हामीकहाँ क्यासिनो खेल्न आउने सबै भारतीय नै हुन्’, बोहराको भनाइ थियो, ‘उनीहरूले हामीलाई तिर्नुपर्यो भने भारुमै तिर्छन् र हामीले उनीलाई दिनुपर्दा भारुमै दिन्छौँ । यसरी भारुमै विनिमय हुँदा यसको दरसित हामीलाई खासै मतलब हुँदैन ।’

त्यस्तै होटल बिगका क्यासिनो सञ्चालक रामकृष्ण गौतमले पनि आफ्नो क्यासिनोमा सबै कारोबार भारतीय मुद्रामै भइरहेकाले नेरुको दरसित क्यासिनोको खासै चासो नरहने जिकिर गरे ।

विराटनगरमा भारतीय बिरामीलाई लक्षित गर्दै ८ वटा आँखा अस्पताल सञ्चालनमा छन् । तिनमा रामलाल गोल्छा, सञ्जीवनी, विराट, विराटनगर, हाजी, दिव्यज्योति, हिमाल र तापडिया आँखा अस्पताल हुन् ।

त्यस्तै नोबेल, विराट, विराटनगर, न्युरो, आर्या न्युरो, मोरङ सहकारी, गोल्डेन, सप्तकोसी, कोसी, सुरक्षा, हाम्रो लगायत १ दर्जनभन्दा बढी अस्पताल सञ्चालनमा छन् । यी सबै आँखा अस्पताल र आँखा अस्पतालमा ५० प्रतिशतभन्दा बढी बिरामी छिमेकी भारतबाट आउँछन् ।

एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपालका कोशी प्रदेशका सचिव एवम् विराट आँखा अस्पतालका सञ्चालक प्रकाश दाहालले भारु कहाँ राख्नु, कता थन्क्याउनु भएको प्रतिक्रिया दिए ।

दाहालले भने, ‘भारु १ सयभन्दा बढीका नोट नेपालमा प्रचलनमा ल्याउन नपाइने कानुनी व्यवस्था भए पनि सबैले चलाएकै छन् । म मात्र चलाउँदिन भन्यो भने व्यवहार र कारोबार नै चल्दैन ।’

दाहालले १० दिनयता १ सय भारुको दर नेरु १५० भएको पुष्टि गरे ।

विराटनगरका वाणिज्य बैंकले २ महिना यता भारु नोट लिन आउनेको संख्या नगण्य भएको जानकारी दिएका छन् ।

विराटनगरमा नबिल लगायतका केही निजी बैंकले आफ्ना खातावालालाई सरकारी दरमा भारु उपलब्ध गराउँदै आएका छन् ।

ती बैंकको भारुको स्रोत पूर्वका अस्पतालहरू हुन् । ती अस्पतालमा आउने १ सय दरका नोट मात्र बैंकले स्वीकार गर्ने गर्छन् ।

विराटनगरको नबिल बैंकका प्रबन्धक समीर श्रेष्ठले २ महिनायता बैंकमा भारु साट्न आउनेको संख्या घट्तै गएर अहिले नगण्य भइसकेको स्पष्ट पारे ।

कारबाहीको प्रावधान छैैन
भारुको सरकारी दर १६० भए पनि १५० मा खरिद गर्ने नेपालीलाई कारबाही गर्न नसकिने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका सूचना अधिकृत नारायणप्रसाद पोखरेलले कसैले भारु १ सय खरिद गर्दा १६० का दरले भन्दा कमले खरिद गर्छ भने त्यस्तो कारोबारीलाई कारबाहीको कुनै प्रावधान नभएको स्पष्ट पारेका हुन् ।