विकसित देशहरुको कसिलो मौद्रिक नीतिले नेपाल जस्ता देशहरुको अर्थतन्त्र सुधार सुस्त: अर्थमन्त्री पौडेल

बिजमाण्डू
२०७९ माघ २५ गते १६:०१ | Feb 8, 2023
विकसित देशहरुको कसिलो मौद्रिक नीतिले नेपाल जस्ता देशहरुको अर्थतन्त्र सुधार सुस्त: अर्थमन्त्री पौडेल

काठमाडौं। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकसित देशहरुले अपनाएको कसिलो मौद्रिक नीतिले नेपाल जस्ता कम विकसित देशको अर्थतन्त्र सुधारको गतिलाई सुस्त बनाएको बताएका छन्।

Tata
GBIME
Nepal Life

अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआइडी) का प्रशासक सामन्था पावरसँगको भेटमा अर्थमन्त्री पौडेलले उक्त भनाइ राखेका हुन्। यस्तै, गत वर्ष दुई देशबीचको कुटनीतिक सम्बन्धको ७५‌औं वर्षगाँठ मनाइएको स्मरण गर्दै अर्थमन्त्री पौडेलले द्विपक्षीय सम्बन्धलाई अझ सुमधुर तुल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

नेपालले सन् १९५१ मा प्वाइन्ट फोर प्रोग्रममा हस्ताक्षर गरेपछि पहिलो पटक वैदेशिक सहायता प्राप्त गरेको र हालसम्म आइपुग्दा दुई देशबीचको विकास साझेदारीले नयाँ उचाइ प्राप्त गरेको युएसएआइडीमार्फत विस्तार भएको जी टु जी सहयोग प्रमाण भएको पौडेलको भनाइ छ।

त्यसैगरी, विश्वको साझा समस्याको रुपमा रहेको जलवायु परिवर्तनले अरु बोझ थपेको धारणा अर्थमन्त्री पौडेलले व्यक्त गरे।

नेपालको सार्वजनिक वित्त प्रणालीलाई विश्वास गरेर सिधैं सरकारको कोषमा सहायता प्रदान गर्ने अमेरिकी सरकारको नीतिको प्रशंसा गर्दै पौडेलले नेपालले सन् २०२२ को मेमा युएसएआइडीसँग द्विपक्षीय सहायता सम्झौतामा हस्ताक्षर गरेपछि आगामी पाँच वर्षमा कुल ६५९ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता नेपालको बजेट प्रणालीमार्फत उपयोग गर्ने बताए।

युएसएआइडी प्रशासक सामन्था पावरले नेपालमात्र जीटुजी सहायता प्राप्त सहायता परिचालन गर्ने देश भएको जानकारी दिइन्।

यस्तै, अर्थमन्त्री पौडेलले २०७२ सालमा नयाँ संविधान जारी भएसँगै जनताको मौलिक हकहरुको प्रत्याभूति गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पना लिएर विकासको पथमा अघि बढिरहेको बताए।

सो अवसरमा सहायताका अतिरिक्त वैदेशिक निजी क्षेत्रको लगानी उपयोग गरी नेपाल जलस्रोत विकासका क्षेत्रमा दक्षिण एशियामै क्लिन इनर्जीको स्रोत बन्न सक्ने सम्भावना रहेको कुरा व्यक्त गरे।

भेटघाटको क्रममा नेपालका लागि अमेरिकी राजदूत, युएसएआइडी नेपालका मिसन डाइरेक्टर लगायतको उपस्थिति थियो।