सेयर बजारमा २१ कारोबार दिन यताकै कम कारोबार, लगानीकर्ता पर्ख र हेरको अवस्थामा

बिजमाण्डू
२०७९ माघ १७ गते १५:३१ | Jan 31, 2023
सेयर बजारमा २१ कारोबार दिन यताकै कम कारोबार, लगानीकर्ता पर्ख र हेरको अवस्थामा


काठमाडौं। केही दिनयता बजार निरन्तर घट्न थालेपछि नाफा बुक गरेर बाहिरिने लगानीकर्ता सक्रिय भएका छन्। मंगलबार पनि सेयर बजार दोहोरो अंकले घट्न पुग्यो। पछिल्लो चार कारोबार दिन यता नेप्से ७१.९९ अंकले घटिसकेको छ।

Tata
GBIME
Nepal Life

जानकारहरुका अनुसार राजनीतिक चहलपहल र राष्ट्र बैंकको मौद्रिक नीति समीक्षाको प्रभाव बजारमा देखिएको हो। आर्थिक सूचकहरु सकारात्मक हुँदै गएपनि मौद्रिक नीतिको समीक्षा अघि महँगो पैसा हालेर सेयर किन्न लगानीकर्ता हिचकिचाइरहेको उनीहरुको तर्क छ।

‘मौद्रीक नीतिको समीक्षा अघि लगानीकर्ताले महँगोमा सेयर किन्न हिचकिचाइरहेका छन्। राजनीतिक परिदृश्य बदलिइरहेको छ। धितोपत्र बोर्डका अध्यक्षका बारेमा आएको समाचारले पनि लगानीकर्ता त्रसित छन्। आज यिनै कुराले बजार प्रभावित बनाएको हो।’ एक मर्चन्ट बैंकका कार्यकारी अधिकृतले भने।

मंगलबार नेप्से परिसूचक १५.७४ अंकले घटेर २१११.६३ बिन्दुमा झरेको छ। यस्तै सेन्सेटिभ पनि २.३८ अंकले घटेको हो।

सेयर बजारमा लगानीकर्ता पर्ख र हेरको अवस्थामा बसेपछि कारोबार भने हवात्तै घटेको छ। मंगलबार २ अर्ब ८२ करोडको सेयर कारोबार भएको हो। यो कारोबार पछिल्लो २१  कारोबार दिन यताकै सर्वाधिक कम हो। सोमबार बजार ४१ अंकले घटेपनि बिक्रेता बढ्दा ३ अर्ब ३० करोडमाथिको सेयर किनबेच भएको थियो।

कारोबारका आधारमा रिडी पावर कम्पनी अग्र स्थानमा छ। कम्पनीले गत आर्थिक वर्षका लागि लगानीकर्तालाई वितरण गर्न लागेको ४२ प्रतिशत लाभांशका लागि बुधबार बुक क्लोज मिति तोकेको छ। मंगलबारसम्म कायम सेयरधनीले मात्र यस कम्पनीले वितरण गर्ने लाभांश पाउँछन्। यसैले आज यस खरिदबिक्री उच्च बनेको हो।