
काठमाडौं। हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल) ले बोलकबोलमार्फत ठूलो परिणाममा पुन: हकप्रद सेयरको बिक्री खुलाउने भएको छ।
कम्पनीले २ करोड २१ लाख ९७ अजार ३२५ कित्ता हकप्रद सेयर बोलकबोल(मूल्य बढाबढ) गरी बिक्री गर्ने भएको हो।
यस कम्पनीले भदौ २० गतेबाट असोज ४ गतेसम्म संस्थापक समुहको २ करोड ३२ लाख बढी हकप्रद सेयर बोलकबोल मार्फत निष्कासन तथा बिक्री गरेको थियो। तर उक्त समय सो सेयरका लागि लगानीकर्ताहरुबाट १० लाख ७ हजार कित्ताका लागि मात्र आवेदन पर्यो। तसर्थ बाँकी रहेको हकप्रद सेयर कम्पनीले पुन: बिक्री गर्ने भएको हो।
कम्पनीले निष्कासन गर्ने हकप्रदमा माघ २२ गतेबाट आवेदन दिन सकिन्छ। सेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति, संस्था अथवा कम्पनीले माघ ८ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।
सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। तसर्थ आवेदन दिँदा सो मूल्य वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ।
सेयर खरिदको आवेदन न्यूनतम १०० कित्ता र अधिकतम एउटा व्यक्ति वा संस्थाले खरिद गर्न पाउने गरी तोकेको अधिकतम सीमा भन्दा बढी नहुने गरी पेश गर्नुपर्ने बताइएको छ। तर ५ लाख भन्दा बढीको सेयर खरिदका लागि आवेदन दिनेले अनिवार्य रुपमा आफ्नो प्यान नं. आवेदन फारममा उल्लेख गर्नुपर्ने छ।