ओटीसी कारोबार अनलाइनमा रुपान्तरण हुँदै, एक साताभित्र सफ्टवेयर उत्पादकसँग सम्झौता

अन्जना सुवेदी/बिजमाण्डू
२०७९ मंसिर १४ गते १३:२५ | Nov 30, 2022
ओटीसी कारोबार अनलाइनमा रुपान्तरण हुँदै, एक साताभित्र सफ्टवेयर उत्पादकसँग सम्झौता

काठमाडौं। नेपाल स्टक एक्सचेन्जले ओभर द काउन्टर(ओटीसी) कारोबारलाई पनि अनलाइन प्रणालीमा रुपान्तरण गर्ने भएको छ। योसँगै कागजी आधारमा हुने कारोबार अनलाइनबाट गर्न सकिन्छ। तर त्यसका लागि केही समय भने कुर्नुपर्नेछ।

Tata
GBIME
Nepal Life

भौतिकरूपमा उपस्थित भएर कारोबार गर्नुपर्ने भएकाले ओटीसीमा लगानीकर्ताको सहभागिता छैन।

'ओटीसी कारोबार अनलाइन प्रणालीबाटै संचालन हुँदैछ,' नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले बिजमाण्डूसँग भने,'यसका लागि एक साताभित्र सफ्टवेयर उत्पादकसँग सम्झौता हुँदैछ।'

ओटीसी मार्केटमा समग्र बजारको घटबढले खासै असर गर्दैन। यो बजारमा नेप्सेमा सूचीकृत नभएका तथा हुन नसकेका कम्पनीहरुको सेयर खरिदबिक्री हुन्छ।

अहिले ओटीसी बजारमा सेयर किन्ने तथा बेच्ने दुवै लगानीकर्ता नेप्सेमा आउनुपर्ने बाध्यता छ भने सबै कामहरु कागजी नै गर्नुपर्छ। हाल यो बजारमा १७३ कम्पनी सूचीकृत छन्। तर यतिधेरै कम्पनी सूचीकृत भए पनि भौतिक रुपमा खरीदबिक्री गर्नुपर्ने बाध्यता भएकाले लगानीकर्तामा आकर्षण कम छ।

नेप्सेका सहायक प्रबन्धक सुरेश जोशीले भने 'अहिले किन्ने-बेच्ने दुवै नेप्सेमा आउनु पर्छ। अनलाइन नहुँदा लगानीकर्ताको सहभागिता पनि छैन। त्यसैले अहिले महिनामा जम्मा ५ देखि ८ वटा कम्पनीको मात्र कारोबार हुन्छ।' उनका अनुसार टीएमएसबाट कारोबार गर्न नमिल्ने भएकाले छुट्टै प्रणाली ल्याउने तयारी छ।

नेप्सेमा सूचीकृत नभएका कम्पनीहरुको सेयर किनबेच हुने ठाउँ नै ओटीसी मार्केट हो। सामान्यता यस्तो बजारमा नेप्सेमा सूचीकरण हुन नसकेका, सूचीकरणबाट हटाइएका तथा योग्य हुन नसकेका कम्पनीहरूको कारोबार हुने गर्छ।