उद्योग व्यवसाय बारे महासंघको सर्वेक्षण: निर्माण ३०% मात्र सञ्चालन, पुँजी बजारमा ४०% को क्षति

बिजमाण्डू
२०७९ मंसिर १३ गते १७:०० | Nov 29, 2022
उद्योग व्यवसाय बारे महासंघको सर्वेक्षण: निर्माण ३०% मात्र सञ्चालन, पुँजी बजारमा ४०% को क्षति

काठमाडौं। नेपाल उद्योग बाणिज्य महासंघले निर्माण क्षेत्र अन्तर्गत सिमेन्ट, फलामे छड लगायतका उद्योगहरु औसत ३० प्रतिशत क्षमतामा चलिरहेको जनाएको छ।

Tata
GBIME
Nepal Life

मंगलबार पत्रकार सम्मेलन गर्दै महासंघले दैनिक उपभोग्य सामानहरुको बिक्री १८ प्रतिशत घटेको जनाएको छ।

महासंघले अहिले उद्योग व्यवसायको अवस्थाका बारेमा आन्तरिक सर्वेक्षण गरेको थियो। त्यसैको विवरण सार्वजनिक गर्दै महासंघका अध्यक्ष शेखर गोल्छाले विद्युतीय उपकरणको कारोबार ५५ प्रतिशतले संकुचन आएको बताए। अटोमोबाइल आयात प्रतिवन्ध हुँदा सबैभन्दा बढी असर परेको भन्दै उनले करिब ७५ प्रतिशतले कारोबार घटेको जानकारी दिए।

सेवा क्षेत्रमा बीमा सबैभन्दा बढी प्रभावित भएको भन्दै उनले यसमा अन्य उद्यम व्यवसायमा परेको नकारात्मक असरको प्रभाव परेको बताए।

करिब ३० प्रतिशतले बीमा व्यवसायमा संकुचन आएको महासंघले जनाएको छ।

पर्यटन सिजनमा ठूला होटलहरुको कारोबारमा सुधार देखिएपनि देशभरी कै औसत हेर्दा अकुपेन्सी ३० देखि ४० प्रतिशतमात्रै रहेको छ। रेष्टुरेन्टमा ग्राहक संख्या करिब २० प्रतिशत हाराहारी घटेको महासंघको सर्वेक्षणले देखाएको छ। गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको चार महिनाको तथ्याङ हेर्दा घर जग्गा कारोबार ४८ प्रतिशत र पूँजी बजारमा करिब ४० प्रतिशतको गिरावट आएको छ।

यसरी बजार संकुचित हुँदा चालु आर्थिक बर्षको तीन महिनामा राजस्व १९ प्रतिशतले घटेको छ। संकलित राजस्व भन्दा चालु खर्च नै १७ अर्ब बढी भएको छ।

वर्षको अन्त्यसम्म यसैगरि खर्च बढिरहने तर राजस्व संकलन नहुने हो भने आन्तरिक वा वाह्य ऋण लिएर सरकारी कर्मचारीलाई तलब खुवाउनुपर्ने अवस्था आउनेछ। त्यो ऋण पनि अन्ततः सर्वसाधारणले तिर्नुपर्ने महासंघले जनाएको छ।