मौद्रिक नीति समिक्षालाई सेयर बजारको उल्टो ‘रेस्पोन्स’, स्प्रेड घट्दा पनि किन बढेन बजार ?

बिजमाण्डू
२०७९ मंसिर १२ गते १५:३६ | Nov 28, 2022
मौद्रिक नीति समिक्षालाई सेयर बजारको उल्टो ‘रेस्पोन्स’, स्प्रेड घट्दा पनि किन बढेन बजार ?

काठमाडौं। स्प्रेडदर घटाएर ब्याजदरमा लगाम लगाउने गरि मौद्रिक नीति समिक्षा सार्वजनिक हुँदा पनि सेयर बजार घटेको छ। राष्ट्र बैंकले त्रैमासिक मौद्रिक समिक्षापछि बैंक तथा वित्तीय संस्थाको स्प्रेड घटाएको थियो।

Tata
GBIME
Nepal Life

यो व्यवस्थाले बैंक तथा वित्तीय संस्थाको ब्याजदर तय गर्दा लिने प्रिमियम दर घटेर कर्जाको ब्याजदरमा लगाम लाग्ने अवस्था हुँदा पनि सेयर बजारले भने उल्टो 'रेस्पोन्स' गरेको छ। यो मात्रै होइन बैंकिङ प्रणालीमा निक्षेप बढ्न थालेको छ।

गत साताकै तथ्यांक हेर्ने हो भने पनि ३ अर्ब ७० करोड निक्षेप थपिएको छ। त्यति मात्रै होइन केही समय अघि राष्ट्र बैंकले रेमिटेन्स प्रवाह बढेको र  शोधानान्तर स्थिती समेत सकारात्मक बनेको तथ्यांक समेत सार्वजनिक गरिसकेको छ।

यी सबै कारणले बजारमा मनोवैज्ञानिक रुपमा बजार बढ्नु पर्ने हो। तर सोमबार सेयर १५.६१ अंकले घट्यो। नेप्से परिसुचक १९५०.३७ विन्दुमा ओर्लिएको छ। नेपाल इन्भेष्टर फोरमका पूर्व अध्यक्ष छोटेलाल रौनियार भने मौद्रिक समिक्षा अपेक्षा अनुसार नआएको र स्प्रेडले तत्कालै ब्याजदर नघट्ने भएकाले बजारले उल्टो रेस्पोन्स गरेको बताउँछन्।

'लगानीकर्ता तथा व्यवसायीले तत्काल नै व्याजदर सम्बोधन गर्ने खालको मौद्रिक नीति आउने अपेक्षा गरेका थिए। तत्कालै नभएपनि केही समयपछि एक/डेढ प्रतिशत व्याजदर घट्न सक्छ तर व्याजदर बढ्दैन,' रौनियारले भने, 'मौद्रिक नीति नेगेटिभ छैन तर अपेक्षा अनुसारको पनि छैन्।'  सोमबार सेयर कारोबार भने १ अर्ब ४९ करोड रुपैयाँको मात्रै भएको छ। आइतबार २ अर्ब २ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।