असोजमा बीमा सरेण्डर गर्नेको संख्या घट्यो, ७७ करोड ३२ लाख रुपैयाँको पोलिसी सरेण्डर 

सरला सुवेदी/बिजमाण्डू
२०७९ मंसिर ११ गते १७:३९ | Nov 27, 2022
असोजमा बीमा सरेण्डर गर्नेको संख्या घट्यो, ७७ करोड ३२ लाख रुपैयाँको पोलिसी सरेण्डर 

काठमाडौं। चालु आर्थिक वर्षको असोज महिनामा जीवन बीमा कम्पनीहरुमा पोलिसी सरेण्डर गर्नेको संख्या घटेको छ। नेपाल बीमा प्राधिकरणले जारी गरेको असोज महिनाको तथ्यांकमा गत महिनाको भन्दा करिब २ हजार संख्याले घटेको हो।

Tata
GBIME
Nepal Life

असोजमा १९ जीवन बीमा कम्पनीहरुमा ७७ करोड ३२ लाख रुपैयाँको ६ हजार ६३ वटा बीमा पोलिसी समर्पण भएको छ। चालु आर्थिक वर्षको साउनमा एक अर्ब ५१ करोड रुपैयाँको ८ हजार ४ सय २२ वटा र  भदौमा एक अर्ब १४ करोड रुपैयाँको ८ हजार ५२ वटा बीमा समर्पण भएको थियो। गत वर्षदेखि बीमा सरेण्डर गर्नेको संख्या बढ्दै गएपनि चालु आर्थिक वर्षको भदौ र असोजमा भने संख्या घटेको छ।

हाल बीमितले तीन वर्ष यता बीमा सरेण्डर गर्न नपाइने प्रावधान छ। तर पनि बीमा कम्पनीहरुमा बीमा पोलिसी त्याग गर्नेको संख्या कम हुन सकेको थिएन। बीमा सरेण्डर गर्नको संख्या बढ्दै गएपछि नेपाल बीमा प्राधिकरण र जीवन बीमा कम्पनीहरुले यसलाई कम गर्न तयारी गरिरहेका छन्। 

बीमा कम्पनीका अभिकर्ताहरुले आफ्नो टार्गेट पुरा गर्न धेरै भन्दा धेरै  पोलिसी बिक्री गर्ने गर्छन्। जसले गर्दा बर्षैनी प्रिमियम तिर्ने क्षमता नहुँदा बीमा पोलीसी खरीद गरेको पहिलो वर्ष जसोतसो प्रिमियम तिरेका बीमितले दोस्रो वर्षदेखि पोलीसी नविकरण गर्दैनन्। 

केही अभिकर्ताले एक कम्पनीबाट बीमा सरेण्डर गर्न लगाएर अर्को कम्पनीमा लैजाने प्रवृति पनि बढेको छ भने  बीमाबारे पूर्ण जानकारी नहुने कारणले गर्दा पनि पोलीसी सरेण्डर संख्या बढ्न थालेको प्राधिकरणले जनाएको छ।  

केही समयदेखि बैंकको ब्याजदर बढ्न थालेपछि बीमितहरुले बीमा सरेण्डर गरेर सो रकम बैंकतर्फ लगानी गर्न थालेको बीमा कम्पनीहरुले जनाएका छन्।

कुन कम्पनीमा कति भयो सरेण्डर ?

 असोजमा सबै भन्दा धेरै बीमालेख समर्पण नेपाल लाइफ इन्स्योरेन्समा भएको छ। कम्पनीमा अघिल्लो महिनाभन्दा  समर्पणको संख्या  र रकम दुबै घटेको प्राधिकरणको तथ्यांकले देखाएको छ। कम्पनीको २८ करोड रुपैयाँको २ हजार ६४ वटा बीमा समर्पण भएका छन्। गत महिना कम्पनीको ४१ करोड २९ लाख रुपैयाँको २९ सय ५६ वटा बीमालेख समर्पण भएको थियो।

लाइफ इन्स्योरेन्स कम्पनीको १० करोड ९१ लाख रुपैयाँको ३ सय ७५ वटा बीमा समर्पण भएको छ। गत भदौमा  २८ करोड रुपैयाँ १३ सय १८ वटा बीमालेख त्याग भएका छन्।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ७ करोड ९७ लाख रुपैयाँको ६ सय ५५ वटा  बीमालेख समर्पण भएका छन्। कम्पनीको सरेण्डर रकम गत महिनाको भन्दा आधा घटेको छ।

राष्ट्रिय बीमा संस्थानमा ९ करोड ६० लाख रुपैयाँको १४ सय ७३ वटा बीमालेख समर्पण भएको छ। कम्पनीको सरेण्डर संख्या गत महिनाको भन्दा बढेको हो। भदौमा कम्पनीको ६० करोड  रुपैयाँको ५ सय ५३ वटा बीमालेख समर्पण भएको थियो।

सुर्या लाइफको ५ करोड रुपैयाँको १ सय ४५ वटा बीमा पोलिसी सरेण्डर भएको छ। एशियन लाइफ इन्स्योरेन्समा ४ करोड ३८ लाख रुपैयाँको ५ सय ८ वटा  सरेण्डर भएको छ। सिटिजन लाइफको २ करोड ९३ लाख रुपैयाँको ६२ वटा पोलिसी सरेण्डर भएको छ। मेट लाइफ इन्स्योरेन्सको २ करोड ७३ लाख रुपैयाँको २ सय ७६ वटा बीमा समर्पण भएको छ।

गुराँस लाइफको एक करोड १० लाख रुपैयाँको ९६ वटा, युनियन लाइफको ९९ लाख रुपैयाँको ४९ वटा बीमालेख, ज्योति लाइफको ८९ लाख रूपैयाँ बराबरको ५३ वटा बीमालेख ,रिलायन्स लाइफ इन्स्योरेन्सको ४२ लाख रुपैयाँ ४५ वटा बीमालेख,  रिलायबल लाइफको ३७ लाख, सानिमा लाइफको ३८ लाख, प्रभु लाइफको ४१ लाख, महालक्ष्मी लाइफ इन्स्योरेन्सको २७ लाख र सबै भन्दा कम आइएमई लाइफको २० लाख रुपैयाँ गरी कुल ७७ करोड ३२ लाख रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको प्राधिकरणले जनाएको छ ।