ट्‍वीटरमा भेरिफिकेसनको नयाँ सेवा शुक्रबारदेखि, मस्क भन्छन् ‘प्रयोगकर्तालाई जानकारी दिन्छौं’

बिजमाण्डू
२०७९ मंसिर १० गते ११:२३ | Nov 26, 2022
ट्‍वीटरमा भेरिफिकेसनको नयाँ सेवा शुक्रबारदेखि, मस्क भन्छन् ‘प्रयोगकर्तालाई जानकारी दिन्छौं’

सामाजिक सञ्जाल ट्‍वीटरले भेरिफिकेसनको नयाँ सिस्टम आगामी शुक्रबारदेखि सुरु गर्ने भएको छ। यसको खुलासा सञ्चालक इलन मस्कले गरेका हुन्।

Tata
GBIME
Nepal Life

प्रयोगकर्ताको ह्‍याण्डलमा खास रंगको ब्याच दिने यो प्रणालीका लागि अहिले ट्‍वीटरले एकाउन्ट फेक भए नभएको जाँच गरिरहेको छ। नयाँ प्रणालीमा सरकार, कम्पनीहरु, सर्वसाधारण प्रयोगकर्ताले फरक-फरक रंगको ब्याच पाउने छन्। कम्पनीले गोल्ड चेक, सरकारी ह्‍याण्डलले ग्रे र व्यक्तिगत प्रयोगकर्ताले नीलो रंगको ब्याच पाउने छन्।

भेरिफाइड एकाउन्टहरुलाई दिइने टिक मार्क एक्टिभेट हुनुअघि परीक्षण गरिने छ। यो प्रक्रिया जरुरी  भएको बताएका मस्कले यो सेवा सुरु गर्न भइरहेको ढिलाइका लागि माफी मागेका छन्। भेरिफिकेसनको नयाँ प्रणालीबारे प्रयोगकर्तालाई जानकारी दिइने पनि उनले उल्लेख गरेका छन्। यसअघि आगामी मंगलबारबाट नयाँ भेरिफिकेसनको प्रणाली सुरु गर्ने मिति तय गरिएको थियो।

प्रयोगकर्तालाई नीलो ब्याच ट्‍वीटरले दिन थालेको प्रणाली नयाँ भने होइन। नेताहरु, प्रसिद्ध व्यक्तित्व, सार्वजनिक क्षेत्रमा नाम चलेकाहरुका लागि मात्रै दिने गरेको थियो। त्यस्तो ब्याच पाउन प्रयोगकर्ताले आफूले आफ्नै एकाउन्ट चलाएको हो भन्ने प्रमाणीकरणको प्रक्रिया पुरा गर्नुपर्छ।

त्यस्ता ब्याच पाएका एकाउन्टलाई सम्बद्ध व्यक्ति, कम्पनी र संस्था आफैंले चलाउने तथा विश्वासिलो मान्ने गरिएको छ। मस्कले ट्वीटर कम्पनी खरिद गरेपछि नीलो ब्याचलाई निरन्तरता दिन चाहनेले शुल्क तिर्नुपर्ने घोषणा गरेका थिए। केही देशमा यो सेवा लिन प्रति महिना ८ डलर शुल्क तोकिएको थियो।

नीलो ब्याचले पहिचान जनाउने भएकाले शुल्क तिरेर लिन सकिने सेवा सुरु गरेलगत्तै केही कम्पनीहरु र विख्यात व्यक्तिहरुका नाममा फर्जी एकाउन्ट बनाउने बढेका थिए। केही खेलाडी र कम्पनीका नाम दुरुपयोग गरेका घटना पाइएपछि ट्‍वीटर सतर्क भएको थियो। फेक एकाउन्ट बढेपछि नियमनका लागि 'पेड भेरिफिकेसन' लाई रोक्का गरिएको थियो।

अब भने नीलो ब्याचसँगै भेरिफाइडको प्रक्रियालाई कम्पनीले वर्गीकरण गर्दैछ। नयाँ प्रणाली लागु भएपछि भने व्यक्ति, कम्पनी र सरकारी निकायले प्रयोग गर्ने ट्‍वीटर ह्‍याण्डल खास रंगको ब्याचबाटै चिन्न सकिने छ।

सामाजिक सञ्जालमा माइक्रो ब्लगिङको साइट ट्‍वीटरमा संसारभर प्रयोगकर्ता २२ करोडभन्दा बढी छन्। सर्वाधिक संख्या अमेरिकामा छ।