विवाहको लगन सुरु भएपछि एकाएक बढ्यो सुनको माग, दैनिक १० किलोको कोटाले धान्न कठिन

सरला सुवेदी/बिजमाण्डू
२०७९ मंसिर ९ गते १७:४२ | Nov 25, 2022
विवाहको लगन सुरु भएपछि एकाएक बढ्यो सुनको माग, दैनिक १० किलोको कोटाले धान्न कठिन


काठमाडौं। विवाहको लगन सुरु भएपछि सुनको माग दैनिक ३५ किलो पुगेको छ। तर विदेशी मुद्रा संचिति कम भएको भन्दै सरकारले दैनिक १० किलो मात्रै सुन आयातको कोटा तोकेको छ।

Tata
GBIME
Nepal Life

 यसले बजारमा सुन अभाव हुन थालेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंसिर ११ गतेदेखि विवाहको लगन सुरु भएकाले सुनको माग दैनिक ३५ किलो पुगेको छ।

'विवाहकै कारण सुनको गरहनाको अर्डर बढेको हो। मंसिर सुरु भएपछि सुनको उच्च रुपमा बढेको छ,' महासंघका महासचिव धर्मभक्ता बज्राचार्यले बिजमाण्डूसँग भने, 'केही दिन अघिसम्म सुनको माग दैनिक २५ किलो मात्रै थियो।'

उनका अनुसार चुनावका कारण मंसिर महिनाको पहिलो साता कारोबार कम भएको हो। 'चुनावका कारण मंसिर पहिलो साता सुनको कारोबार कम भयो। तर अहिले कारोबार उत्साहजनक छ। तर माग अनुसार सुननै छैन,' बज्राचार्यले भने, 'अफसिजनको समयमा जम्मा गरेको सुन पनि तिहारमै सकियो।' उनका अनुसार बैंकसँग पनि सुनको स्टक छैन।

आयातित सुन उपत्यका र उपत्यका बाहिरको जिल्लालाई ५०/५० प्रतिशतका दरले बिक्री गरिन्छ। उपभोक्ताले पहिलाजस्तो सुन बिक्री गर्न छोडेको छन्। 'पहिला गरगहना बेच्न ल्याउने उल्लेख्य हुन्थे। तर अहिले पूरानो गहना ल्याएर थपथाप गरेर नयाँ बनाउने बढेका छन्,' बज्राचार्यले भने, 'त्यही भएर अहिले सुनको माग धान्न सजिलो छैन।'

उनले सिजन अनुसार सुनको कोटा बढाउनुपर्ने बताउँदै व्यवसाय जोगाउनका लागि पनि आवश्यक भइसकेको बताए। 'सुन व्यवसायीलाई जोगाउनकै लागि पनि सिजन अनुसार कोटा बढाउन आवश्यक छ। होइन भने यतिधेरै व्यवसायी संकटमा पर्छन्,' उनले भने, 'तर हाम्रो माग सरकारले सुनिरहेको छैन।' बज्राचार्यले सुनलाई अनुत्पादक लगानीसँग हेरेर कोटा निर्धारण गर्न नहुने बताउँदै धार्मिक र सांस्कृतिक रुपमा समेत हेर्न सुझाब दिए।