राजेन्द्र लिङ्देन र कृष्ण सिटौलाको ‘ब्याटल’मा लिङ्देनको दोहोरिरहने जित, सधै असफल सिटौला

बिजमाण्डू
२०७९ मंसिर ८ गते १७:३५ | Nov 24, 2022
राजेन्द्र लिङ्देन र कृष्ण सिटौलाको ‘ब्याटल’मा लिङ्देनको दोहोरिरहने जित, सधै असफल सिटौला

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन प्रतिनिधि सभाको निर्वाचनमा विजयी भएका छन्। झापा-३ बाट लिङ्देनले ४० हजार ६४८ मत ल्याएर चुनाव जितेका हुन्।

Tata
GBIME
Nepal Life

सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला लिङ्देनसँग पराजित भए।

सिटौलाले ३७ हजार ३७२ मत पाएका छन्। सत्ता गठबन्धनको टिकट बाँडफाँट समितिको संयोजकसमेत रहेका सिटौलाले यसपटक पनि निर्वाचित हुन सकेनन्। २०७४ को प्रतिनिधि सभाको निर्वाचनमा पनि लिङ्देनसँगै झापा-३ मै पराजित भएका थिए।

त्यतिबेला लिङ्देन र सिटौलाको मतान्तर १३ हजार ४४३ थियो अहिले ३ हजार २७२ मात्रै मतान्तर रह्यो। सत्ता गठबन्धनको साथका बाबजुद पनि सिटौलाले जित निकाल्न सकेनन्। 

किन सधै जित्छन् लिङ्देन?

लिङ्देनले  एमालेसँग चुनावी तालमेल गरेका थिए। तत्कालीन अध्यक्ष कमल थापालाई महाधिवेशनमा अध्यक्ष पदमा हराएर अध्यक्ष बनेका लिङ्देनले यसपाला पनि जित दोहोर्‍याएका हुन्।

राप्रपामा अध्यक्ष जितेसँगै युवा अनुहारले पार्टीको नेतृत्व पाएको भन्दै उनको प्रशंसा भएको थियो। जनजाती समूदायबाट नेतृत्वमा पुग्नेमध्यमा लिङ्देन एक नेता मानिन्छन्। यसअघिको प्रतिनिधि सभामा पनि राजतन्त्रको एजेण्डाको वकालत गर्दै आएका थिए।

झापा-३ राप्रपाको गढको रुपमा स्थापित भएको छ। राप्रपाले चुनाव जित्ने देखिएपछि नेकपा एमालेले उक्त क्षेत्रमा चुनावी तालमेल गर्दै आएको छ।

झापा-५ मा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई र झापा-३ मा एमालेले राप्रपालाई सघाउँदै आएका छन्। जसकारण पनि लिङ्देनका लागि जित सहज बनिरहेको छ।   
किन हारिरहन्छन् सिटौला?

राजतन्त्रको एजेण्डा बोक्ने दलको अध्यक्ष लिङ्देनले पटक/पटक जित निकाल्दा लोकतान्त्रिक गणतन्त्र ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका कांग्रेसका पूर्व महामन्त्री सिटौलालाई भने उक्त क्षेत्रमा चुनाव जित्न मुस्किल हुने गरेको छ।

उनी राजवादी धार र एमालेको चेपुवाका कारण पटक/पटकको चुनावमा पराजित हुदैँ आएका छन्। यसपटक मतान्तर घटाउन बाहेकको चुनावी उपलब्धि सिटौलाको पक्षमा रहेन।

२०६२/६३ को आन्दोलनका बेलामा चर्चामा रहेका सिटौला पछिल्लो समय कांग्रेस भित्रकै समिकरणमा पनि कमजोर बन्दै गएका छन्। सिटौला गृहमन्त्री र उपप्रधानमन्त्री भइसकेका नेता हुन् भने उनी मन्त्री छदा सुडान घोटाला काण्डमा आलोचित हुनुपरेको थियो।

उनको पक्षमा रहेका नेता प्रदीप पौडेले कांग्रेसको महाधिवेशनमा देउवा पक्षबाट महामन्त्रीको उम्मेदवारमा पराजित भएका थिए। पौडेलले भने काठमाडौं-५ मा चुनाव जितेका छन्।