‘द हिमालयन ग्रील बाइ बाजेको’ रेस्टुरेन्ट नेपाल भित्रियो, सामाखुशीमा सफ्ट ओपनिङ

बिजमाण्डू
२०७९ असोज १४ गते १४:१६ | Sep 30, 2022
‘द हिमालयन ग्रील बाइ बाजेको’ रेस्टुरेन्ट नेपाल भित्रियो, सामाखुशीमा सफ्ट ओपनिङ


काठमाडौं। ठूलो लगानीमा द हिमालयन ग्रीलको आउटलेट सामाखुशीमा सफ्ट ओपनिङ भएको छ। बाजेको सेकुवाले यसअघि अमेरिकामा द हिमालयन ग्रिल बाइ बाजेको रेष्टुरेन्ट खोलेको थियो।

Tata
GBIME
Nepal Life

नेपालमा भने पहिलोपटक सामाखुशीमा द हिमालयन ग्रिल बाइ बाजेको रेष्टुरेन्ट खोलिएको रेष्टुरेन्टका सञ्चालक मौसमकुमार श्रेष्ठले जानकारी दिए। सामाखुशी चोकमै निर्माण भएको उक्त रेष्टुरेन्टको क्षमता १७० हाराहारी रहेको उनले बताए। अमेरिकी मेनुअनुसार सामाखुशी आउटलेटमा डिस तयार गरिने श्रेष्ठको भनाइ छ। 

‘द हिमालयन ग्रिल बाइ बाजेको रेष्टुरेन्टको क्षमता हामीले १७० राखेका छौं। यहाँ आउँदा बिहानको ब्रेकफास्ट, दिउँसोको लन्चदेखि रातिको डिनरसम्म हामीले सर्भ गर्छौं। न्यूयोर्क स्टाइलको पिज्जादेखि डलास स्टाइल्ड बर्गर हामीले तयार गर्छौं। यसका साथै नेपाली थालीदेखि बाजेको सेकुवा भने हाम्रो सिग्नेचर डिसका रुपमा हामीले प्रस्तुत गरेका छौं,’ श्रेष्ठले भने, 'अमेरिकी मेनु भन्दैमा धेरै अचाक्ली महँगो पनि छैन। आफूले चाहेको खानेकुरा यहाँ पाउनुहुन्छ।' 

विदेशका पाँचतारे होटलदेखि काठमाडौंका प्रतिष्ठित रेष्टुरेन्टमा काम गरिरहेका सेफसहितको किचन टिम आफूहरुसँग रहेकाले खानेकुरामा कुनै सम्झौता नगरिएको श्रेष्ठले दाबी गरे। 

रेष्टुरेन्ट दसैंपछि भने औपचारिक रुपमा उद्घाटन हुने बताइएको छ। सफ्ट ओपनिङका क्रममा उपभोक्ताहरुले २० प्रतिशत डिस्काउन्ट पाउने श्रेष्ठले जानकारी दिए। रेष्टुरेन्ट भित्र हातले कोरिएका चित्रकाला निर्माण भएका छन्। अमेरिकी सहर र त्यहाँको झल्को दिने किसिमका चित्रकला रेष्टुरेन्टमा बनाइएको छ। 

'हामीले रस्टुरेन्टको एम्बियन्स अमेरिकाको जस्तो दिन खोजेका छौं। हामीले चित्र टालेका छैनौं। सबै हातले कोरिएका हुन्। रेस्टुरेन्टको माहोल उत्कृष्ट बनाउन हामीले धेरै मेहेनत गरेका छौं,' श्रेष्ठले भने।