साझाका ३७ वटा बिजुली बस १० दिनभित्र केरुङ नाकामा आइपुग्ने, चार्जिङ स्टेसनलाई छैन जग्गा

शुक्र गिरी
२०७९ असोज १४ गते १३:५८ | Sep 30, 2022
साझाका ३७ वटा बिजुली बस १० दिनभित्र केरुङ नाकामा आइपुग्ने, चार्जिङ स्टेसनलाई छैन जग्गा


काठमाडौं। साझा यातायातको ३७ वटा बिजुली बस आगामी १० दिनभित्र केरुङ नाकामा आइपुग्ने भएको छ। साझा यातायात कम्पनीले यसअघि नै ३ वटा बिजुली बस नेपाल ल्याएर चलाइरहेको छ। यो पहिलो लटको ४० वटा बिजुली बसमध्ये बाँकी अहिले ल्याउन लागिएको हो।

Tata
GBIME
Nepal Life

साझाका इन्जिनियर तथा प्रोजेक्ट म्यानेजर गौरवराज पाण्डेका अनुसार उक्त ३७ वटा बिजुली बसले कोदारी हुँदै न्यान्जिङ-काठमाडौं यात्रा सुरु गरेका छन्। 'साझा यातायातका ३७ बिजुली बस यसपाली केरुङ नाकाबाट ल्याउन लागिएको हो,' उनले भने, 'अबको १० दिनभित्र ती बसहरु नेपाली नाकामा आइपुग्नेछ। यसभन्दा अघि ३ वटा बिजुली बस तातोपानी नाकाबाट ल्याइएको थियो। ती बस नाका आइपुग्न ७/८ दिन लागेको थियो।'

त्यसपछि काठमाडौं आइपुग्न सबै बसहरुलाई एक सातादेखि १० दिन लाग्ने भएकाले तिहारपछि उक्त बसहरु काठमाडौं आइपुग्ने पाण्डेले बताए। उनका अनुसार ती बस काठमाडौं आइपुगेपछि टेस्ट गर्न एक महिनाको समयावधि भए पुग्छ। 'सबै कुरा ठिक भएमा बसहरु काठमाडौं आएको एक महिनाभित्र सञ्चालन गर्न सकिन्छ,' उनले भने।

सम्झौता अनुसार कम्पनीले उक्त सबै बसहरु काठमाडौं ल्याएर साझालाई जिम्मा लगाउनुपर्दछ। साथै कम्पनीले १८ वटा चार्जिङ स्टेसनहरु पनि ल्याएको पाण्डेले बताए। यसैगरी उक्त कम्पनीले चार्जिङको लागि वायरहरु सबै सेट गर्ने काम पनि कम्पनीको जिम्मा रहेको उनको भनाइ छ।

साझाले प्रति बस १ करोड ५० लाख रुपैयाँमा खरिद गरेको हो। यसैगरी कम्पनीले पहिलो लटमा ४० वटा विद्युतीय बसहरु ल्याउनुपर्ने सम्झौता अनुसार यी बसहरु ल्याउन लागिएको हो। सरकारले साझालाई ३०० वटा विद्युतीय बस ल्याउन तीन अर्ब रुपैयाँ दिएको छ।

काठमाडौं उपत्यकाका लागि ४० वटा विद्युतीय बसको आपूर्ति, डेलिभरी र मर्मतसम्भारका लागि चीनको सीएचटीसी (नान्जिङ) अटोमोबाइल कम्पनीसँग साझाले सम्झौता गरेको थियो।

छैन चार्जिङ स्टेसन निर्माणको लागि जग्गा

साझाका अनुसार हाल साझाको यार्डमा तीनवटा चार्जिङ स्टेसनहरु निर्माण गरेर सञ्चालनमा ल्याइएको छ। तर अब आउने ३७ वटा बिजुली बसका लागि भने चार्जिङ स्टेसनको अभाव हुने देखिएको छ। चार्जिङ स्टेसन बनाउन साझासँग छुट्टै जग्गा छैन। 'सरकारले जग्गा खोजिरहेको छ तर जग्गाको अभाव छ। साझाको यार्डमा निर्माण गर्न पनि अरु इन्धन बसहरु राख्न मिल्दैन,' पाण्डेले भने, 'यसका लागि सामान्य चार्जिङ स्टेसनको जस्तो थोरै ठाउँले पुग्दैन। पार्किङ स्पेससहितको बनाउनु पर्छ।'

पाण्डेले अहिले तत्कालका लागि १८ वटा चार्जिङ स्टेसनहरु साझाको यार्डमा नै राख्ने योजना रहेको बताए। 'तर यसले पछि धेरै समस्या आउन सक्छ। इन्धन बसहरु कता राख्ने त्यसको लागि विकल्पहरु पनि खोज्नु आवश्यक छ,' उनले भने, 'यसमा सरकारले सहयोग गरे पनि काठमाडौंमा जग्गाकै समस्याले हालसम्म केही गर्न सकिएको छैन।'

उनका अनुसार हाल चार्जिङ स्टेसनको लागि समस्या भन्दा चार्जिङ गर्ने समयमा गाडीहरु पार्किङ गर्न ठूलो समस्या हो। साझाको यी सबै बिजुली बसहरु दिनमा संचालन हुने र राती चार्ज गर्ने भएकाले पार्किङको समस्या हुने उनको भनाइ छ।

यस्ता छन् यी बिजुली बस

साझाले किनेको बिजुली बसमा २५ जनाभन्दा बढी यात्रुका लागि सिट छन्। सिटी बसको डिजाइनमा बनेको यो सेमी-फ्लोर बस हो। जुन वृद्ध, असक्त र बालबालिकाका लागि उपयोगी मानिन्छ। पुरानो डिजेल इन्जिन बस जस्तै यो पनि अपांगता भएकाहरुका लागि सुविधायुक्त छ। यी बसहरुमा ह्वीलचियरमै चढ्न सक्छन्।

यसमा अरु फिचर भनेको पहिलेकै साझा बसमा भएको टीभी, सीसी क्यामेरा र वाइफाइ कनेक्टीभीटीको सुविधा छ।

यो बिजुली बसमा १६१ किलोवाट क्षमताको ब्याट्री प्याकमा १६५ किलोवाट मोटर जडान गरिएको छ। यो बसमा भएको ब्याट्रीले एक पटकको फुल चार्जमा २०० किलोमिटरसम्मको दुरी पार गर्न सकिन्छ। यसले १८ प्रतिशतसम्मको उकालो चढ्न सक्ने पाण्डेले बताए।