प्राविधिक गडबडीपछि एनटीएले स्थगित गर्‍यो माइक्रोवेब ब्याकबोन नेटवर्क निर्माणको ठेक्का





काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले कर्णाली र सुदूरपश्चिम प्रदेशमा माइक्रोवेब ब्याकबोन नेटवर्क सम्बन्धी ठेक्का प्रक्रिया स्थगित गरेको छ। 



असोज ३ गते प्राधिकरणले माइक्रोवेब ब्याकबोन नेटवर्क निर्माणका लागि ठेक्का आह्वान गरेको थियो। ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) प्रयोग गरी प्राधिकरणले दुई वर्षमा कर्णाली र सुदूरपश्चिम प्रदेशमा माइक्रोवेब ब्याकबोन नेटवर्क निर्माणको टेन्डर खोलेको थियो। 

प्राधिकरणका एक अधिकारीका अनुसार सार्वजनिक खरिद अनुगमन कार्यालयले तोकेको मापदण्ड अनुसार ठेक्का आह्वान नभएकाले स्थगित गरिएको जानकारी दिए। 

‘पीपीएमओको मापदण्ड अनुकूल नहुँदा हामीले ठेक्का रोक्नु परेको हो। छिट्टै अर्को सूचना जारी गरेर ठेक्का प्रक्रिया अघि बढाउँछौं,’ ती अधिकारीले भने। 

ठेक्का पाउने कम्पनीलाई प्राधिकरणले आरटीडीएफको रकम सहुलियतका रुपमा प्रदान गर्ने जनाएको छ। ठेक्का पाउने कम्पनीसँग नेटवर्क सेवा प्रदायक (एनएसपी) को लाइसेन्स रहनुपर्ने र न्युनतम ५ हजार किलोमिटर ट्रान्समिसन (अप्टिकल, माइक्रोवेब, पीएमपी, वायरलेस) सञ्चालनमा रहनुपर्ने सर्त तोकेको थियो। 

प्राधिकरणले अर्को सूचना जारी नभएसम्मका लागि ठेक्का प्रक्रिया स्थगित भएको जनाएको छ। प्राधिकरणले कर्णाली र सुदूरपश्चिम प्रदेश अन्तर्गतका मध्यपहाडी लोकमार्ग तथा जिल्ला सदरमुकाम, पूर्वपश्चिम जोड्ने राजमार्ग, उत्तर-दक्षिण जोड्ने राजमार्गमा अप्टिकल फाइबर नेटवर्क विस्तार गर्न चालु आर्थिक वर्षमा एक अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ। 


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Pvt. Ltd. All Rights Reserved.
Ncell