सुनचाँदी व्यवसायीको गैरकानुनी काम, सुन धितो राखेर महँगो ब्याजमा कर्जा प्रवाह गर्दै

अनन्तराज न्यौपाने
२०७९ असोज ६ गते १७:३२ | Sep 22, 2022
सुनचाँदी व्यवसायीको गैरकानुनी काम, सुन धितो राखेर महँगो ब्याजमा कर्जा प्रवाह गर्दै

विराटनगर। देशभरि मिटरब्याजको प्रकरणले चर्चा पाइरहेका वेला प्रहरीले महँगो ब्याजमा गैरकानुनी कर्जाप्रवाह गर्ने विराटनगरका सुनचाँदी व्यवसायीलाई कारबाही नगरी छाड्ने गरेको पाइएको छ। 

Tata
GBIME
Nepal Life

प्रहरीले महँगो ब्याजमा कर्जा लगानी गर्दै आएका विराटनगरका एक व्यवसायीलाई कारबाहीका दायरामा नल्याई सामान्य कागज गराएर छाडेपछि महँगो ब्याज प्रकरण बाहिर आएको हो।  विराटनगरका एक व्यवसायी इन्द्र खेतानका घरेलु सहायकले आफूले काम गर्ने गरेका घरको गहना चोरी गरी ल्याएर श्रीमहालक्ष्मी ज्वेलरीमा धरौटी राखिन् र ३० हजार रुपैयाँ निकालिन्।

व्यवसायी खेतानले यस घटनाका बारेमा वडा प्रहरी कार्यालयमा खबर गरे र यस बारेमा घरेलु सहायकप्रति शंका रहेको बताए। यसपछि प्रहरीले घरेलु सहायकलाई ल्याएर सोधपुछ गर्‍यो। ती घरेलु सहायकले आफूले चोरी गरी ल्याएको र श्रीमहालक्ष्मी ज्वेलरीमा धरौटी राखेर ३० हजार रुपैयाँ निकालेको बयान दिइन्।

वडा प्रहरीका प्रहरी नायव उपरीक्षक दीपेन्द्र पन्जियार थारूले घरेलु सहायकको बयानपछि श्रीमहालक्ष्मीका सञ्चालक विमल बेगबानीलाई बोलाएर बयान गराइएको जानकारी दिए। उनका अनुसार व्यवसायी बेगबानीले ती घरेलु सहायकले ल्याएको गहना धरौटी राखेर आफूले वार्षिक २४ प्रतिशत ब्याजमा ३० हजार रुपैयाँ कर्जा दिएको स्वीकार गरेका थिए।

पन्जियारले भने, ‘यसरी कर्जाप्रवाह गर्दा व्यवसायीले कुनै बिल दिँदा रहेनछन्। कोड नम्बर लेखिएको एक सानो कागजको टुक्रो दिँदा रहेछन्। यही कोड नम्बरका आधारमा ग्राहकसित कारोबार हुने रहेछ।’ उनले यसलाई घरेलु समस्या मानेर कुनै कानुनी कारबाहीको प्रक्रिया अघि नबढाइएको र सामान्य कागज गराएर गहना फिर्ता गराइएको जानकारी दिए।

यो घट्नाले पनि सुन कारोबार भन्दा धरौटी राखेर ऋण दिने व्यवसाय फष्टाएको प्रष्ट हुन्छ। सुन पसलमा हुने यो कारोबार देशैभरि रहेको अनुमान छ। श्री महालक्ष्मीका सञ्चालक बेगवानीले आफूले प्रहरीसमक्ष सुनचाँदी धरौटी राखेर वार्षिक २ प्रतिशत ब्याजमा कर्जाप्रवाह गरेको स्वीकार गरे।

उनले भने, ‘यो हाम्रो पुस्तैनी व्यवसाय हो। हामी ७० वर्षदेखि यही सुनचाँदीका पेसामा छौँ र सुनचाँदी बन्धकी राखेर कर्जा दिइरहेका छौँ। हामीलाई अहिलेसम्म कुनै निकायले पनि गैरकानुनी काम गरेको भन्न सकेको छैन।’ उनले विराटनगरका मात्र नभई देशभरिकै सुनचाँदी व्यवसायीले गहना बन्धकी राखेर कर्जा दिने गरेको र यो पहिलेदेखिनै चल्दै आएको बताए।

विराटनगर सुनचाँदी व्यवसायी संघका अध्यक्ष शशिभूषण साहले सुनचाँदी व्यवसायीले कर्जाको कारोबार गर्दै आएको बताए। अध्यक्ष साहको दाबी थियो, ‘देशको कानुनले नै कर्जामा १० प्रतिशतभन्दा बढी ब्याज लिन नपाइने गरी तोकेको छ। तर नेपालका बैंक, वित्तीय संस्था र सहकारीले १८ प्रतिशतभन्दा बढी कारोबार गर्न थालेका छन्। यस्ता अवस्थामा सुनचाँदी व्यवसायीले २४ देखि ३० प्रतिशत ब्याजमा कर्जा दिनु कुनै अपराध होइन।’

साहले कर्जाको कारोबार गर्ने विराटनगरका सुनचाँदी व्यवसायीले ब्याजको आम्दानी देखाएर आयकर तिर्ने गरेको र कारोबारलाई वैध बनाएको तर्क दिए। एक व्यवसायीका अनुसार धेरै सुन पसलले यही कारोबार गरेर टिकिरहेका छन्। 'कोभिड लागेपछि सुनको कारोबार छैन। सुनको कारोबार गरेर पाइलैपिच्छे खुलेका पसल टिक्ने अवस्था छैन,' ती व्यवसायीले भने, 'उनीहरुले अहिले सुन राखेर कर्जा दिन्छन्। त्यही पैसाले पसल धानिरहेका छन्। कोभिडपछि धेरै साना तथा मझौंला व्यवसायीले सुन धितो राखेर ऋण लिएका छन्। त्यही भएर पछिल्लो समय पसलमा सुन धितो राखेर ऋण लिने बढेको समेत व्यवसायी बताउँछन्।

 राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बैंक तथा वित्तीय संस्था ऐन अनुसार ४ वर्गका निकायले मात्र कर्जाप्रवाहको कारोबार गर्न पाउने जानकारी दिए। यसरी कारोबार गर्न पाउनेमा वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी र लघुवित्त वित्तीय संस्था पर्छन्। यसबाहेक सहकारी ऐनले सहकारी संस्थालाई पनि कर्जा कारोबार गर्ने अनुमति दिएको छ। भट्टले भने, ‘अरू निकायलाई कर्जा कारोबार गर्ने अधिकार छैन। राष्ट्र बैंकले यसरी कसैलाई अनुमति पनि दिएको छैन।’