निर्जीवन बीमा कम्पनीको नाफा साढे चार अर्ब रुपैयाँ, १२ अर्ब ७६ करोड खुद बीमा शुल्क आर्जन 

अन्जना सुवेदी/बिजमाण्डू
२०७९ भदौ १ गते १८:४२ | Aug 17, 2022
निर्जीवन बीमा कम्पनीको नाफा साढे चार अर्ब रुपैयाँ, १२ अर्ब ७६ करोड खुद बीमा शुल्क आर्जन 

काठमाडौं। निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ४ अर्ब ५५ करोड ९९ लाख खुद नाफा कमाएका छन्। गत आर्थिक वर्षको अन्त्यसम्म १८ वटा इन्स्योरेन्स कम्पनीले सो मुनाफा आर्जन गरेका हुन्।

Tata
GBIME
Nepal Life

जसमध्ये नेको इन्स्योरेन्सले ५५ करोड नाफा कमाएको छ भने, शिखर, सगरमाथा इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीले ४० करोडभन्दा बढी खुद नाफा आर्जन गरेका छन्। 

त्यस्तै सिद्धार्थ, नेपाल, प्रिमियर इन्स्योरेन्स कम्पनीको नाफा ३० करोड माथि छ। 

बीमा शुल्क

निर्जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७८/७९ कोे वित्तीय विवरण सार्वजनिक गरेका छन्। १८ वटा निर्जीवन बीमा कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणले बीमा शुल्क आर्जन बढेको देखाएको छ।  

गत वर्ष १८ बीमा कम्पनीहरुले १२ अर्ब ७६ करोडभन्दा बढी खुद नाफा आर्जन गरेका छन्। यी कम्पनीहरुले औसत ७० करोड ९३ लाख खुद बीमा शुल्क आर्जन गरेका हुन्। औसतभन्दा बढी खुद बीमा शुल्क आर्जन गर्नेमा नेको, सगरमाथा, शिखर, सिद्धार्थ, युनाइटेड इन्स्योरेन्स लगायत सात कम्पनी छन्। 

आर्थिक वर्ष २०७७/७८ को तुलनामा गत वर्ष खुद बीमा शुल्क १४.०८ प्रतिशतले बढेको हो। अघिल्लो वर्ष यी बीमा कम्पनीहरुले खुद बीमा शुल्क ११ अर्ब ११ करोड आर्जन गरेका थिए। गत वर्ष नेको इन्स्योरेन्सले सर्वाधिक खुद बीमा शुल्क आर्जन गरेको छ। खुद बीमा शुल्कसँगै खुद नाफा आर्जन गर्ने निर्जीवन कम्पनीहरुको सूचीमा अग्र स्थानमा रहेको उक्त कम्पनीले गत वर्ष १ अर्ब ७२ करोड खुद बीमा शुल्क आर्जन गरेको छ। यो अघिल्लो वर्षको आवको तुलनामा २८.५४ प्रतिशतले बढी हो। 

यस्तै यस कम्पनीले ५५ करोडभन्दा बढी खुद नाफा आर्जन गरेको छ। हाल यसको चुक्ता पुँजी १ अर्ब ७४ करोड ९८ लाख छ। 

यो सँगै सगरमाथा इन्स्योरेन्सले १ अर्ब ४१ करोड खुद बीमा शुल्क आर्जन गरेको छ। इन्स्योरेन्सले समीक्षा अवधिभर ४० करोड खुद नाफा आर्जन गरेको छ। समीक्षा अवधिसम्म कम्पनीको चुक्ता पुँजी १ अर्ब ३३ करोड छ। 

चुक्ता पुँजी सर्वाधिक अर्थात २ अर्ब २८ करोड भएको शिखर इन्स्योरेन्सले गत वर्ष औसतभन्दा बढी बीमा शुल्क र नाफा आर्जन गरेको छ। कम्पनीले १ अर्ब ३९ करोड बीमा शुल्क र ४० करोड बढी खुद नाफा आर्जन गरेको छ। 

यस्तै गत वर्ष सर्वाधिक कम बीमा शुल्क आर्जन गर्ने कम्पनीमा जनरल इन्स्योरेन्स कम्पनी छ। यसले १६ करोड ६१ लाखको हाराहारीमा मात्र खुद बीमा शुल्क आर्जन गरेको छ। यस्तै नाफा पनि ११ करोड २० लाख आर्जन गरेको छ। 

राष्ट्रिय बीमा कम्पनीको प्रति सेयर आम्दानी सर्वाधिक

पछिल्लो तथ्यांकअनुसार निर्जीवन कम्पनीहरुमध्ये राष्ट्रिय बीमा कम्पनीको प्रति सेयर आम्दानी सर्वाधिक छ। औसतभन्दा धेरै नाफा आर्जन गरेको यस कम्पनीको प्रति सेयर आम्दानी १७७.५८ रुपैयाँ छ। 

प्रतिसेयर आम्दानीसँगै कम्पनीको मूल्य आम्दानी अनुपात पनि अग्र स्थानमा छ। अर्थात पछिल्लो तथ्यांक अनुसार कम्पनीको पीई रेसियो ७८.८४ गुणा छ। यस पीई रेसियोले लगानीकर्ताले कम्पनीको एक कित्ता सेयर खरिदका लागि कति गुणा बढी मूल्य तिरेको छन् भन्ने स्पष्ट हुन्छ। गत वर्ष ४७ करोड ३४ लाख खुद नाफा कमाएको यो कम्पनीको चुक्ता पुँजी २६ करोड ६६ लाख छ। 

यस्तै बीमा शुल्क र खुद नाफा कमाउने निर्जीवन बीमा कम्पनीहरुको सूचीमा अग्र स्थानमा रहेको नेको इन्स्योरेन्सको प्रतिसेयर आम्दानी भने गत वर्ष उल्लेख्य रूपमा घटेको छ। गत वर्ष कम्पनीको प्रतिसेयर आम्दानी २३.३९ प्रतिशतले घटेको हो। हाल पिई रेसियो भने २२.९० छ।