काठमाडौं। नेपाल विद्युत प्राधिकरणले भारतबाट हिउँदमा आयात गर्ने विद्युत २९.१२ प्रतिशतले घटेको छ। नेपालको आन्तरिक उत्पादन वृद्धि भएसंगै आर्थिक वर्ष २०७७/७८ मा आयात घटेको हो।
आब २०७७/७८ मा २१ अर्ब ८२ करोडको विद्युत आयात भएकोमा आव २०७८/७९ मा १५ अर्ब ४६ करोडको विद्युत आयात भएको छ। नेपालको जडित क्षमता २१९० मेगावाट पुगेको भए पनि हिउँदमा ४०० मेगावाटसम्म आयात गर्नुपर्ने अवस्था छ।
अधिकांश आयोजना नदी प्रवाहमा आधारित रहेका कारण हिउँदमा ३२ देखि ३५ प्रतिशत मात्रै उत्पादन हुने गरेको छ। सोही कारण हिउँदमा अझै केहि वर्ष आयात गर्नुपर्ने अवस्था छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको वार्षिक प्रतिवेदन अनुसार ३७ वर्षको इतिहासमा सबैभन्दा बढी १६ अर्ब १६ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। विद्युत खपतमा भएको वृद्धि, चुहावट नियन्त्रण, प्राधिकरणको विद्युतगृहबाट उत्पादन वृद्धि, ४५६ मेगावाट माथिल्लो तामाकोसी संचालन, विद्युत आयातमा कमी तथा निर्यातमा भएको वृद्धि लगायतका कारणले सो मुनाफा गर्न सफल भएको उल्लेख छ।
प्राधिकरणको आब २०७७/७८मा ६ अर्ब २७ करोडको तुलनामा खुद मुनाफा १५६.७३ प्रतिशतले वृद्धि भएर १६ अर्ब १६ करोड ५० लाख रुपैयाँ पुगेको हो।
विद्युत बिक्री तथा अन्य आय गरि आव २०७८/७९ मा प्राधिकरणको कुल आम्दानी ९६ अर्ब ६२ करोड भएको छ। जुन आव २०७७/७८ को ७८ अर्ब ७४ करोडभन्दा २२.७१ प्रतिशतले बढी हो। विद्युत खरिदसहितको संचालन खर्च आब २०७७/७८ को ५६ अर्ब २८ करोड तुलनामा १४.१६ प्रतिशतले वृद्धि भई ६४ अर्ब २५ करोड रुपैयाँ पुगेको छ।
कुल संचालन खर्चमा विद्युत खरिदतर्फको खर्च ४७ अर्ब ८५ करोड रुपैयाँ छ। जुन आव २०७७/७८ को तुलनामा १७.१५ प्रतिशतले बढी हो।
अन्य संचालनतर्फ उत्पादन, रोयल्टी, प्रसारण र वितरणमा १६ अर्ब ४० करोड रुपैयाँ खर्च भएको छ। भारतले ३६४ मेगावाट विद्युत निर्यातका लागि अनुमति दिएको छ। ४०० केभी ढल्केबर-मुजफ्फरपुर प्रसारणलाइनबाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेडको डे-अहेड बजारमा प्रतिस्पर्धी रुपमा बिक्री भइरहेको छ।
निजी क्षेत्रको ग्रीन भेन्चर्स लिमिटेडको लिखु-४ बाट उत्पादित ५१ मेगावाट, प्राधिकरण स्वामित्वका त्रिशूली तथा देवीघाटको ३७.७ मेगावाट, कालीगण्डकी 'ए'को १४० मेगावाट, मध्य-मर्स्याङदीको ६८ मेगावाट, मर्स्याङदी ६७ मेगावाट विद्युत दैनिक रूपमा भारतीय बजारमा निर्यात भइरहेको छ।