नेप्सेमा ४ करोड कित्ता सेक्युरिटिज सूचीकृत, ३ करोड ५३ लाख कित्ता इक्विटी मात्र

बिजमाण्डू
२०७९ भदौ १ गते १०:५६ | Aug 17, 2022
नेप्सेमा ४ करोड कित्ता सेक्युरिटिज सूचीकृत, ३ करोड ५३ लाख कित्ता इक्विटी मात्र

काठमाडौं। नेपाल स्टक एक्सचेन्जले करिब ४ करोड कित्ता सेक्युरिटिज सूचीकरण गरेको छ। यसमध्ये ३ करोड ५३ लाख कित्ता इक्विटी हुन् भने बाँकी ४० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो। 

Tata
GBIME
Nepal Life

नेप्सेले मंगलबार श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको सर्वाधिक १ करोड ५९ लाख रुपैयाँ बराबरको सेयर सूचीकृत गरेको छ। कम्पनीले प्राथमिक सेयर निष्कासन गरेपछि दोस्रो बजार कारोबारका लागि सूचीकृत भएको हो। 

कम्पनीले आयोजना प्रभावित बासिन्दालाई बिक्री गरेको १५ लाख ९३ हजार कित्ता, सर्वसाधारणलाई बेचेको ३१ लाख ८६ हजार कित्ता र बाँकी संस्थापकको १ करोड ११ लाख ५१ हजार कित्ता मंगलबार नेप्सेमा सूचीकृत भएको हो। 

नेप्सेले कम्पनीको पहिलो कारोबार रेञ्ज ८९.८८ रुपैयाँदेखि २६९.६४ रुपैयाँ प्रतिकित्ता तय गरेको हो। सोही मूल्यको सीमाभित्र रहेर श्वेतगंगा हाइड्रोपावरको पहिलो किनबेच हुनेछ।  

यस्तै, प्राथमिक बजारमा आइपीओ बिक्री गरेका मन्दाकिनी हाइड्रोपावर र अप्पर सोलु हाइड्रोइलेक्ट्रिक कम्पनीको सेयर पनि मंगलबार दोस्रो बजार कारोबारका लगे सूचीकृत भएका छन्। कम्पनीहरुले सर्वसाधारणलाई बिक्री गरेको प्राथमिक सेयरसहित कम्पनीका आधारभूत संस्थापक सेयरधनीहरुको पनि सेयर नेप्सेमा सूचीकृत भएको हो। 

मन्दाकिनी हाइड्रोको ५८ लाख ८० हजार कित्ता र अप्पर सोलु हाइड्रोको १ करोड ३५ लाख कित्ता  सेयर सूचीकरण भएको छ। नेप्सेले मन्दाकिनी हाइड्रोको ओपनिङ रेञ्ज १०२ देखि ३०६ रुपैयाँ तोकेको छ। अप्पर सोलु हाइड्रोको पहिलो कारोबार भने १०८.२१ देखि ३२४.६३ रुपैयाँको मूल्य सीमाभित्र रहेर खुला हुनेछ। 

मंगलबार नेप्सेमा ४० लाख कित्ता ऋणपत्र पनि सूचीकृत भएको थियो। सिद्धार्थ बैंकले १० वर्ष अवधिको १०.२७ प्रतिशत ब्याज भुक्तानी गर्ने ऋणपत्र बिक्री गरेको थियो। 

नयाँ सूचीकृत अधिकांश सेक्युरिटिजको दोस्रो बजार कारोबार आज(बुधबार)देखि खुला हुनेछ।