एक वर्षमा २६ अर्ब रुपैयाँले घट्यो सेयर धितो कर्जा, एक करोडभन्दा धेरैको कर्जा ३७ प्रतिशत घट्यो

बिजमाण्डू
२०७९ साउन ३१ गते १९:२१ | Aug 16, 2022
एक वर्षमा २६ अर्ब रुपैयाँले घट्यो सेयर धितो कर्जा, एक करोडभन्दा धेरैको कर्जा ३७ प्रतिशत घट्यो

काठमाडौं। करिब एक वर्षको अवधिमा २५ अर्ब ७७ करोड रुपैयाँले सेयर धितो कर्जामा संकुचन आएको छ। बैंक वित्तीय संस्थाहरुबाट प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा गत आर्थिक वर्षको १२ महिनाको अवधिमा २४.३ प्रतिशतले घटेको हो। 

Tata
GBIME
Nepal Life

पोहोर असार अन्त्यसम्ममा कुल एक खर्ब ६ अर्ब २८ करोड रुपैयाँ सेयर धितोवापतको कर्जास्वरुप बैंक तथा वित्त संस्थाले दिएका थिए। गत आर्थिक वर्षको अन्त्यसम्म यस्तो कर्जा ८० अर्ब ५० करोड रुपैयाँमा झरेको हो।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार विशेष गरी ठूलो परिमाणमा प्रवाह हुने कर्जा घटेको छ। जसमध्ये बैंक तथा वित्त संस्थाहरुले एक करोड रुपैयाँभन्दा माथिको कर्जा करिब ३७ प्रतिशतले घटाएका हुन्। गत वर्ष एक करोडभन्दा धेरै कर्जा लिनेहरुले कुल ४६ अर्ब ५७ करोड रुपैयाँ बराबरको कर्जा चलाएका छन्। 

गत असार अन्त्यसम्म एक करोडभन्दा धेरैको कुल ७३ अर्ब ५३ करोड रुपैयाँ ऋण बैंकहरुले दिएका थिए। त्यस्तै, सेयर धितो राखेर ५० देखि एक करोड रुपैयाँसम्म कर्जा लिनेहरु पनि घटेका छन्। ५० देखि एक करोड रुपैयाँसम्मको कर्जाको परिमाण पनि १२ प्रतिशत घटेको देखिन्छ। 

पोहोर असार मसान्तसम्म बैंकहरुले सेयर धितो राखेर ५० देखि एक करोड रुपैयाँसम्म कर्जा माग गर्नेहरुलाई कुल १२ अर्ब एक करोड रुपैयाँ बराबरको ऋण दिएका थिए। गत आर्थिक वर्षको सोही अवधिमा भने यसअन्तर्गतको ऋण १० अर्ब ५६ करोडमा झरेको छ।

सेयर धितो राखेर माग गरिएका ५० लाखभ‍न्दा सानो रकमका ऋणहरु भने बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

सेयर धितोवापत २५ लाखदेखि ५० लाख रुपैयाँसम्म माग भएको ऋण बैंकहरुले १४ प्रतिशत बढाएका छन्। यस्तै, २५ लाखभन्दा कमका लागि मागिने ऋणको परिमाण करिब १०.८ प्रतिशतले बढेको छ।