रेमिटेन्स वृद्धिले शोधनान्तर घाटा खुम्चियो, आयात नियन्त्रणले काम गरेन, विदेशी मुद्रा पनि बढ्यो

बिजमाण्डू
२०७९ साउन ३१ गते १७:३५ | Aug 16, 2022
रेमिटेन्स वृद्धिले शोधनान्तर घाटा खुम्चियो, आयात नियन्त्रणले काम गरेन, विदेशी मुद्रा पनि बढ्यो


काठमाडौं। विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिटेन्समा भएको सुधारका कारण समग्र शोधनान्तर स्थितिमा सुधार देखिएको छ। शोधनान्तर घाटा अझै पनि ऐतिहासिक तहमा भए पनि पछिल्लो दुई महिना सुधारउन्मुख देखिएको छ। पछिल्लो दुई महिनामा शोधनान्तर घाटा ३३ अर्ब २४ करोड रुपैयाँले घटेको छ।

Tata
GBIME
Nepal Life

राष्ट्र बैंकले मंगलबार गत आर्थिक वर्षको आर्थिक सूचकहरु सार्वजनिक गर्दै शोधनान्तर घाटा २ खर्ब ८८ अर्ब ५० करोडको ऐतिहासिक तहबाट विस्तारै कम हुँदै गएको जनाएको छ।

वैशाखमा २ खर्ब ८८ अर्ब ५० करोड रुपैयाँ घाटा भएको शोधनान्तर जेठमा १८ अर्ब ६९ अर्बले घटेर २ खर्ब ६९ अर्ब ८१ करोडमा आएको थियो। जेठको भन्दा असारमा १४ अर्ब ५५ करोडले घटेको छ।

शोधनान्तर घाटा कम हुनुमा आयातको भने योगदान छैन। सरकारले १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ भने ३५० वस्तुको आयात गर्दा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था छ। यति हुँदा पनि आयात कटौती भएको छैन।

असार महिनामा मात्रै एक खर्ब ५७ अर्ब २३ करोड रुपैयाँको आयात भएको छ। वर्षभरीमा कुल आयात १९ खर्ब २० अर्ब रुपैयाँको भएको छ। व्यापार घाटा नै १७ खर्ब २० अर्ब ४२ करोड पुगेको छ।

रेमिटेन्स भने ऐतिहासिक सुधार देखिएको छ। अहिलेसम्मकै उच्च रेमिटेन्स असार महिनामा भित्रिएको छ। असारमा एक खर्ब ३ अर्ब १३ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ। कोभिडपछि लकडाउन गरिँदा २०७७ जेठ महिनामा एक खर्ब १६ करोड रेमिटेन्स भित्रिएको थियो।

विदेशी मुद्राको संचिति (नेपाली रुपैयाँ) मा पनि सुधार देखिएको छ। गत वैशाखसम्म निरन्तर घटेको संचिति जेठ र असारमा आएर सुधार भएको हो। जेठमा २९ अर्ब ९६ करोड रुपैयाँले बढेको थियो भने असारमा ३८ अर्ब ९६ करोड रुपैयाँले बढेको छ। यद्यपि पोहोरको असारको तुलनामा भने अझै कम छ। कुल विदेशी मुद्राको सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ पुगेको छ।