वित्तीय अवस्था खस्किन थालेपछि शिवम् सिमेन्टको संस्थापकले सेयर बेच्न थाले

बिजमाण्डू
२०७९ साउन ३१ गते १५:३० | Aug 16, 2022
वित्तीय अवस्था खस्किन थालेपछि शिवम् सिमेन्टको संस्थापकले सेयर बेच्न थाले

काठमाडौं। कम्पनीको वित्तीय स्वास्थ्य बिग्रिन थालेपछि शिवम् सिमेन्टका संस्थापक लगानीकर्ताले सेयर बिक्री गर्न थालेका छन्। नाफा उच्च दरले घट्ने वित्तीय विवरण सार्वजनिक गर्नुअघि उनीहरुले आफ्नो सेयर बेच्न थालेका हुन्।

Tata
GBIME
Nepal Life

बिजमाण्डूलाई प्राप्त १५ दिनको कारोबार अनुसार, संस्थापकहरुले आफ्नो धेरथोर सेयर बिक्री गरेका हुन्। पछिल्लो १५ दिनमा सबैभन्दा बढी सेयर राधेश्याम शारडाले बिक्री गरेका छन्।

उनले ८२५ रुपैयाँका दरले १ लाख ४९ हजार ९९४ कित्ता सेयर बिक्री गरेका हुन्। यो कुल १२ करोड ३७ लाख ४५ हजार ५० रुपैयाँको सेयर हो। शिवमको सेयर मंगलबार ६८० रुपैयाँका दरले किनबेच भइरहेको छ। शिवमले सोमबार ५१ प्रतिशतले नाफा घटेको विवरण सार्वजनिक गरेको थियो। विवरण सार्वजनिक गर्नुअघि ७०७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

विवरण सार्वजनिकपछि हिजो (सोमबार) ६९० रुपैयाँमा अन्तिम कारोबार भयो। आज (मंगलबार) ६८० रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ। संस्थापकहरुले आफ्नो केही सेयर ८०० रुपैयाँमाथि नै बिक्री गर्न भ्याइसकेका छन्।

सबैभन्दा बढी सेयर बिक्री गर्ने राधेश्याम शारडा ग्रुपका अध्यक्ष शिवरतन शारडाका माइला भाइ हुन्। राधेश्याम समूहका निर्देशक छन्। अहिले पनि शिवममा शारडा समूहका निर्देशक सन्दीपकुमार शारडा संचालक छन्।

शिवम सिमेन्ट स्थापना गर्दा गोयल समूह, लक्की समूह, शारडा ग्रुप, जेबी मारु ग्रुप र देवेनारा समूहले संयुक्त रुपमा लगानी गरेका थिए। 

अर्को सेयर बिक्री गर्नेमा श्रवणकुमार मोर पनि छन्। उनी नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष सतिशकुमार मोरका भाइ हुन्। मोरले ८०७ रुपैयाँका दरले ७२ हजार ३६७ कित्ता सेयर ५ करोड ८४ लाख १६९ रुपैयाँमा बिक्री गरेका छन्।

अनिता गोयलले ८३२ रुपैयाँका दरले ६८ हजार ९९५ कित्ता सेयर बिक्री गरेकी छन्। उनी शिवमका चेयरम्यान सुरेन्द्रकुमार गोयलको नातेदार हुन्। उनले ५ करोड ७४ लाख ३ हजार ८४० रुपैयाँको सेयर बेचेकी हुन्। अञ्जनीनन्दन मारुले ५८ हजार कित्ता सेयर बिक्री गरेका छन्। उनी जेबी मारु समूहका सञ्चालक हुन्। उनले ७६८ रुपैयाँ दरमा ४ करोड ४५ लाख ४४ हजार रुपैयाँको सेयर बिक्री गरेका छन्।

देवेनारा समूहका भाइस प्रेसिडेन्ट बेनीगोपाल मुन्दडाले ५६ हजार २०३ कित्ता सेयर ७६८ रुपैयाँका दरले ४ करोड ३१ लाख ६३ हजार ९०४ रुपैयाँमा बिक्री गरेका थिए।

श्रीप्रकाश गोयलले ५० हजार कित्ता सेयर ८०० रुपैयाँका दरले ४ करोड रुपैयाँमा बिक्री गरेका छन्। पवन भीमसरियाको कम्पनी इजी ट्रेड एण्ड इन्भेष्टमेन्ट प्रालिले पनि ९ हजार कित्ता सेयर ७८६ रुपैयाँका दरले ७० लाख ७४ हजार रुपैयाँमा बिक्री गरेको छ।

संस्थापकहरु बाहिरिएर संरचना परिवर्तन हुने भएपछि शिवम् सिमेन्ट्सले संचालक समितिको अधिकार सीमित व्यक्तिले गर्न मिल्ने गरी संशोधन गर्न खोजेको छ। कम्पनीले गणपूरक संख्या परिवर्तन गर्न भदौ १० गते विशेष साधारणसभा डाकेको छ।

अहिले गणपूरक संख्या कुल सेयर संख्याको ६७ प्रतिशत छ। यसलाई घटाएर ५१ प्रतिशतमा झार्न लागेको छ। भोलि नयाँ सेयरधनी भित्रिएर हरहिसाब खोज्न सक्ने र पारदर्शितामा दबाब दिने भन्दै पहिले नै संचालक समितिको संरचना परिवर्तन गर्न खोजेको हो। अहिलेसम्म जे जति निर्णय हुन्थ्यो, त्यसका लागि दुई तिहाइ चाहिन्थ्यो। अब भने साधारण बहुमत अर्थात ५१ प्रतिशत भए पुग्छ।

अहिले कम्पनीको संचालक समिति संख्या सात सदस्यीय छ। यसलाई पनि घटाएर ६ सदस्यीय संचालक समिति सदस्य कायम गर्ने एजेण्डा पनि लैजाँदैछ।

अर्कोतर्फ कम्पनीको वित्तीय स्वास्थ्य खस्किँदैछ। कम्पनीले परार १ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा गरेकोमा यसपाली जम्मा ६८ करोड ९३ लाख रुपैयाँ मात्र नाफा गरेको छ। यो भनेको ५१ प्रतिशतको क्षयीकरण हो।

१५ दिनमा अरु कसले बेचे ?

शिवमका संस्थापक मात्रै होइन अरु लगानीकर्ताले पनि सेयर बेचेका छन्। तरलता अभावले व्यक्तिगत घर र सरकारका विकास आयोजना सुस्त हुँदा सिमेन्टको माग घटेर नाफा प्रभावित भएपछि लगानीकर्ताले धमाधम सेयर बेचेर बाहिरिन थालेका हुन्।

बिजमाण्डूलाई प्राप्त तथ्यांक अनुसार प्रकाश बस्नेतले १५ हजार कित्ता, कृष्ण थपलियाले १२ हजार १८१ कित्ता, मिलनकुमार राईले १२ हजार ४२ कित्ता, राजकुमार चौधरीले १२ हजार कित्ता, रवि केसीले ७९९२ कित्ता, दुर्गाबहादुर राईले ७६२५ कित्ता, वसन्तलाल गोर्खालीले ६८ सय कित्ता, श्रीराम केसीले ६४ सय ८६ कित्ता सेयर, शान्तामाया लिम्बुले ६४ सय ८१ कित्ता शिवमको सेयर बेचेका छन्। 

यस्तै पुष्कर निरौलाले ६३ सय कित्ता, संजय अमात्यको ६२ सय ४४ कित्ता रामकृष्ण खयमालीले ६० हजार ६० कित्ता, जगन्नाथ मानन्धरले ६ हजार २२ कित्ता, प्रमोदकुमार लामिछानेले ५९ सय ३५ कित्ता, रोजिना बुढाथोकीले ५४ सय १५ कित्ता, सीताराम थपलियाले ५१ सय ४८ सय कित्ता, रामकृष्ण राउतले ५१ सय ६ कित्ता, शेखर ढुंगानाले ५ हजार ३२ कित्ता, प्रभाकर भट्टराईले ५ हजार कित्ता र सरोजकुमार ढकालले ५ हजार कित्ता सेयर बिक्री गरेका छन्।