सेयर जारी गर्दा उच्च प्रलोभन देखाएका कम्पनीको कमजोर ‘परफर्मेन्स’, प्रक्षेपण गरेजस्तो छैन नाफा

बिजमाण्डू
२०७९ साउन ३१ गते ०८:५२ | Aug 16, 2022
सेयर जारी गर्दा उच्च प्रलोभन देखाएका कम्पनीको कमजोर ‘परफर्मेन्स’, प्रक्षेपण गरेजस्तो छैन नाफा

काठमाडौं। गत आर्थिक वर्ष सर्वसाधारणलाई सेयर जारी गर्दा उनीहरुलाई प्रलोभन देखाउन कम्पनीहरुले राम्रो वित्तीय प्रक्षेपण गरेका थिए। लगानीकर्ताले नपत्याउने हुन् कि भनेर उनीहरुले महत्त्वाकांक्षी वित्तीय विवरण प्रक्षेपण गरेका थिए।

Tata
GBIME
Nepal Life

तर जब उनीहरुले कारोबारमा आधारित भएर गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरे, त्यसमा प्रक्षेपण गरेजस्तो प्रगति देखिएन। कम्पनीहरुले प्रक्षेपण गर्ने वित्तीय विवरणको जबाफदेहिता नियामकले नखोज्ने भएकाले उनीहरुले लगानीकर्तालाई केले आकर्षित गर्छ त्यही हिसाबले विवरण देखाएका थिए।

अधिकांश सूचीकृत कम्पनीको अवस्था राम्रो देखिएको छ। व्यवसायिक वृद्धि र नाफाको आकारले अघिल्लो आर्थिक वर्षको व्यापारलाई पछि पारेकाले उनीहरु उत्साहित छन्। तर प्रक्षेपण गरेजस्तो विवरण भने आएको छैन। त्यही कारण यी कम्पनीको सेयरले अहिले राम्रो 'पर्फर्मेन्स' देखाउन छाडेका छन्।

‘नाफाको घट्दो आकारलाई लगानीकर्ताले अस्वीकार गर्दा दोस्रो बजारमा यस्ता कम्पनीको सेयरले नकारात्मक प्रतिक्रिया पाउन थालेका छन्,’ बजार विश्लेषकहरुको टिप्पणी छ, ‘प्रमुख सूचक/उपसूचक हरियो हुँदा पनि सम्बन्धित कम्पनीको सेयरले भने गुमाउनु परिरहेको छ।‘

गत आर्थिक वर्ष मात्रै प्राथमिक पुँजी बजारबाट कम्पनीहरूले ७ अर्ब २० करोड रुपैयाँ उठाएका थिए। जसबाट ७ करोड २० लाख कित्ता सेयर जारी भएको छ। २८ वटा कम्पनीले प्राथमिक बजारबाट पुँजी संकलन गरेका थिए।

सर्वसाधारणलाई आकर्षित गरेर धेरैभन्दा धेरै आवेदन संकलनको दौडमा हिँडेका यस्ता कम्पनीहरुप्रति अहिले सर्वसाधारणले विशेष चासो राखेका छन्। दोस्रो बजार ओरालो यात्रामा रहेका कारण पोहोरजस्तो मूल्य बढेको छैन। त्यसो हुँदा उनीहरुको चासो कम्पनीले दिने प्रतिफलमा केन्द्रित भएको छ।

दोस्रो बजारमा सूचीकृत भएलगत्तै अचाक्ली बढ्ने गरेको सेयर मूल्यलाई सोही उचाइमा टिकाउन प्रतिफलको सहारा कम्पनीहरूले लिने गर्छन्। महँगो मूल्य आर्थिक व्यवस्था सुदृढ भएका कम्पनीको पहिचान समेत हो।

यसो हुँदा नाफाको बढ्दो आकार सेयर बजार प्रस्तुतिका लागि निकै प्रभावकारी हुने गर्छ। नाफाकै हरहिसाबले अनुमानित प्रतिफलसमेत प्रक्षेपण गर्ने हो। त्यसैले उत्साहजनक वित्तीय विवरण प्रकाशित गर्नुपूर्व नै कतिपय कम्पनीका सेयरले राम्रो आकर्षण पाएर फराकिलो छलाङ लिइसकेका हुन्छन्।

दोस्रो बजारमा भर्खरै सूचीकृत भएका लघुवित्त कम्पनीहरूलाई अस्वाभाविक मूल्यको पहिचान जोगाउन थप चुनौती छ। सामान्य लगानीलाई पनि गुणात्मक हिसाबले बढाउने क्षमता यस्ता कम्पनीको सेयरमा हुन्छ। त्यसैले आफ्नो उचाइ लिइसकेको मूल्यलाई टिकाउनु पनि कम्पनीका लागि चुनौती हो। त्यसमाथि प्रतिफल र सेयर मूल्यमा लघुवित्तहरूलाई प्रतिस्पर्धी स्टक हुन्।

यसैबीच व्यवसायको सन्तोषजनक प्रक्षेपण गर्ने लक्ष्यसहित गत आर्थिक वर्ष प्राथमिक बजारमार्फत आधा दर्जनभन्दा बढी लघुवित्त कम्पनी भित्रिएका छन्। कुल आठवटा लघुवित्तले गत आर्थिक वर्ष ४२ करोड रुपैयाँभन्दा बढी रकम प्राथमिक बजारबाट संकलन गरेका छन्। गत आर्थिक वर्ष कम्पनीहरूले संग्रह गरेको कुल रकमको ६ प्रतिशत लघुवित्तले प्राप्ति गरेका हुन्।

साना तथा मझौला उद्योगमा केन्द्रित व्यवसायको आडमा लघुवित्तहरूले गत आर्थिक वर्ष ४२ करोड रुपैयाँ उठाएका थिए। व्यवसायको बढ्दो आकारसँगै सेयरधनीहरूको लगानी मूल्य पनि बढाउने आश्वासनसहित कम्पनीहरूले प्राथमिक बजारबाट यस्तो विशाल पुँजीको जोहो गरेका हुन्।

यद्यपि प्रक्षेपित व्यवसायलाई भेट्टाउने दौडमा अधिकांश लघुवित्त पछि परेका छन्। अनुमानित व्यवसायको आडमा लगानीकर्ताको आकर्षण बटुल्ने गरेका लघुवित्त आफैंले प्रक्षेपण गरेको व्यवसायिक लक्ष्य पूरा गर्न सक्षम देखिएका छैनन्।

अवास्तविक व्यवसायिक वृद्धिको सहायतामा लगानीकर्ताबाट पुँजी उठाउँदा भविष्यमा व्यवसायिक चुनौतीको सामना संस्थाहरूले गर्ने देखिन्छ। लगानीकर्ता प्रतिको जवाफदेहिता र व्यवसायिक कुशलतामा गम्भीर प्रश्न उठाउने मौका कम्पनीहरूले दिएका छन्।

बजारको यथार्थ अनुसन्धानबिनै लगानीको ठूलो परिमाण कम्पनीहरूले उपयोग गर्ने गरेको आभाष दिएका छन्। ‘प्रतिस्पर्धात्मक क्षमताको गलत अनुमान कम्पनीहरू लगाउँदै छन्। ठूलो बन्ने होडबाजीमा जोखिम व्यवस्थापनको पक्ष केलाउन कम्पनीहरूको दक्षता कमजोर साबित भएको देखिन्छ,’ ती विश्लेषक भन्छन्।

स्रोत व्यवस्थापनमा पनि उचित नभएको संकेत अपुरो लक्ष्यले दिने गर्छ। लघुवित्त मात्र नभएर ठूलो संख्यामा भित्रिएका जलविद्युत कम्पनीको व्यवसायिक गतिविधि झन् कमजोर देखिएको छ। प्रक्षेपित व्यावसायिक आयामलाई वर्षौंसम्म हाइड्रोले भेटाउने गरेका छैनन्। तर सेयरको अप्रत्याशित मूल्यले लगानीकर्तालाई यसप्रति सोच्न बाध्य भने बाध्य बनाएको छैन।

आधारभूत पक्ष कमजोर हुँदा हुँदै पनि सट्टेबजी र कर्नरिङको सहायतामा मूल्यलाई उचाइमा टिकाउने दाउपेच हुने गरेको चर्चा निकै पुरानो पनि हो। व्यवसायिक दौडले ‘रेड सिग्नल’ गर्दै गर्दा मूल्यमा देखिने अचाक्ली वृद्धिले स्टकको मूल्यलाई वास्तविकताबाट निकै टाढा लैजाने गर्छ।

‘यस्तो अवस्थामा सेयरको मूल्य ‘ओभर हिट’ हुने र जोखिमपूर्ण खेलमा सेयर गतिविधि परिणत हुन्छ,' ती विश्लेषक भन्छन्।