सेयर बजारमा उत्साह: २२% गुमेको बजारबाट ८० प्रतिशत कभर, शिवम् सिमेन्टमा पहिरो

बिजमाण्डू
२०७९ साउन ३० गते १५:३८ | Aug 15, 2022
सेयर बजारमा उत्साह: २२% गुमेको बजारबाट ८० प्रतिशत कभर, शिवम् सिमेन्टमा पहिरो


काठमाडौं। सेयर बजारमा सोमबार खरिदकर्ताको बाक्लो उपस्थिति देखिँदा सूचक ५५.८८ अंकले बढेको छ। कारोबार सुरु भएपछि बिनाकुनै रोकावट सूचक निरन्तर उकालो लागेको हो। 

Tata
GBIME
Nepal Life

सोमबारको वृद्धिपछि परिसूचकले पछिल्लो गिरावटको झन्डै २२ प्रतिशत हिस्सा बजारले पुनरागमन गरेको हो। फराकिलो वृद्धि सहित कमब्याक हुँदा परिसूचक पुन: २०६५.८९ को विन्दुमा उक्लिएको छ।  

पछिल्लो समय २२२४ सम्मको यात्रा तय गरेलगत्तै सेयर बजारमा २२० अंकको गिरावट देखिएको थियो। यो पुलब्याकका कारण परिसूचक २००० को विन्दुलाई परिक्षण समेत गर्न पुगेको थियो। यद्दपी २००० को मनोवैज्ञानिक विन्दु नजिकिए लगत्तै क्रेताको बाक्लो उपस्थिति बजारमा देखिएको हो।

पहिलो शत्रदेखि निरन्तर बढ्दा बजारमा खरिदकर्ताको माग अत्याधिक बढेको थियो। अघिल्लो दिनसम्म बजारमा देखिएको नकारात्मक प्रस्तुतिले लगानीकर्ता संकोचमा थिए। तर, अब बजार घट्ने क्रममा ब्रेक लाग्ने देख्ने बित्तिकै कारोबारीहरु पोजिसन लिन थालेका थिए।  

झन्डै १० प्रतिशतको तीव्र गिरावटपछि बढेको बजारमा उत्साहजनक कारोबार भएको छ। सोमबार २ अर्ब ४३ करोड रुपैयाँको सेयर कारोबार भएको छ। नाफामा नकारात्मक प्रभाव परेको शिवम सिमेन्टको आज सर्वाधिक किनबेच भएको छ। कम्पनीको सेयरमा देखिएको सेलिङ प्रेसरले कम्पनीको प्रति कित्ता मूल्य २.१२ प्रतिशत घटेको छ। 

निराशाजनक वित्तीय विवरण सार्वजनिक गरेपनि नेपाल लाइफ इन्स्योरेन्सको सेयरमा भने लगानीकर्ताको आकर्षण कायमै देखिन्छ। कम्पनीको सेयर मूल्य २ प्रतिशतका दरले बढेको छ। सोमबार सेयर बजारमा सर्वाधिक खरिद बिक्रि भएको दोस्रो स्थान नेपाल लाइफले ओगटेको छ। 

विशेषगरि 'लो क्याप स्टक' मै लगानीकर्ताको चासो देखिन्छ। वित्त उपसूचक आज ७.३८ प्रतिशत उक्लियो। विकास बैंक, जलविद्युतका सेयरमा पनि खरिद माग उल्लेख्य देखिन्छ।   

यस्तै, नेपाल पुनर्बीमा र नेपाल टेलिकम (एनटिसी) दुवैको मूल्य उल्लेख्य बढ्दा अन्य उपसमूह पनि ६.२७ प्रतिशत माथि उक्लिएको छ। नाफा बढाएको नेपाल टेलिकमको सेयर मूल्य मात्रै ७ प्रतिशत बढेको छ। सोमबार कारोबारमा आएका अधिकांश उपसूचकले कमाएका छन्।

बजार पुँजीकरण पनि करिब ७९ अर्ब ५७ करोड रुपैयाँले उक्लिएको छ। सोमबार कारोबार बन्द हुँदा कुल बजार पुँजीकरण २९ खर्ब ५० अर्ब रुपैयाँ कायम भएको हो।