सिमेन्टमा प्रतिबोरा ५० रुपैयाँ महँगियो, उद्योगी भन्छन् ‘घाटा चुलियो, भाउ बढाउनुको विकल्प भएन’

उन्नत सापकोटा/बिजमाण्डू
२०७९ साउन ३० गते १३:०० | Aug 15, 2022
सिमेन्टमा प्रतिबोरा ५० रुपैयाँ महँगियो, उद्योगी भन्छन् ‘घाटा चुलियो, भाउ बढाउनुको विकल्प भएन’

काठमाडौं। अधिकांश कम्पनीले सिमेन्टमा प्रतिबोरा ५० रुपैयाँ बढाएका छन्। भाउ बढाउनुलाई बाध्यता बताएका उद्योगहरुले हाललाई अन्य विकल्प नदेखिएको जनाएका छन्। यसको पुष्टि कम्पनीहरुले आर्थिक वर्ष २०७८/७९ मा गरेको कारोबारको विवरणले पनि देखाउँछ।

Tata
GBIME
Nepal Life

परार १ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा गरेको शिवम् सिमेन्टको नाफा यसपाली ६८ करोड ९३ लाख रुपैयाँमा झर्‍यो। सिमेन्ट कारोबार शिथिल भएसँगै शिवमको नाफामा ५१ प्रतिशतले गिरावट आएको हो। 

शिवम् उदाहरण मात्र हो। अहिले सबै सिमेन्ट उद्योगको अवस्था यस्तै छ। कोइला लगायतका कच्चा पदार्थ, इन्धनको मूल्यका साथै त्यसले ढुवानी खर्चमा भएको वृद्धि र बैंकको ब्याजदरले च्याप्दा सिमेन्ट कम्पनीहरुको कारोबार घटेको हो।

एकातिर प्रणालीमा तरलता अभाव भएर सजिलै ऋण पाइने अवस्था छैन, यही कारण निजी निर्माण प्रभावित भएको छ। अर्कोतिर सरकारले विकास खर्च कम गरेका कारण सार्वजनिक निर्माण पनि प्रभावित भएको छ।

बाह्य र आन्तरिक कारणले सिमेन्ट उद्योग थला पर्ने अवस्था आएपछि उनीहरुले एकैचोटी भाउ बढाउने निर्णय गरेका छन्। उनीहरुले पहिलोपटक सामूहिक रुपमा एकैचोटी ५० रुपैयाँसम्म बोराको भाउ बढाएका हुन्। 

यो अभ्यास भारतमा भने चल्दै आएको छ। भारतका सिमेन्ट कम्पनीहरुले पनि सामूहिक रुपमा सिमेन्टको भाउ घटाउनेदेखि बढाउने गरेका छन्। त्यही अभ्यास नेपाली सिमेन्ट उत्पादकहरुले पछ्याएको देखिन्छ।  

नाफा निरन्तर घटेर घाटा पूर्ति गर्नै गाह्रो भएपछि अधिकांश उत्पादकहरुले प्रतिबोरा ५० रुपैयाँसम्म सिमेन्टको भाउ बढाएका हुन्। बैंक ब्याज, तरलता अभाव, रुस-युक्रेन युद्धका कारण इन्धनको बढेको मूल्य, जसका कारण ढुवानी लागत बढेसँगै सिमेन्ट कम्पनीहरुको घाटा बढेको बढ्यै छ। जसलाई शिवम् सिमेन्टको ताजा वित्तीय अवस्थाले दर्साउँछ। त्यसैलाई कम गर्ने र कम्पनी सस्टेन गर्नकै निम्ति सिमेन्ट उत्पादकहरुले एकैपटक मूल्यवृद्धि गरेको जनाएका छन्।

सिमेन्ट उत्पादक संघका अनुसार मुलुकमा सरकारी दुईसहित ६५ वटा सिमेन्ट उद्योग छन्। उत्पादन क्षमता २५ मिलियन टन प्रति वर्ष छ।सिजनमा  ७ लाख र अफसिजनमा ३ देखि ४ लाख बोरा सिमेन्ट खपत हुने गरेको थियो। खपत परिमाण घटेको त छँदैछ, कच्चा पदार्थसहित उत्पादन खर्च बढेको छ। यसैले व्यवसायीहरुले कंक्रिट सडक बनाउन माग गर्दै आएका छन्। तर सरकारले त्यस्ता योजना अघि बढाएको छैन। 

अहिलेलाई घाटा कम गर्नेगरी सिमेन्ट कम्पनीहरुले मूल्य बढाए पनि अझै नाफामा जाने अवस्था नरहेको अम्बे समूहका अध्यक्ष शोभाकर हरि न्यौपानेले बताए। प्रति बोरा एक सय रुपैयाँसम्म बढाउँदा घाटाबाट उब्रिने अवस्था भएपनि अफसिजन भएकाले ५० रुपैयाँ मात्रै बढाइएको उनको भनाइ छ।

‘सिमेन्ट कम्पनीहरुले अलिकति मूल्य बढाएकै हो, तर अझै पनि घाटा नै छ। नाफामा छैन। घाटा सहज हुन्छ भनेर बाध्यताले मूल्य बढाउनु परेको छ। अफसिजन छ। त्यसमा पनि कति सिमेन्ट बिक्ने नबिक्ने टुंगो छैन। अहिले जति बढेको छ त्यसले पनि नाफामा जाने अवस्था छैन,’ न्यौपानेले भने, ‘प्रति बोरा १०० रुपैयाँ बढाउँदा अफसिजन छ। त्यही भएर केही घाटा कम गर्न भएपनि ५० रुपैयाँ बढाएका हौं।’ 

यस्तै, निर्माण सामग्री व्यापार महासंघका संस्थापक महासचिव शिवप्रसाद मानन्धरले पनि केही हप्तादेखि अधिकांश सिमेन्टहरुको मूल्य प्रति बोरा ५० रुपैयाँसम्म बढेको जानकारी दिए। 

‘यो त्यो भन्ने छैन। सबैजसो सिमेन्ट कम्पनीहरुले सिमेन्टको मूल्य बढाएका छन्। १५-१७ दिनदेखि सिमेन्ट कम्पनीहरुले मूल्य बढाउँदै लगेको देखिन्छ,’ मानन्धरले बिजमाण्डूसँग भने। 

कच्चा पदार्थ (कोइलालगायत), इन्धन, ढुवानी खर्चदेखि बैंकको ब्याजदर महँगो भएकाले सिमेन्ट कम्पनीहरु घाटामा गएको न्यौपानेले बताए। 

‘हिजो ७-८ प्रतिशतमा ऋण पाउने अवस्था थियो भने अहिले १२-१५ प्रतिशत तिर्नुपर्ने अवस्था छ। यसले पनि सिमेन्ट कम्पनीहरुलाई असर परिरहेको छ,’ न्यौपानेले बिजमाण्डूसँग भने। मूल्यवृद्धिसँगै अहिले विभिन्न ब्राण्डका ओपीसी सिमेन्टको फ्याक्ट्री मूल्य प्रति बोरा ६५०-६७५ रुपैयाँ हाराहारी छ।