पेट्रोल र डिजलको खपत आधै घट्यो, खपत घट्नुमा आयल निगमले देखेका यी हुन् कारण




काठमाडौं। इन्धनको खपत आधै घटेको छ। वर्षाको समयमा बर्सेनि नियमित परिमाणका तुलनामा घट्ने गरेको भए पनि यसपटक अलि अस्वाभाविक रूपमा घटेको देखिएको छ।



नेपाल आयल निगमका अनुसार साउन महिनामा डिजलको दैनिक खपत ३५ लाख लिटरमा खुम्चिएको छ। यस अघिका महिनामा डिजलको दैनिक खपत ६० लाख लिटर हो। डिजल मात्रै होइन पेट्रोलको खपत पनि आधा नै घटेको छ। निगमका अनुसार पेट्रोलको दैनिक खपत २० लाख लिटरको हाराहारीमा  छ। अघिल्लो महिनामा पेट्रोलको दैनिक खपत ४० लाख लिटर थियो।

आपूर्ति तथा वितरण विभाग निर्देशक वीरेन्द्र गोइतले डिजल र पेट्रोलको माग साउन महिनामा धेरै नै घटेको बताए। 'वर्षातको समयमा डिजलको खपत केही कम हुने नै गर्छ। तर यो पटक अलि धेरै घटेको छ,' उनले बिजमाण्डूसँग भने।

चाडपर्व नजिकिँदैछन्, त्यसैले सवारीले गर्ने खपत बढ्नेमा निगम आशावादी छ। तर, ह्वात्तै बढ्ला भन्नेमा ढुक्क भने छैनन्।

किनभने सरकारले सवारी आयात रोकेको छ। विद्युत प्राधिकरणले उद्योगहरुलाई ऊर्जाका लागि इन्धन प्रयोगको विकल्पमा बिजुली उपलब्ध गराउँदै लगेको छ। 'अहिले पेट्रोलियम पदार्थको खपत घट्ने नै सिजन हो तर यसपटक घटेको परिमाण अलि अस्वाभाविक छ,' निगम प्रवक्ता विनितमणि उपध्यायले भने।

विकास निर्माणका योजनामा काम नहुनु र वर्षाले ढुवानीका साधन कम चल्नुका कारण खपत घटेको हुनुपर्ने अनुमान उनको छ। 'यसपटकको खपत परिमाण अघिल्ला वर्षहरुको तुलनामा निकै कम हो। चाडपर्वमा बढ्ने अपेक्षा हामीले गरेका छौं,' उनले भने।

साउनमा इन्धन खपत कम हुने कारणहरु धेरै रहेको उनको भनाइ छ। 'यो समय भनेको विकास निर्माणको काम ठप्प जस्तै छ। ढुवानीको काम कम हुन्छ। विद्युतको खपत बढेको छ,' उनले भने, 'वर्षाको समयमा विद्युतीय प्रणालीले राम्रो सप्लाई गर्ने भएकाले औद्योगिक क्षेत्रहरुले विद्युत धेरै खपत गर्ने गर्दछन्।'

उनका अनुसार विद्युतीय सप्लाई हिउँदमा राम्रो नहुने हुँदा लोडसेडिङ हुने बेला फेरि डिजेलको खपत बढ्छ। यतिखेर नेपालमा भन्दा भारतमा इन्धनको मूल्य २० रुपैयाँ जस्तो कम छ।

इन्धनको मूल्य भारतमा सस्तो

अहिले नेपालमा भन्दा भारतमा इन्धनको मूल्य सस्तो हुनु पनि डिजेलको खपत घट्नु एउटा कारण भएको निगमको भनाइ छ।

पछिल्लो पटक गत चैतका अन्तिम सातामा भारतले पेट्रोलियम पदार्थमा लगाउँदै आएको महँगो राजस्व घटाइदिएको थियो। हाल विहारमा डिजलको मूल्य प्रति लिटर १५२ रुपैयाँ छ भने सीमावर्ती जिल्ला मोरङमा २० रुपैयाँ बढी अर्थात् १७२ छ। त्यस्तै विहारमा पेट्रोल १७१ रुपैयाँ प्रतिलिटर छ भने मोरङमा १० ले बढी अर्थात् १८१ रुपैयाँ छ।

गत जेठसम्ममा भारतमा भन्दा नेपालमा पेट्रोल प्रतिलिटर २२ र डिजेल २० रुपैयाँ सस्तो थियो। त्यस समय नेपालको डिजेल ५० लाखदेखि ६० लाख लिटरसम्मको खपत हुनेगरेको निगमका प्रवक्ता उपध्यायले बताए।

भारतबाट विभिन्न औद्योगिक कच्चा पदार्थ, मेसिनरी सामान र अन्य व्यापारिक सामान ढुवानी गरी नेपाल आएका भारतीय मालवाहक गाडीले नेपालमै इन्धन भरेर फर्किने गर्दथे। मालवाहक गाडीले फर्किने बेला नेपालमै इन्धन भरेर फर्किने लहर चल्दा खपत वृद्धि भएको थियो।

ट्रक यातायात व्यवसायी संघको तथ्यांकअनुसार नेपालमा मालवस्तु ढुवानीमा ७० हजार ठूला ट्रकहरु प्रयोग भइरहेको छ। यसबाहेक पनि झण्डै ३५ हजार थप भारतीय ट्रकहरु माल वस्तु बोकेर नेपालमा गुड्ने गरेका छन्।

तर अहिले नेपालमा इन्धन भर्ने भारतीय सामान ढुवानी गर्ने हजारौं गाडीहरु उतैका पेट्रोल पम्पमा इन्धन भरेर नेपाल आउजाउ गर्न थालेका छन्। भारतीयले मात्र नभइ नेपाली गाडीहरु पनि इन्धन भर्न भारतीय पेट्रोल पप्प धाउन थालेका छन्। नेपालको पेट्रोल पम्पहरु अहिले प्रायजसो सुनसान देखिन्छन्। हाल नेपालमा डिजेलको खपत ३५ लाख लिटरदेखि ४० लाख लिटरसम्मको हाराहारीमा खपत हुने गरेको उपाध्याय बताउँछन्।

विराटनगरको जोगबनी रोडमा रहेको सुनसरी पेट्रोल पम्पका सञ्चालक अरविन्द अग्रवालले भने, 'गत चैतसम्म हामी दिनको न्युनतम पनि १२ हजार लिटर डिजल बिक्री गर्थ्यौं। हिजोआज बढीमा दैनिक ५ सय लिटर बिक्री गरिरहेका छौं।' नेपाल-भारत एकीकृत भन्सार जाँच चौकी (आइसीपी)देखि ९ किलोमिटर दक्षिणमा भारतीय बजार बथनाहा छ। त्यहाँका पेट्रोल पम्पमा नेपाली सवारीसाधन इन्धनका लागि पुग्ने गरेका छन्। 

प्रसारण लाइन पुगेका उद्योगमा विद्युत खपत बढ्दो

यस्तै अर्को भनेको धेरै जसो औद्योगिक क्षेत्रहरुमा पछिल्लो समय विद्युतका प्रसारणलाइनहरु पुगेका छन्। ती उद्योगहरुले केही समय अगाडि डिजेल खपत गर्ने गरेका थिए। 'निगमलाई औद्योगिक क्षेत्रले कति प्रयोग गर्छन भन्ने एकिन डाटा हुँदैन तर औद्योगिक क्षेत्रले भने आफ्नो खपत कति हुन्छ भनेर राखेका हुन्छन्,' उनले भने।

पछिल्लो समय औद्योगिक क्षेत्रहरुमा विद्युतले सहज हुँदा डिजल खपत घटेको छ। सिमेन्टका ठुला तथा डन्डीका एउटै उद्योगले दैनिक ६० हजार लिटरसम्म डिजेल खपत हुने गरेको बताउदै आएका थिए। अब त्यस्ता उद्योगमा प्रयोग हुने डिजलको खपत पुरै घट्न थालेको उनको भनाइ छ।

एक तथ्यांकअनुसार गत मंसिरसम्म यस्ता उद्योगहरुले दैनिक साढे सात लाख लिटर डिजेल खपत गर्दै आएका थिए। तर पछिल्लो समय विद्युत प्राधिकरणले यस्ता दर्जनौं उद्योगलाई प्रसारणलाइन वितरण गरेको कारण डिजेलको खपत घट्न थालेको यो पनि एउटा कारण रहेको उपध्यायले बताए।

पछिल्लो पटक नेपालमा विद्युतको खपत २६ प्रतिशतले बढेको प्राधिकरणको पछिल्लो तथ्यांकमा उल्लेख छ।

यस्तै निगमले सरकारी कोटा कटौती हुँदा पनि इन्धन खपत घटेको हुनसक्ने अनुमान गरेको छ। मन्त्री, सचिव, सहसचिव र अन्य सरकारी निकायले पाउँदै आएको इन्धन सुविधा सरकारले २० प्रतिशतले कटौती गरेको थियो। मन्त्रिस्तरका लागि मासिक २ सय ७ लिटर तेल तोकेको छ। यसको २० प्रतिशत घटाउदा मासिक ४१ लिटर खपत घट्न जान्छ।

यस्तै सरकारले सचिवका लागि अहिल मासिक सय लिटर र सहसचिव स्तरका कर्मचारीले मासिक ७० लिटर इन्धनको कोटा तोकेको छ। यसमा पनि २० प्रतिशत कटौती गरिएको छ।

यसैगरी नेपालमा विद्युतीय सवारीको आयात तथा प्रयोग बढेको छ। चारपाङ्ग्रे, दुईपाङ्ग्रे र तीनपाङ्ग्रे विद्युतीय सवारी साधन लगभग ४० हजार युनिट संचालन भइरहेको छ। निजी कार, जीप र भ्यान मात्र १८०० को हाराहारीमा सञ्चालनमा छन्। 


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Pvt. Ltd. All Rights Reserved.
Ncell