स्वदेशी निजी क्षेत्रले बनाएको सबैभन्दा ठूलो सोलुखोला जलविद्युत असोजभित्र व्यवसायिक उत्पादन

बिजमाण्डू
२०७९ साउन २९ गते १८:२६ | Aug 14, 2022
स्वदेशी निजी क्षेत्रले बनाएको सबैभन्दा ठूलो सोलुखोला जलविद्युत असोजभित्र व्यवसायिक उत्पादन

काठमाडौं।  ८६ मेगावाटको सोलुखोला (दुधकोसी) जलविद्युत आयोजनाले दुई महिनाभित्र व्यवसायिक बिजुली उत्पादन सुरु गर्ने भएको छ। स्वदेशी निजी क्षेत्रको लगानीमा निर्माण भएको यो सबैभन्दा ठूलो आयोजना हो।

Tata
GBIME
Nepal Life

 कम्पनीका अध्यक्ष हिम पाठकले  भदौमा परीक्षण सुरु गरेर असोजबाट व्यवसायिक उत्पादन सुरु गर्ने तालिका रहेको बताए।'हप्ता दश दिन यता उता हुन सक्छ। सकेसम्म भदौं नभए असोज पहिलो साता परीक्षण सुरु हुन्छ। असोज मसान्तबाट व्यवसायिक उत्पादन सुरु हुन्छ,' उनले बिजमाण्डूसँग भने। आयोजनाको काम अन्तिम चरणमा पुगेको छ। कम्पनीले उपलब्ध गराएको तथ्यांक अनुसार ९० प्रतिशतभन्दा बढी काम सकिएको छ।

'भौतिक प्रगति ९७ प्रतिशतभन्दा बढी छ। तर जलविद्युतमा टेष्टिङ र कमिसनिङलाई पनि ५/७ प्रतिशत मानिन्छ। सोही कारण समग्रमा ९० प्रतिशत प्रगति देखिएको हो,' पाठकले भने,'टेष्टिङ कमिसनिङ सकेर उत्पादन थालेपछि बल्ल शतप्रतिशत काम सकिएको मानिन्छ।' करिब ६ सय जनाले अहिले आयोजनाको साइटमा काम गरिरहेका छन्।

सुरुङमार्गको करिब ७० मिटर लाइनिङको काम बाँकी छ। त्यसै गरि ३ वटा गेट राख्ने काम समेत बाँकी छ। प्रसारणलाईनको ३१ वटा टावरमध्ये १९ वटा टावर निर्माण पुरा भएको छ। '२ वटाको फाउण्डेसन राख्ने काम बाँकी छ। टावर राख्ने र तार तान्ने काम चलिरहेको छ,' पाठकले भने 'यता टेष्टिङ र कमिसिनिङको काम चलिरहेको छ। उता प्रसारणलाईनको काम पनि चलिरहन्छ। दुई महिना प्रसारणलाइन पनि तयार हुन्छ।'  

उत्पादित विद्युतीय ऊर्जालाई प्रस्तावित १२ किमी १३२ केभी डबल सर्किट प्रसारणलाईन मार्फत नेपाल विद्युत प्राधिकरणको  सोलु दुधकुण्ड नगरपालिकामा निर्माणाधीन लमाने सवस्टेशनमार्फत सोलु करिडोर हुदै राष्ट्रिय ग्रीडमा जोडिन्छ। प्रसारणलाईन निर्माणको काम गौरा कन्स्ट्रक्सन प्रालिले गरिरहेको छ। 

आयोजनामा  सिई कन्स्ट्रक्सनले सिभिल संरचनाको काम गरिरहेको छ। माछापुच्छ्रे मेटल एण्ड मेसिनरी वर्क्सले  मेसिनरी वर्क्स, भारतीय कम्पनीले ह्वाइट हाइड्रो इलेक्ट्रोमेकानिकल, हाइड्रो कन्सल्ट इन्जिनियरिङ र जर्मन कम्पनी फिसनर  जिएमपीएचले  इन्जिनियरिङको काम गरिरहेको छ।


'स्वदेशी लगानीमा निजी क्षेत्रले बनाइरहेको सबैभन्दा ठुलो आयोजना'
कम्पनीका अधिकारीहरुले स्वदेशी लगानीमा निर्माण भइरहेको सबैभन्दा ठुलो आयोजना भएको दाबी गरेका छन्।  'स्वदेशी लगानीमा निजी क्षेत्रले बनाइरहेको यो स्टेजमा पुगेको सबैभन्दा ठुलो आयोजना हो,' पाठकले भने,' विदेशी लगानीमा, लाइसेन्स होल्ड गरेर बसेका धेरै ठुला आयोजनाहरु  छन्।'

आयोजनाले उत्पादन थालेपछि यो निजी क्षेत्रबाट उत्पादन सुरु हुने ठुलो आयोजना हुनेछ।

यो आयोजना सोलुखुम्बुको  सोलुदुधकुण्ड थुलुङ दुधकोसी गाउँपालिकामा निर्माण हुनेछ। हेडवर्क्स सोलुखुधकुण्डको गैरी गाउँमा निर्माण भएको छ। पावर हाउस थुलुङ दुधकोसी गाउँपालिका पर्छ। सतही पावर हाउस निर्माण गरिएको छ।

आयोजनाको ग्रस हेड ६१३.२० मिटर र नेट हेड ५९८. ०९ मिटर रहेको छ। हेडरेस टनेल ४४६९.६१ मिटर रहेको छ। यो आयोजना बार्षिक ५२०.२० गिगावाट आवर (हिउदमा १००.२७ गिगावाट आवर र बर्खामा ४१९/९३ गिगावाट आवर) उत्पादन हुनेछ।

१४ अर्ब रुपैयाँ लागत 
सुरुमा ११ अर्ब ८६ करोड १ लाख १३ हजार रुपैयाँ ( निर्माण अवधिको ब्याज सहित) अनुमान गरिएको आयोजनाको लागत करिब १४ अर्ब रुपैयाँ पुगेको छ। ठेक्का व्यवस्थापन, प्राविधिक, कोरोना भाइरस, मुल्यवृद्धि लगायतका आयोजनाको लागत बढेको हो। 

सुरुमा यो आयोजनाको इटालियन कम्पनी सिएमसी दि रिभेन्नाले पाएको थियो। २०१७ जुनमा कम्पनीले ठेक्का पाएको हो। तर सवा बर्षसम्ममा पनि ठेक्का मात्रै ओगटेर काम नगरेको भन्दै ठेक्का रद्ध गरियो। त्यसपछि पुन: ठेक्का निकालेर नेपाली कम्पनी सिई कन्स्ट्रक्सनलाई दिइएको हो। २०१९ मार्चमा सिईले ठेक्का पाएको थियो।

गत चैतमा काम सकेर जेठबाट उत्पादन सुरु गर्ने योजना थियो। तर बीचमा कोरोना फैलिएका कारण काम प्रभावित बन्यो भने कमजोर भुगोलका कारण सात महिनासम्म मुख्य सुरुङमार्ग काम हुन सकेन। 'हामीले सोचेभन्दा अत्यन्त कमजोर भुगोल रहेका कारण धेरै दु:ख पायौं,'पाठकले भने,'सुरुङभित्र ल्याण्ड स्लाईड भएर ३५० मिटर सुरुङ नै भरियो। जसका कारण लामो समय काम प्रभावित बन्यो।'

त्यसै गरि पेनस्टक परिक्षणका क्रममा दुर्घटना हुदा दुइ जनाले ज्यान गुमाएका थिए। दुर्घटनामा इन्जिनियर सुवासराज रेग्मी र इन्जिनियर अर्जुन थापाले ज्यान गुमाएका थिए भने एक जना घाइते भएका थिए। आयोजनामा १९०० मिटर पेनस्टक रहेको छ। २ वटा ठाडो र ३ वटा तेस्रो पेनस्टक रहेका छन्। अहिले पेनस्टक परिक्षण गरेर तयार अवस्थामा रहेको दाबी गरिएको छ।

आयोजनाको साधरण लगानी फिर्ता हुने अवधी ८.०२ बर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १०.१३ बर्ष रहेको छ। कम्पनीमा हाल ८ हजार ८७ जना संस्थापक सेयरधनी रहेका छन्। कम्पनीको प्रबन्धपत्र तथा नियमावली अनुसार जारी पुँजीको ७० प्रतिशत संस्थापक सेयर, १० प्रतिशत सोलुखुम्बु जिल्लाका बासिन्दा,  र २० प्रतिशत सर्वसाधरण, कम्पनीमा कार्यरत कर्मचारी  र अन्य सेयरधनीहरुको  लागि छुट्याएर  बाँडफाँड गरिएको छ।  

आयोजनामा नेपाल इन्भेष्टमेन्ट बैंकको नेतृत्वमा अरु १० वटा बैंक तथा वित्तिय संस्थाले लगानी गरेका छन्। ७५ प्रतिशत ऋण र २५ प्रतिशत इक्विटी जुटाइएको छ।

'एउटा अर्को प्रोजेक्ट खोजिरहेका छौ'
कम्पनीले अर्को एउटा प्रोजेक्ट बनाउन खोजिरहेको छ। त्यसका लागि छलफल चलिरहेको पाठकले बताए।

'यो आयोजना पुरा हुने चरणमा पुग्यो। हामीलाई अर्को एउटा बनाउनुपर्छ भन्ने लागेको छ। यो नै बनाउने भन्ने भएको छैन,' उनले भने,'५/७ महिनामा कुन आयोजना बनाउने भन्ने निर्णय होला। अहिले हामी २/३ वटा आयोजनासँग छलफल गरिरहेका छौ।'