महँगियो धनियाँः अफसिजन र वर्षाले आपूर्ति घट्दा पुग्यो प्रतिकेजी ४ सय रुपैयाँ

सरला सुवेदी/बिजमाण्डू
२०७९ साउन २८ गते ०६:५२ | Aug 13, 2022
महँगियो धनियाँः  अफसिजन र वर्षाले आपूर्ति घट्दा पुग्यो प्रतिकेजी ४ सय रुपैयाँ

काठमाडौं। वर्षाले उत्पादन घट्न थालेसँगै हरियो धनियाँको मूल्य आकाशिन सुरु भएको छ। यससँगै अहिले काठमाडौं उपत्यकाका तरकारी बजारमा हरियो धनियाँको थोक मूल्य नै प्रतिकेजी चार सय रुपैयाँ पुगेको छ।

Tata
GBIME
Nepal Life

हिउँदमा भान्साको लोकप्रिय हरियो धनियाँका लागि वर्षा अफसिजन पनि हो। यसकारण अहिले मूल्य ठाडो उकालो लाग्न थालेको तरकारी व्यापारीहरुले बताएका छन्। 

सिजनमा किलोको एक सय रुपैयाँभन्दा तल नै रहने हरियो धनियाँको अहिले त्यसको चार गुणामा उक्लिसकेको हो। १० दिनअघि मात्रको तुलनामा हरियो धनियाँको मूल्य शतप्रतिशतभन्दा बढी बढेको कालीमाटी फलफूल तथा तरकारी विकास समितिले जनाएको छ।

धनियाँ प्रतिकेजी १ सय ७५ बाट बढेर ४ सय रुपैयाँ पुगेको हो। यतिबेला बजारमा मागका अनुपातमा हरियो धनियाँ आपूर्ति घटेको कालीमाटी फलफूल तथा तरकारी विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए।

 धनियाँ भान्साका लागि नभइ नहुने तरकारीमा भने पर्दैन। उपभोक्ताले स्वाद र सुगन्धका लागि उपयोग गर्छन्। हरियो धनियाँ घरभन्दा पनि बढी खपत होटल-रेस्टुरेन्टहरुमा हुन्छ। 'अरु तरकारीहरुको मूल्य कम छ। यसले गर्दा धनियाँको मूल्य बढ्दा सबै उपभोक्तालाई यसको असर पर्दैन,' उनले भने।

यतिबेला वर्षाले उत्पादनमा कमी आएको छ। आपूर्ति घटेका उपभोग्य वस्तुमा मूल्य बढ्नुलाई बजारले सहज रूपमा हरेको उनले बताए। 'हरेक वर्ष वर्षायाममा हरियो धनियाँको मूल्य बढ्छ। अबको केही समयसम्म मूल्य अझै बढ्न सक्ने देखिएको छ,' उनले भने, 'पानी पर्न कम भएर उत्पादन बढेपछि आपूर्ति बढ्छ, मूल्य घट्छ।' 

अहिले लगातार वर्षा भइरहँदा धनियाँ खेती गरिएका ठाउँमा पानी बढी भएको छ। धेरै पानी भए धनियाँ फस्टाउँदैन। त्यसैले उत्पादन घटेको हो। साउन-भदौमा कम पाइने हरियो धनियाँको आपूर्ति असोज लागेपछि बढ्ने गरेको छ। 

धनियाँको मूल्य आकासिदा खुल्ला बजारमा यसको मूल्य थप बढेको छ। व्यापारीले केजीमा धनियाँ किनेर मुठा बनाएर आफूखुसी मूल्य राखेर बिक्री गर्छन्। उपभोक्ताले एक मुठा अर्थात एक बोट हरियो धनियाँलाई २० रुपैयाँभन्दा धेरै तिर्न बाध्य छन्।

हाल बजारमा बिक्री भइरहेको धनियाँ स्वदेशी उत्पादन हो। स्वदेशीले नै बजारलाई पुग्ने भएकाले भारतमा आयात गर्न नपरेको  व्यवसायीले बताएका छन्। तरकारी, अचारमा स्वादका लागि मात्र नभइ यसबाट भिटामिन सी र प्रोटिन पाइने हुनाले उपभोक्ताहरुले खोज्ने गरेका छन्। जसले गर्दा उत्पादन कम र माग धेरै हुँदा मूल्य उच्च भएको  हो। 

हाल काठमाडौं नजिकका जिल्लाहरुबाट धनियाँ बजारमा भित्रिने गरेको छ। भक्तपुर ललितपुर, बनेपा र नुवाकोटहरुमा थोरै थोरै उत्पादन भएर आइरहेको व्यवसायीले बताएका छन्। नेपालमा हरियो धनियाँको उत्पादन कति हुन्छ भन्ने रेकर्ड नभएको कालिमाटी बजारले जनाएको छ। 

लगातारको वर्षाले अन्य तरकारी पनि महँगिएको छ। परवल, करेला, भिन्डी, लौका महँगिएर बजारमा आएको छ।