वैकल्पिक सडक निर्माण नहुँदा वर्षाको समयमा यात्रा गर्दा बिजोग

शुक्र गिरी/बिजमाण्डू
२०७९ साउन २६ गते १५:३२ | Aug 11, 2022
वैकल्पिक सडक निर्माण नहुँदा वर्षाको समयमा यात्रा गर्दा बिजोग

काठमाडौं। यति खेर वर्षाको समयमा यात्रा गर्ने मानिसहरु प्रायजसो अलपत्र पर्ने गरेका छन्। सडक बिस्तार पनि भइरहेको छ तर सानो अवरोध आउँदा पनि रोकिनु पर्ने अवस्था छ। 

Tata
GBIME
Nepal Life

सबैभन्दा ठूला तथा धेरै सवारी कुद्ने राजमार्गहरुमा सडक अस्तव्यस्त छन्। यस्तै पूर्व-पश्चिम र पृथ्वी राजमार्ग जोड्ने नारायणघाट-मुग्लिन सडक खण्ड पहिरोका कारण दिनकै बन्द हुने गरेको छ। अहिले यी सडक हुँदै यात्रा गर्ने यात्रुहरु ढुक्कले यात्रा गर्न सक्ने अवस्थामा छैनन्। एक ठाउँमा पहिरो आइहालेमा गाडीहरुको दर्जनौं किलोमिटर लाइन हुन्छ।

यो वर्षायाममा पहिरोका कारण यात्रुले निकै सास्ती भोगिसकेका छन्। यसपाली उक्त सडक खण्डमा गएको पहिरो तथा सडक भासिएका कारण दुई जनाले ज्यान समेत गुमाएका छन्। यो सडकमा केही समय अगाडि मानिसहरु तीन दिनसम्म अलपत्र परेका थिए। त्यसपछि एक तर्फी सडक खुलेको थियो। यस्तो अवस्थामा तत्कालै सुधार हुने सम्भावना पनि छैन।

ठुला राजमार्ग भएपनि वैकल्पिक सडकहरु सरकारले निर्माण गर्न सकिरहेको छैन। ठुला राजमार्गलाई लक्षित गरी निर्माण हुने वैकल्पिक सडकहरुले सडक जाम हुनेदेखि वर्षायाममा बाढीपहिरोका कारण रोकिने गाडीहरु पास हुन पाउनेछन्। तर सरकारले भने भएकै राजमार्ग मात्र फराकिलो बनाउने तर्फ लागिरहेको छ।

सरकारले विश्व बैंकको सहयोगमा विस्तार गर्न लागेको नागढुंगा-मुग्लिन सडक पनि विस्तार मात्र गर्न लागेको छ। उक्त सडक विस्तार नगरी पारीपट्टी  नयाँ सडक बनाउन संभाव्यता अध्ययन गरिएको थियो। तर पछि उक्त सडक खण्ड बनाउन धेरै लागत लाग्ने भन्दै सरकारले यतै भइरहेको सडकलाई नै विस्तार गर्ने गरी प्रक्रिया अगाडि बढाएर निर्माणको सुरु गरेको छ।

सरकारले पहिले अध्ययन गरेको सडक निर्माण अगाडि बढाएको भए नागढुंगा-मुग्लिन सडक खण्डको वैकल्पिक सडक हुने थियो। यस सडक विस्तार आयोजनाका प्रमुख किरण कार्की भन्छन्, 'नागढुंगा-मुग्लिन सडकमा वर्षाको समयमा आउने बाढी पहिरोका कारण सवारी साधान रोकिएमा उक्त सडक प्रयोग गर्न पाउने थिए।'

सबै सडक पुरै नयाँ बनाउने भन्ने हैन केही सिमित सडकहरु वैकल्पिक बनाउँदा राम्रो हुने कार्की बताउँछन्। 'यसभन्दा अघि अध्ययन गरिएको पारिपट्टीको सडक नयाँ सडक बिसाल्टारदेखि फिक्लिङ एउटा खण्ड र सिस्नेखोलादेखि धार्केसम्म रहेको छ,' उनले भने, 'काठमाडौं उपत्यका भित्रिने धेरै जस्तो मालबहाक सवारी यही सडक प्रयोग गर्छन्। प्राकृतिक प्रकोप, मर्मत सम्भारलगायत कारण बारम्बार नागढुंगा-मुग्लिन सडक अवरोध हुने गरेको छ। अब विस्तारको काम सुरु गर्दा पनि यो सडक अवरोध हुन सक्ने संभावना छ।'

कार्कीले नागढुंगा-मुग्लिन सडक खण्डको पारिपट्टी निर्माण गर्ने भनिएको सडक १० किलोमिटरसम्म मात्र भएपनि गर्नुपर्ने बताउँछन्। 'पछिल्लो समय वैकल्पिक राजमार्गहरु लगभग ४२ वटा निर्माणाधिन छन्। तर ठुला राजमार्गको लागि यस्ता छोटा दुरीका वैकल्पिक सडक अर्थात डाइभर्जन गर्न मिल्ने सडक भने निर्माण हुन सकेन,' कार्कीले भने।

प्रमुख कार्कीका अनुसार संभाव्यता अध्ययन गर्दा लगानी धेरै लाग्ने भएपछि विश्व बैंकले यो नयाँ सडक निर्माण नगर्ने भनेको थियो। तर नेपाल सरकारले आफ्नै लगानीमा भने निर्माण गर्न सक्ने कार्की बताउँछन्। 'विश्व बैंकले लगानी गर्ने भएकाले यसबाट पछि हटेर भएकै सडकलाई विस्तार गर्ने प्रक्रिया अगाडि बढाएको हो,' उनले भने।

अहिले भइरहेको मौरी खोलामा पनि पहिरो आइरहने भएकाले त्यसको विकल्पका रुपमा पारीपट्टी सडक बनाउन सकिन्छ। एउटा सडक बनाउँदा अर्को सडक अलपत्र पर्ने गरेको छ। अहिले राजमार्गमा यही भइरहेको हो। माथि डाँडामा अर्को सडक बनाउँदा त्यहाँ निस्किएको माटो तथा ढुंगा पानीले बगाएर तल्लो सडकमा थुप्रिएपछि समस्या भएको कार्कीले बताए।

'सबै लामो सडक निर्माण गर्नु पर्ने छैन, तर हाल भएको समस्या समाधान गर्न १५ किलोमिटर सडक मात्र निर्माण गरे हुन्छ,' कार्कीले भने, 'यसको आवश्यकता भइसकेको छ। यसो गर्न सकेमा सडक जाम भएको बेला मात्र नभइ पहिरो जाने वा खहरे खोलाले पुर्याउने क्षतिबाट पनि बच्न सकिन्छ।'

यस्तै वैकल्पिक सडक निर्माण गरिएका सडक खण्डहरु पनि अलपत्र परिरहेका छन्। वर्षौदेखि त्यस्ता वैकल्पिक सडकहरु निर्माणाधिन छन्। लुम्बिनी प्रदेश सरकारले ५ वर्षअघि सिद्धबाबाको साटो वैकल्पिक सडक सुरु गरे पनि निर्माणलाई तीव्रता दिन सकेको छैन। बुटवलको धागो कारखाना, चरंगे र पाल्पाको चौकीभन्ज्याङ हुँदै झुम्सा जोड्ने मार्ग निर्माणमा अहिलेसम्म करिब ३८ करोड रुपैयाँ खर्च भइसकेको छ। तर, निर्माण अझै सकिएको छैन।

यस्तै नागढुंगा-नौबिसेको विकल्पको रुपमा रहेको धार्के- सितापाइला सडक पनि निर्माणाधिन छ। यो सडकको ३४ वर्षअघि नै ट्रयाक खोलिएको थियो। पछिल्लो समय यसलाई सरकारले प्रथामिकतामा राखेर निर्माण गरिरहेको छ।

यस्ता वैकल्पिक सडक नभएका पनि हैनन्, तर निर्माणधिन रहेका कारण प्रयोगमा ल्याउन कठिन भइरहेको कार्की बताउँछन्। ठुला राजमार्गको लागि वैकल्पिक सडक निर्माण गर्नु राम्रो हुने कार्कीको भनाइ छ।

यस्तै बिपी राजमार्गको पनि वैकल्पिक सडक निर्माण भएको छैन। यसमा पनि रातीको समयमा सडक सानो हुदा टिपरहरुको लाइनले जहिले समस्या हुने गरेको छ। यो राजमार्गमा पर्ने सिन्धुली-खुर्कोट सडक खण्डमा केही गरी ठुलो सवारी बिग्रेमा सबै गाडीहरु अलपत्र पर्ने गरेका छन्।

यसका लागि अब वैकल्पिक सडक बनाउनेतर्फ सडक विभागले अध्ययन गर्ने कार्कीले बताए। 'विभागमा यस बारेमा धेरै छलफल गरिएको छ। अबका दिनमा भइरहेका सडक विस्तारमा भन्दा पनि वैकल्पिक सडक निर्माण गर्नेतर्फ सडक विभाग लागि पर्नेछ,' कार्कीले भने।

हाल काठमाडौं उपत्यका सडक विस्तार आयोजना २९३ वटा, निर्वाचन क्षेत्र रणनीतिक सडक १६५ वटा सञ्चालनमा छन्। नेपालमा करिब १२ सय सडक र ७०० पुल निर्माणधिन अवस्थामा रहेको विभागको भनाइ छ।