मदिरा कारोबारी अग्रवालले ऋण चुक्ता गर्न थाले, दुई बैंकको उठि नै सक्यो

बिजमाण्डू
२०७९ साउन २६ गते ०८:५३ | Aug 11, 2022
मदिरा कारोबारी अग्रवालले ऋण चुक्ता गर्न थाले, दुई बैंकको उठि नै सक्यो

काठमाडौं। मदिरा कारोबारी अभिषेक अग्रवाल र अमित अग्रवालले डुबाएको ऋण बैंकहरुले उठाउन थालेका छन्। चारमध्ये दुई बैंकले पैसा उठाइ नै सके भने एकले सम्पूर्ण धितो आफ्नो नाममा ल्याइसकेको छ। अर्को एउटाले धमाधम उठाइरहेको छ।

Tata
GBIME
Nepal Life

गत पुसमा बैंकको ऋण नतिरी अग्रवाल दाजुभाइ भागेका थिए। पछि उनीहरु सम्पर्कमा आएका थिए। केही समय प्रहरी हिरासतमा समेत बसेर निस्किएका थिए। उनीहरुले आफ्नो स्टकमा भएको विदेशी मदिरा धमाधम बिक्री गरिरहेका छन्। 

बैंकहरुका अनुसार, ग्लोबल आइएमइ बैंक र एभरेष्ट बैंकले उनीहरुसँग ऋण उठाइसकेका छन्। अग्रवालले नै बैंकमा धितो रहेको सम्पति बिक्री गरेर ऋण चुक्ता गरेका हुन्। मेगा बैंकले धितो राखेको सम्पति आफ्नो नाममा ल्याएको छ। उसले लिलाम गरेर जुनसुकै बेला ऋण उठाउन सक्छ।

 नेपाल  इन्भेष्टमेन्ट बैंकले आफ्नो स्टकमा रहेको मदिरा अग्रवाललाई बिक्री गर्न दिएर आफ्नो पैसा उठाइरहेको छ। धितो रहेको जग्गा पनि बिक्री गरेर पैसा उठाउने तयारी गरिरहेको छ। 

इन्भेष्टमेन्टले करिब ३२ करोड रुपैयाँ ऋण दिएको थियो। उनीहरुले करिब ५ करोड रुपैयाँ बराबरको धितो दिएका छन् भने बाँकी मदिराको स्टक बैंकले राखेको थियो। मदिरा अहिले धमाधम बिक्री भइरहेको छ। बैंकले सहजीकरण गरिदिएका कारण अग्रवालले 'कर्पोरेट सेल' गरिरहेका छन्। 

अग्रवाल दाजुभाइले विदेशी मदिरा आयात गरेर बिक्री गर्थे। उनीहरुको दरबारमार्ग र कान्तिपथमा भव्य मदिरा पसल थियो। उनीहरुले ग्रीनलाइन सेन्टर प्रालिका नाममा ऋण लिएका थिए।

एभरेष्ट बैंकले दिएको २२ करोड रुपैयाँ ऋण उठिसकेको छ। ग्लोबल आइएमइ बैंकको  पनि करिब १८ करोड ऋण उठिसकेको छ। मेगा बैंकको करिब २५ करोड ऋणको धितो आफ्नो नाममा ल्याएको हो। उसले ऋण उठाउनका लागि ऋण असुली न्यायाधिकरणमा मुद्दा पनि हालेको छ।