माग घटेर प्रयोगविहीन बन‍ेपछि मट्टीतेल भण्डारण ट्यांकलाई निगमले अब पेट्रोल ट्यांकमा बदल्ने

बिजमाण्डू
२०७९ साउन २५ गते २१:०५ | Aug 10, 2022
माग घटेर प्रयोगविहीन बन‍ेपछि मट्टीतेल भण्डारण ट्यांकलाई निगमले अब पेट्रोल ट्यांकमा बदल्ने

विराटनगर। मट्टीतेलको माग र आपूर्ति दुवैमा कमी आएपछि नेपाल आयल निगमले यसका भर्टिकल (जमिनमाथि बनाइएका) ट्यांकहरुलाई पेट्रोल ट्यांकमा बदल्ने भएको छ।

Tata
GBIME
Nepal Life

निगमको विराटनगरस्थित प्रदेश नम्बर १ कार्यालयले मट्टीतेलका दुईवटा ट्यांकलाई पेट्रोल ट्यांकमा रुपान्तरण गर्ने भएको हो।

कार्यालय प्रमुख अशोक शाहका अनुसार निगमको प्रदेश कार्यालयस्थित डिपोमा मट्टीतेल राख्ने तीनवटा भर्टिकल ट्यांक छन्। तर धेरै समययता मट्टीतेलको माग र आपूर्ति दुवै घटेको छ। यसले गर्दा दुईवटा ट्यांकलाई खाली राख्नु परेको थियो। त्यसैले यिनलाई पेट्रोल ट्यांकमा बदल्न लागिएको हो।

पेट्रोल ट्यांकमा बदल्न लागिएका दुईवटा ट्यांकमध्ये एउटा ७५० किलोलिटर (केएल) र अर्को ७१० केएल क्षमताका रहेको कार्यालय प्रमुख शाहले जानकारी दिए। 

हाल निगमको डिपोमा पेट्रोल भण्डारणका लागि ७० केएल क्षमताका ८ वटा भूमिगत ट्यांक छन्। यिनमा ५६० केएल पेट्रोल राखिन्छ। यति पेट्रोलले प्रदेश नम्बर १ को डेढ दिनको माग पूरा गरिरहेको शाहले बताए।

थप दुईवटा भर्टिकल ट्यांक थपिएपछि सबैमा गरी १ हजार ९ सय केएल डिजल भण्डारण गर्न सकिने छ।  यसबाट प्रदेशको पाँच दिनको माग धान्न मिल्ने निगमले जनाएको छ।

मट्टीतेलका दुईवटा भर्टिकल ट्यांकलाई पेट्रोल ट्यांकमा बदल्न गोपीगंगा एनसी जेभी काठमाडौंले ठेक्का पारेको छ। ठेक्का कुल ९२ लाख रुपैयाँको हो। ठेकेदारले दुवै ट्यांकको पाइप लाइन मोडिफिकेसनको काम सुरु गरिसकेको शाहले बताए। 

निगमको प्रदेश कार्यालयस्थित डिपोमा नौवटा भर्टिकल ट्यांक छन्। यसमध्ये १६ सय केएलका ४ वटा र ७५० केएलको एउटा गरी पाँच वटामा डिजल राखिँदै आएको छ। यसबाट साढे ८ दिनको माग धान्न सकिने निगमको भनाइ छ।

अर्को एक १८ सय केएलको ट्यांकमा पनि डिजल नै राखिन्थ्यो। तर २०४५ सालको भूकम्पले क्षतिग्रस्त बनाएको उक्त ट्यांकलाई अहिलेसम्म मर्मत गरिएको छैन।

बाँकी तीनवटा भर्टिकल ट्यांकमा मट्टीतेल राख्ने गरिएकोमा अब केही समयपछि ७५० केएलको एउटा ट्यांकमा मात्र राखिने छ।