चीनसँगको व्यापार सहजीकरण गर्न चेम्बरको जोड, नवनियुक्त राजदूत भन्छन् – ‘अधिकतम पहल हुनेछ’ 

बिजमाण्डू
२०७९ असार १८ गते १३:१७ | Jul 2, 2022
चीनसँगको व्यापार सहजीकरण गर्न चेम्बरको जोड, नवनियुक्त राजदूत भन्छन् – ‘अधिकतम पहल हुनेछ’ 


काठमाडौं। कोरोना महामारी सुरु भएयतादेखि नै आयात व्यापार प्रभावित रहेको चीन नेपालीका लागि अझै सहज भइसकेको छैन। नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीले चीनका लागि नवनियुक्त राजदूत विष्णुपुकार श्रेष्ठसँग भेट गर्दै व्यापार सहजीकरणमा नेपाल सरकारको सकारात्मक पहलको आग्रह गरेका छन्। 

Tata
GBIME
Nepal Life

श्रेष्ठसँग भएको भेटवार्तामा नेपाल-चीन व्यापार सहजीकरण गर्ने विषयमा छलफल भएको चेम्बरले जनाएको छ।  चीनका लागि नवनियुक्त राजदूत श्रेष्ठसँग चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले दुई मुलुकबीच भन्सार सहजीकरणमार्फत नेपालको निर्यात बढाउनुपर्नेमा जोड दिए। 

नेपालबाट कृषि, हस्तकलाका सामान, मूर्तिजन्य वस्तुहरुको निर्यात प्रवर्द्धनका लागि भन्सारमा उच्चस्तरीय प्रयोगशाला निर्माण गर्नुपर्ने बताए। ग्वाङझाउ तथा ल्हासास्थित महावाणिज्य दूतावासलाई नेपाल-चीन व्यापार सहजीकरणका लागि क्रियाशील बनाउनुपर्ने माग अध्यक्ष मल्लले राखे।  

नेपाल-चीनबीच केरुङ भएर हुने व्यापारमा अनावश्यक खर्च आयातकर्ताले व्यहोर्नु परेकाले व्यावसायिक लागत अत्यधिक बढ्न गएकोप्रति मल्लले राजदूत श्रेष्ठको ध्यानाकर्षण गराए।  सीमानाकामा हुने अनावश्यक खर्च घटाउन र भन्सार तथा परिवहन प्रक्रियालाई सहज गर्न पनि मल्लले आग्रह गरे।   चिनियाँहरुमा संसार घुम्ने चलन बढेको छ।

उनीहरुको यात्रा नेपालतर्फ पनि हुन सके फाइदा पुग्नेमा निकै कम छ। मल्लले चिनियाँ पर्यटक आकर्षित गर्नुपर्ने बताएका छन्।

नेपालको पूर्वाधार विकासमा चिनियाँ लगानी भित्र्याउन र कृषि उत्पादकत्व वृद्धि गर्न प्रविधि हस्तान्तरणका लागि पहल गर्न समेत मल्लले जोड दिए। 

नवनियुक्त राजदूत श्रेष्ठले आफ्नो कार्यकालमा दुई मलुकबीचको आर्थिक र कूटनीतिक सम्बन्धलाई उच्चस्तरमा पुर्‍याउन आफूले अधिकतम पहल गर्ने बताए। भन्सारमा व्यापार सहजीकरण गरी नेपाली वस्तुहरु निर्यातका लागि पहल गर्ने पनि प्रतिबद्धता जनाए।