सुटकेसको ह्यान्डिलभित्र लुकाइ ल्याएको सुन भेटिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले ती यात्रुलाई नियन्त्रणमा लिइ अनुसन्धान थालेको छ। नेपाल एअरलायन्सको विमानमा शुक्रबार राति साढे ८ बजे बैंककबाट काठमाडौं आइपुगेका राकेश तुलाधरको सुटकेस जाँचका क्रममा सुन भेटिएको प्रहरीले जनाएको हो।
सुटकेसलाई भन्सार अधिकृतले जाँच गर्दा ह्याण्डिल साइडको भित्रपट्टि शंकास्पद धातु रहेको पाएको थियो। जाँच गर्दा ह्याडिल जोडिने भित्री भागमा सुन भेटिएको हो। अन्य कुनै मालवस्तु नराखिएको खाली (नयाँ) सुटकेसको ह्याण्डिल साइडको भित्रपट्टि करिब ५ इन्च लम्बाइ र १ इन्च चौडाइको सुनको बारलाई कार्वन पेपरले र्यापिङ गरी अड्काएर राखिएको अवस्थामा उक्त सुन बरामद भएको हो।
सुनको तौल २६७.४ ग्राम रहेको प्रहरीले जनाएको छ। तुलाधरलाई हिरासतमा लिएर भन्सार कार्यालयले अनुसन्धान गरिरहेको जनाइएको छ।